६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बालविवाह रोक्ने झाँक्री समूह सम्मानित

जिल्लाको तिलागुफा नगरपालिकामा बालविवाह रोक्न सक्रिय धामीझाँक्री तथा पुरोहितहरूलाई सम्मान गरिएको छ। उमेर नपुगी गरिने विवाहमा आयोजना हुने भोजभतेर बहिष्कार गर्ने, बालविवाह भए–देखेको थाहा पाए कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धतासहित बालविवाहविरुद्ध गतिविधिमा लागेका धामीझाँक्री तथा पुरोहितहरूलाई सम्मान गरिएको हो।

‘बालविवाह सामाजिक कुरीतिका रूपमा मौलाइरहेको छ, यसको अन्त्यका लागि धामीझाँक्री नै अग्रसर हुनुपर्ने भएकाले विभिन्न विकल्पको खोजी गरिरहेका छौं,’ किर्डाक नेपालका परियोजना संयोजक सरिता खत्रीले भनिन्, ‘अहिले विभिन्न टोलमा धामीझाँक्रीकै संलग्नतामा बालविवाहविरुद्ध सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेका छौं। उमेर नपुगी गरिने विवाह रोक्न वडाको सिपारिस पत्रदेखि धामीझाँक्री र पुरोहितलाई भेला गरी सम्मेलन र सम्मान गरेका छौं।’

उनले उमेर पुगी विवाह गर्ने जोडीलाई वडाले सम्मान गर्ने निर्णयसमेत गरेको बताइन्।

बालविवाह रोक्न जिल्लाको तिलागुफा नगरपालिकाले धामीझाँक्री तथा पण्डितहरूलाई सम्मान गरेको छ। तिलागुफा नगरपालिकाद्वारा एक सय जना धामीझाँक्री तथा पुरोहितलाई फेटा (पगरी) बाँधेर सम्मान गरेको हो। पालिकामा हुने बालविवाह रोक्न तिलागुफा नगरपालिकाको आयोजना तथा किर्डाक नेपालको आर्थिक सहयोगमा बलविवाह न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएबापत पालिकाभित्र स्थित ११ वडाका एक सय जना धामीझाँक्री र पुरोहितलाई पन्चेबाजासहितको र्‍यालीमा बजार परिक्रमा गराई टाउकोमा फेटा बाँधिएको हो।

बालबालिका वा दुवैतर्फको परिवारहरू विवाह गर्न र गराउन राजी भई लगनका लागि धामीझाँक्री वा पुरोहितकामा आउँदा लगन नदिएर २० वर्षपछि मात्र बिहे गर्न सुझाव दिई पठाएबापत उक्त सम्मान गरिएको किर्डाक नेपालले जनाएको छ। ‘बालविवाह सामाजिक अपराध मात्र होइन, यो हाम्रो गाउँ–समाजको ठूलो विकृति पनि हो,’ तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रहादुर शाहीले भने।

प्रकाशित: १२ चैत्र २०७९ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App