coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चिया बगानले कर नतिरेपछि सङ्घीय सरकारको ध्यानाकर्षण गराउने तयारी

चिया बगानको करबारे झापाको मेचीनगर नगरपालिकामा आज भएको इलाम र झापाका ६ पालिका प्रमुख/प्रतिनिधिको बैठक।

इलाम र झापाका सरकारी चिया बगान लिजमा लिएको पक्षले जग्गाको कर नतिरेपछि दुवै जिल्लाका स्थानीय सरकारले नेपाल सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेका छन्।

सरकारी चिया बगान रहेका ६ पालिकाका प्रमुख/प्रतिनिधिको बुधबार झापाको मेचीनगर नगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

इलामका सूर्योदय, इलाम र माई नगरपालिका तथा झापाका मेचीनगर नगरपालिका, बुद्धशान्ति र बार्हदशी गाउँपालिकामा सरकारी चिया बगान छन्। यी क्षेत्रमा रहेका ७ चिया बगान त्रिवेणी सांघाई समूहले २०५७ सालमा ५० वर्षका लागि लिजमा लिएको छ। तर, उद्योगहरूसमेत रहेको बगान व्यवस्थापनले अहिलेसम्म घर–जग्गाको मालपोत, सम्पत्ति कर र व्यवसाय कर नबुझाएको भन्दै पालिकाले ताकिता गरेका हुन्।

बैठकमा सूर्योदयका मेयर रणबहादुर राई, इलामका मेयर केदार थापा, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईँ, बाहदशी गाउँपालिका अध्यक्ष देवेन्द्र चौंलागाईं र माई नगरका शाखा अधिकृत हिमाल मिश्रलगायत सहभागी थिए।

नेपाल चिया विकास निगमको नाममा रहेका बगान र उद्योगको कर स्थानीय तह गठन हुन अघिसम्म बुझाएको तर त्यसयता बाँकी रहेको भन्दै पालिकाले पटक–पटक पत्राचार गर्दा पनि सांघाई समूहले अटेर गरेको आरोप लगाएका छन्। उनीहरूले सांघाई समूहलाई कर तिर्न स्मरण गराउँदै पुनः पत्राचार गर्ने निर्णय पनि गरेका छन्।

बैठकले तत्कालीन श्री ५ को सरकार र सांघाई समूहबिच भएको सम्झौता अनुसार अहिलेसम्म समूहले सरकारलाई बुझाएको रकमबारे जानकारी लिने निर्णय पनि गरेको सूर्योदयका मेयर राईले बताए।

‘बगान व्यवस्थापनले कानुन अनुसार श्रमिकको न्यूनतम ज्याला र सेवा–सुविधासमेत नदिएकाले सम्बन्धित मन्त्रालयलाई कानुन कार्यान्वयनका लागि आग्रह गर्ने निर्णय पनि भएको छ,’ मेयर राईले भने, ‘निगमको नाममा रहेको जमिनको धनी पुर्जाको विवरण, पालिकाहरूले अहिलेसम्म अर्थ तथा अन्य सम्बन्धित मन्त्रालय र सांघाई समूहलाई गरेका पत्राचारको प्रतिलिपिलगायत कागजात संकलन गर्ने निर्णय पनि भएको छ।’

इलामका इलाम, कन्याम, सोक्तिम र चिलिमकोट तथा झापाका बर्ने, बार्हदसी र टोकला चिया बगान सांघाई समूहले लिजमा लिएको छ। यही विषयलाई लिएर सूर्योदय नगरपालिकामा आउँदो २२ गते यिनै पालिका प्रमुखहरूको अर्को बैठक बस्ने भएको छ। 

प्रकाशित: १५ चैत्र २०७९ १६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App