७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

उपमहानगरले भत्कायो ‘भूत’ को घर

सड्वा बाबा ताल कब्जा गरी भूत राना समूहले निर्माण गरेको ५६ पिल्लरको ४२ कोठे पक्की संरचना भत्काउँदै नगरपालिकाको डोजर। तस्बिर: पुष्पराज/नागरिक

धनगढी उपमहानगरपालिका-४ देवरियामा रहेको सड्वा बाबा प्राकृतिक ताल कब्जा गरी रामबकस राना उर्फ भूत राना समूहले बनाएको निर्माणाधीन घर उपमहानगरपालिकाले भत्काएको छ। शदीयौंदेखि प्राकृतिक तथा धार्मिक महत्वको सड्वा बाबा ताल पछिल्ला वर्षमा अतिक्रमण हुँदै पूरै ताल कब्जा गरी भूत राना लगायतको समूहले घर निर्माणका लागि पिल्लर खडा गरेको थियो। तालकै अस्तित्व मेटिने गरी अवैध रूपमा कब्जा निर्माण गरिएको संरचना भत्काएरै ताललाई पुरानै अवस्थामा फर्काउन थालिएको हो।

सड्वा बाबा तालको निसान नै मेटिने गरी अतिक्रमण गरेर पक्की भौतिक संरचना निर्माण गरिएको भन्दै स्थानीय आक्रोशित थिए। नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘भूत रानाको समूहले आएर तालकै अस्तित्व मेटिने गरी संरचना बनाउन थालेपछि उनको विरुद्धमा कसैले आवाजै उठाउन सकेन।’

ठूलो ताल रहेको क्षेत्रमा वरिपरिबाट कब्जा गरी घर निर्माण भए पनि बचेको तालको क्षेत्रमा भने कोरोनाका बेला मौका छोप्दै भूत राना समूहले ५६ पिल्लर हालेर ४२ कोठाको जग निर्माण गरेका थिए। केही भूमाफियाले तालवरपरको जमिन कब्जा गर्दै बेच्दै गरेर पाँच वटा घर निर्माण भइसकेका छन्। बचेको तालमा भने भूतको समूहले ५६ वटा पिल्लरसहितको ४२ कोठे जग निर्माण गरेर छाडेको उनले बताए।

देवरिया गाउँमै वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयका अनुसार सड्वा बाबा तालको क्षेत्रफल विगतमा ठूलो थियो, तर अहिले अतिक्रमणको चपेटामा परेपछि उक्त तालको नामोनिसान मेटिने गरी पक्की भौतिक संरचना निर्माण भइसकेका छन्। नापी कार्यालयको नक्सामा सड्वा बाबा तालको नक्सा देखिए पनि त्यहाँ पुग्दा तालको निसाना समेत देखिँदैनथ्यो, तर अहिले उपमहानगरपालिकाले कब्जा गरी निर्माण गरिएको संरचना हटाएपछि भने थोरै भए पनि तालको स्वरूप पुरानै अवस्थामा फर्किएको छ।

केही स्थानीयले तालका कुनाकुनाबाट कब्जा गर्दै घर बनाए पनि पछिल्लो समयमा बाँकी रहेको पूरै तालमा पिल्लर गाडेर जग निर्माण गर्ने भूत रानाको समूहको विरुद्धमा भने कोही पनि बोल्न चाहँदैनथे। ‘भूत’ का विषयमा गाउँमा कसैले पनि आवाज उठाउन नसक्ने गरेको नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘सड्वा बाबा ताल पूरै कब्जा गरी भूतले घर बनाएका थिए, उनको विरुद्धमा कोही बोल्नै सक्दैनथ्यौं, तर नगरपालिकाले भने संरचना भत्काएकोमा हामी खुसी छौं।’

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले विगतमा सड्वा बाबा ताल कब्जा गरी निर्माण गरिएको संरचना हटाएको बताए। उनले भने, ‘हामीले सड्वा बाबा तालको नाप नक्सा लियौं। पुरानो नक्साअनुसार नै कब्जा गरिएको क्षेत्रफललाई उपमहानगरपालिकाको मातहतमा ल्याउन सफल भएका छौं।’

वर्षौंदेखि प्राकृतिक रूपमा रहेको ताल पछिल्ला वर्षमा अतिक्रमणको चपेटामा परे पनि उपमहानगरपालिकाले भने कब्जा गरिएको संरचनालाई हटाएकोमा स्थानीयले खुसी व्यक्त गरेका छन्। नजिकै सड्वा बाबाको मन्दिर रहेको र त्यही मन्दिरका नामले ताल नामकरण भएको बताउँदै सड्वा बाबा मन्दिरकी पूजारी भागु रानाले भनिन्, ‘त्यो मन्दिर शदीयौं पुरानो हो; जसको इतिहास राना थारू समुदायसँग जोडिएको छ, तर त्यही मन्दिरको मातहतमा रहेको सड्वा बाबा ताल अतिक्रमणको चपेटामा परेको थियो। नगरपालिकाले भने त्यसलाई मुक्त गरेको छ।’

प्रकाशित: १३ चैत्र २०७९ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App