८ वैशाख २०८१ शनिबार
समाज

सेना हुन नसकेका कुँवरलाई प्रहरी नेतृत्व

प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा २०५१ चैत ५ गते भर्ना हुनुअघि प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर तत्कालीन शाही नेपाली सेनामा प्रवेश गर्न चाहन्थे। जसका लागि उनले ‘सेकेन्ड लेफ्टिनेन्ट’मा आवेदन समेत दिएका थिए। प्रारम्भिक परीक्षामा उत्तीर्ण हुँदै गएका उनी अन्तिममा पुगेर अन्तर्वार्तामा फालिए। ‘बाल्यकालदेखि नै फौजकै जागिर खाने चाहना थियो। पहिलो रोजाइ सेना थियो,’ आइजिपी कुँवर भन्छन्, ‘पहिलो प्रयास सफल हुन सकेन। त्यसपछि प्रहरीमा इन्स्पेक्टरमा आवेदन खुलेको थाहा पाएँ, दिएँ पनि। प्रहरीमा पहिलो प्रयासमै सफल भएँ।’

यसरी इन्स्पेक्टरमा भर्ना भएको २८ वर्ष सात दिनपछि उनी नेपाल प्रहरीको ‘कमान्ड’ सम्हाल्न सफल भएका छन्। भर्ना हुँदा कुँवरले प्रहरीको शीर्ष नेतृत्वमा पुगिन्छ भन्ने सोचेकै थिएनन्। ‘फौजमा जागिर खानु थियो, खाइयो। त्यतिबेला यतिसम्म सोच आउने कुरै थिएन,’ उनी भन्छन्।

नौ महिनाअघि गत असारमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुँदा पनि आइजिपी कुँवरलाई प्रहरी कमान्ड सम्हाल्न पाउने अपेक्षा कमै थियो। उनी शीर्ष तीनभित्र परेर बढुवा हुन पाए खुसी हुने अवस्थामा रहेको निकटस्थहरू बताउँछन्। तर उनी तीनमा होइन, पहिलो नम्बरमै बढुवा भए। त्यसअघि भर्ना भएको १२ वर्षपछि २०६३ भदौ ८ गते उनी प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा हुँदा छैटौं, २०७१ फागुन १० मा प्रहरी उपरीक्षक (एसपी) मा बढुवा हुँदा पाँचौं र २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा हुँदा १३औं नम्बरमा थिए। यसैले पनि एक नम्बरमा बढुवा भइन्छ भन्ने विश्वास उनमा कमै थियो। तर निवर्तमान आइजिपी धीरजप्रताप सिंहको जोडबलका कारण उनी पहिलो नम्बरमा बढुवा भएको जानकार स्रोत बताउँछ।

पहिलो नम्बरमै डिआइजीमा बढुवा भएर ‘सरप्राइज’ पाएका कुँवरलाई उतिबेलैदेखि आइजिपीका रूपमा हेर्न थालिएको थियो। तर उनी आफैं भने त्यसमा ढुक्क थिएनन्। आइजिपी नियुक्तिका लागि शक्ति केन्द्रबीच माथापच्ची हुँदै आएको अवस्थामा राजनीतिक दलसँग निश्चित दूरीमा रहेका कुँवर आफैं संशयमा रहेको निकट स्रोत बताउँछ। यद्यपि कुँवर आफैं नेपाली कांग्रेससँग निकट मानिए पनि कांग्रेसकै शीर्ष नेतृत्वको पहिलो रोजाइमा भने उनी थिएनन्।

यसबाहेक प्रहरीमा रहेको ३० वर्षे सेवावधि हटाउने चर्चा लामै समयदेखि चलिरहेको थियो। निवर्तमान आइजिपी सिंह अन्तिम समयसम्म उक्त व्यवस्था हटाएर कार्यकाल लम्ब्याउन चाहिरहेका थिए। सबै संयोग कुँवरका लागि जुर्दै गए। ३० वर्षे सेवावधि हटाउने प्रस्ताव सरकारको ढिलाइका कारण सम्भव भएन। जसका कारण निवर्तमान आइजिपी सिंह अवकाशमा जानुप¥यो। आफ्नै ब्याचमेट डिआइजीहरूमध्ये मुख्य प्रतिस्पर्धी ठानिएका र शक्तिकेन्द्रसँग बलियो पहुँच मानिएका अशोक सिंह उमेर विवादले बाहिरिए।

डिआइजी सिंह बाहिरिएपछि कांग्रेस नेतृत्वको पहिलो रोजाइमा कुँवर पुगे। निवर्तमान आइजिपी सिंहको जोडबल र आफ्नै कार्यसम्पादनका कारण प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा हुँदा पनि कुँवर पहिलो नम्बरमै यथावत् रहे।

यस्तो अवस्थामा गृहमन्त्रीको जिम्मेवारीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि धेरै जोखिम लिन चाहेनन्। आइजिपीका प्रत्यासी अन्य चारजना एआइजीहरूमा नेकपा माओवादी केन्द्र र उसका नेतानिकट कोही नभएपछि दाहालले थप जोखिम लिने अवस्था थिएन।

यिनै संयोगले प्रहरी संगठनमा निष्ठावान्, सहसी, व्यावसायिक अधिकृतको छवि बनाएका कुँवर आइजिपीमा पुगेका छन्। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको थियो भने आइतबार दज्र्यानी चिह्न ग्रहण गरेर जिम्मेवारीसमेत सम्हालेका छन्।

