१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

हट्यो सार्वजनिक शौचालय शुल्क

कोहलपुर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न पाइने भएको छ। कोहलपुर नगरपालिका र नगर विकास समितिअन्तर्गत रहेका शौचालय निःशुल्क प्रयोग गर्न पाइने भएको हो।

कोहलपुर नगरपालिकाले निर्माण गरेको कार्यविधिअनुसार कोहलपुर क्षेत्रमा रहेका सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न पाइने जनाइएको छ। कोहलपुर नगर प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालका अनुसार कोहलपुर नगरपालिकामा रहेका जुनसुकै सार्वजनिक शौचालय अब निःशुल्क प्रयोग गर्न पाइने छ। शौचालयमा दिशा र पिसाब गर्दा अब कुनै पनि शुल्क नलाग्ने उनले बताए। हाल कोहलपुर नगरपालिका र नगर विकास समिति अन्तर्गत तीनवटा शौचालय सञ्चालनमा छन्। सानो दूरीको बसपार्क क्षेत्रमा दुईवटा शौचालय छन्। यहाँ अहिले कुनै पनि व्यक्तिले शौच गर्दा शुल्क तिर्नुपर्छ।

ती शौचालय प्रयोग गरेमा दिसा गरेबापत प्रतिव्यक्ति १० रूपैयाँ र पिसाब गर्दा पाँच रूपैयाँ तिर्नुपर्छ। यस्तै न्युरोडमा समेत सार्वजनिक शौचालय सञ्चालनमा छ। उक्त शौचालय पनि अब नागरिकका लागि निःशुल्क प्रयोग गर्न पाउने गरी व्यवस्था गरिने उनले बताए। चौराहानजिकै निर्माणाधीन बसपार्कमा समेत शौचालय निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको उनले बताए।

वैशाख १५ सम्म सञ्चालन तयारीमा रहेको लामो दूरीका नयाँ बसपार्क सञ्चालन गर्न दिइने व्यवस्थाका विषयमा चैत १० मा बसेको कोहलपुर नगर कार्यपालिकाको बैठकले नगरपालिकाको नयाँ बसपार्क सञ्चालन एवं व्यवस्थापनका लागि कोहलपुर बसपार्क व्यवस्थापन कार्यविधि २०७९ माथि छलफल भएको उनले बताए।

बैठकले कार्यविधि स्वीकृत गरिसकेको छ। कार्यविधिमा बसपार्क सञ्चालनमा आएपछि बसपार्क सञ्चालनको जिम्मा लिने कम्पनीले नगरपालिकालाई शुल्क तिर्ने र नागरिकले तिर्नु नपर्ने व्यवस्था गरिएको उनले बताए। बसपार्क सञ्चालन भए पनि प्रवेश, पार्किङ शुल्क तिर्नुपर्ने उनले बताए। ‘कोहलपुरमा चारवटा शौचालय छन्। अहिले तीन वटा सञ्चालनमा छन्। थप नयाँ शौचालय पनि थपिन्छ। नयाँ बसपार्कमा रहेको शौचालय सञ्चालनमा आएमा चारवटा शौचालय निःशुल्क प्रयोग गर्न पाइने छ’, उनले भने। नयाँ बसपार्कको शौचालय सञ्चालनमा आएपछि र अन्य शौचालय व्यवस्थापनको जिम्मा लिएपछि लागु हुने उनले बताए।

प्रकाशित: १६ चैत्र २०७९ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App