१७ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

दाइजो प्रथा रोक्न दूरदेहातमा नाटक प्रदर्शन

मिथिलाञ्चलमा केही दशक अघिसम्म स्वयंवर संस्कार (स्वयम् वर छान्ने) अनुसार विवाहकाे छिनोफानो हुन्थ्यो। राजा जनकको यो परम्परा चल्दासम्म केटी पक्षकै बोली बिक्थ्यो। केटी पक्षकै सर्तअनुरूप केटा पक्ष विवाहका लागि राजी हुन्थे। केटा पक्षबाट बेहुली (छोरी) असुरक्षित हुने अवस्था थिएन। 

तर अहिले समय उल्टिएको छ। केटा पक्षको सर्त अनुरूप केटी पक्ष विवाहका लागि बाध्य हुनुपर्ने अवस्था छ। केटा पक्षबाटै केटी (छोरी) असुरक्षित हुनुपर्ने विडम्बनापूर्ण अवस्था छ।

वैशाख आउनै लाग्दा विवाहको छिनोफानोमा बर (केटा) वधू (केटी) पक्ष व्यस्त छन्। बैशाख लागेसँगै विवाहको माहोल उत्कर्षमा पुग्छ। तामझामका साथ हुने दाइजो विवाहमा प्रदेश सरकारका मन्त्रीदेखि सांसद र स्थानीय सरकारका प्रतिनिधिको उत्साहपूर्ण सहभागिता देखिन्छ।

यसले दाइजो निरुत्साहन भन्दा पनि प्रोत्साहन भइरहेको सामाजिक अभियन्ताहरूको टिप्पणी छ। मानव विकास सूचकांक अनुसार यस प्रदेशको गरिबी दर ४७ प्रतिशत छ। विवाहमा हुने दाइजोको ‘क्यास’ कारोबारले यस प्रदेशको गरिबीलाई झन् बढाउने अभियन्ताहरू बताउँछन्।

मधेसमा गाँजिएको दाइजो प्रथा निरुत्साहित पार्न प्रयास नभएका भने होइनन्। दाइजो नियन्त्रणका लागि सडक नाटक मार्फत समाजमा सचेतना फैलाउने काम मधेस प्रदेशका जिल्लाहरू फैलिँदै छ। मधेस प्रदेशको पर्सा, बारा र सिरहा जिल्लामा दाइजोको नकारात्मक पक्षबारे सडक नाटक प्रदर्शन गरिँदै छ।

दलित महिला केन्द्र नेपालले यी जिल्लाहरुको दूरदेहातमा चैत ९ गते देखि १५ गते सम्म दाइजोको नकारात्मक पक्षबारे स्थानीयहरूलाई सचेत गराएको पृथा खनालले बत्ताइन।

विवाहको नाममा लिइने दाइजोकोका कारण हुने घरेलु हिंसा देशैभर रहेको बताउँदै खनाल भन्छिन्,‘ 'मधेस प्रदेशमा कुप्रथाको रुपमा फैंलिदो छ। देहातमा सचेतना व्यापक बनाएर यस कुप्रथालाई नियन्त्रण गर्ने हाम्रो उद्देश्य हाे।'

मधेसमा दाइजोका कारण हत्या, कुटपिट, घरेलु हिंसा, जलाउने जस्ता घटना बढ्दो छ। यसै वास्तविक घटनालाई नाटकमार्फत ग्रामीण भेगमा प्रदर्शन गरिँदै छ। नाटक मार्फत पीडितले स्थानीय न्यायिक समिति तथा प्रहरी प्रशासन मार्फत कसरी न्याय पाउन सकिन्छ भने विषय पनि देखाइएको खनालले बताइन।

नाटकमा सिरहाका मुकेश यादव, कल्पना पासवान, सुनील लामा, टुना आलेमगर, विजय साह लगायतका दश जना कलाकारले विषयवस्तु अनुसार प्रस्तुति प्रदर्शन गरेका थिए।

नाटक पर्साको पटेर्वा सुगौली गाउँपालिका, ठोरी गाउँपालिका , सखुवा प्रसौनी गाउँपालिका, बाराको निजगढ नगरपालिका, कोल्वी नगरपालिका तथा करैयामाइ गाउँपालिका, सिरहाको धनगढी नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका र नरहा गाउँपालिकामा प्रस्तुत गरिएको थियो।

प्रकाशित: १५ चैत्र २०७९ १५:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App