‘इमानदार राष्ट्रसेवकले आफूले काम गरेको संगठनको नेतृत्व गर्न पाउनु निश्चय नै गर्वको कुरा हो,’ आइतबार बिहान सिंहदरबारमा गृह सचिव विनोदप्रकाश सिंहबाट दज्र्यानी चिह्न ग्रहण गरेपछि बोल्दै आइजिपी कुँवरले भने, ‘यो क्षण मेरा लागि गम्भीर जिम्मेवारी बोधको समय हो। सरकाले सुम्पिएको यो जिम्मेवारी आफ्ना सहकर्मी र मातहतका कर्मचारीप्रति कुनै पूर्वाग्रहको भावनाबाट मुक्त रही निष्पक्षताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’ दज्र्यानी चिह्न ग्रहण गरिसकेपछि दिउँसो प्रहरी प्रधान कार्यालय नक्साल पुगेर जिम्मेवारी पनि सम्हालेका छन्।

कुँवरको सेवाकाल

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ तुम्कोटमा २०२६ चैत १५ गते जन्मेका कुँवरले प्रवेशिका परीक्षा (एसएलसी) सम्मको अध्ययन अर्घाखाँचीमै गरेका थिए। त्यसपछि उच्च शिक्षाका लागि काठमाडौं छिरेका उनी सुरुमा सेनामा भर्ना चाहेका भए पनि पछि इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए। प्रहरी सेवा प्रवेशगरेपछि पनि काठमाडौंको शंकरदेव क्याम्पसमा पढाइ जारी राखेर उनले व्यापार प्रशासनमा स्नातकोत्तर पूरा गरेका छन्।

इन्स्पेक्टरमा भर्ना भएसँगै कुँवरले देशमा जारी तत्कालीन विद्रोही नेकपा माओवादीसँगको सशस्त्र द्वन्द्वका क्रममा थुप्रै साहसिक काम गरेका थिए। यसै क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रमुख हुँदा एकपल्ट उनी तत्कालीन विद्रोही माओवादीले राखेको एम्बुसमा झन्डै परिसकेका थिए। सोही घटनामा उनका सुरक्षा गार्डका रूपमा रहेका मनोज हमालको निधनसम्म भएको छ। आइजिपी कुँवर इन्स्पेक्टर र डिएसपी हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी, गोरखा, डोटी, मनाङ, ललितपुर र धादिङ जिल्लामा काम गरेका थिए।

एसपीमा बढुवा भइसकेपछि कुँवरले चितवन र नुवाकोट जिल्लाको कमान्ड सम्हालेका थिए। चितवनमा काम गर्दा उनले नेपाल प्रहरी दिवसमा सर्वोत्कृष्ट प्रहरी अवार्ड दिइएको थियो। कुँवरले एसएसपी भएपछि केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए भने त्यसपछि एसएसपी नै रहँदा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा समेत काम गरेका थिए।

यस्तै डिआइजी बढुवा भएपछि सुरुमा प्रहरी प्रधान कार्यालयको कार्य विभागमा काम गरेका उनी त्यसपछि मधेस प्रदेश प्रहरीको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका थिए। प्रहरी सेवाकालमा उनले संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा काम गरेको अनुभव छ।

यही चैत ६ गते मात्रै उनी एआइजीमा बढुवा भएका थिए। चैत ८ गते एआइजीको दज्र्यानी चिह्न लगाएका थिए। कार्यकुशलतामा अब्बल प्रहरी अधिकृत मानिने आइजिपी कुँवर असहज परिस्थितिमा पनि सहजताका साथ काम गर्न सक्ने जानकारहरू बताउँछन्। उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा रहँदा धेरै अभियुक्त पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएका थिए।

कुँवरले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्यांकन २०७३ तर्फ सर्वोत्कृष्टसमेत भएका थिए। यस्तै २८ वर्षको प्रहरी सेवाकालमा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्रसंघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र–ऐश्वर्य सेवा पदक, दैवी प्रकोप पीडितोद्धार पदकलगायतबाट विभूषित भएका छन्।

प्रहरी सेवाकालमै तोकिएको जिम्मेवारी अनुशासित र सफलतापूवर्क सम्पन्न गरेकाका १७ पटकसम्म नगद तथा प्रशंसापत्रबाट पुरस्कृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सेवाकालमा उनले दर्जंनौं व्यावसायिक दक्षता अभिवृद्धिका तालिम लिएका छन्। जसमा मानवअधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, अनुसन्धान अन्तर्वार्ता तालिम, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान प्रशिक्षक प्रशिक्षण तालिम, करप्सन एन्ड फाइनान्सियल इन्भेस्टिगेसन मेथोडोलोजी तालिम, द्वन्द्व व्यवस्थापन तालिम लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम लिएका छन्।

आइजिपी कुँवर अनुभव, योग्यता र स्वभावले उत्कृष्ट प्रहरी अधिकृत रहेको नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन्। ‘उहाँ फिल्डमा खटिएको, साहसपूर्ण ढंगबाट काम र जिम्मेवारी पूरा गरेको प्रहरी अधिकृत हुनुहुन्छ,’ उनी भन्छन्, ‘यस्तै स्वाभावका हिसाबले पनि निकै भद्र हुनुहुन्छ। कतै गलत लाभ उठाउन सेटिङ गरेको कुरा पनि सुनिएका अधिकृत उहाँ हुनुहुन्न।’ यद्यपि राजनीतिक हस्तक्षेप बढेको र आन्तरिक समस्यामा गिजोलिएको प्रहरी संगठन कसरी हाँक्छन्, त्यो भने हेर्न बाँकी रहेको मल्ल बताउँछन्।

प्रकाशित: १३ चैत्र २०७९ ००:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App