१५ चैत्र २०८० बिहीबार
समाज

सरुवा विवादले भौतिकमा तनाव

भौतिक पूर्वाधार मन्त्रालयका उच्च कर्मचारी र कर्मचारी नेताहरूबीच सरुवाको विषयलाई लिएर झन्डै हात हालाहालको अवस्था सिर्जना भएको छ। मन्त्रालय मातहतको प्रशासन महाशाखा प्रमुख तथा सहसचिव इन्द्रमणि पोखरेलको कार्यकक्षमा बिहीबार चर्को विवाद भएपछि स्थिति तनावपूर्ण भएको स्रोतले जनाएको छ। विवाद मिलाउन मन्त्रालयका सचिव केशव शर्मा नै पोखरेलको कार्यकक्षमा पुग्नुपरेको थियो। नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल, महासचिव जनक राउल, नेता राजन खड्का लगायत नेताहरू र मन्त्रालयका उच्च कर्मचारीहरूबीच विवाद भइरहेका बेला उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरी पनि पोखरेलको कार्यकक्षमा थिए।

कर्मचारी नेताहरू गिरीसँग पनि आक्रामक बनेका थिए। राउलले विधि र प्रक्रियाबाहिर गई सरुवा गर्न खोजेकाले मन्त्रालयका उच्च कर्मचारी र आफूहरूबीच भनाभन भएको स्विकारे तर हातपात भने नभएको दाबी गरे।

युनियनका नेता खड्काले राजनीतिक पूर्वाग्रही भई केही उच्च कर्मचारीको सरुवा गर्न खोजिएकाले बिहीबार तनावपूर्ण अवस्था सिर्जना भएको बताए। ‘चैत सरुवाको सिजन होइन, त्यसमा पनि यो महिना विकास निर्माणमा व्यस्त रहने बेला हो। यस्तो बेला राजनीतिक पूर्वाग्रह राखी इन्जिनियरहरूको सरुवा गर्न खोजियो,’ खड्काले भने, ‘त्यसलाई हामीले रोेक्न खोज्यौ। त्यसैले तनावपूर्ण अवस्था आएको हो।’  

विवादकै बीचमा मन्त्रालयले शुक्रबार ३६ जना योजना प्रमुख, डिभिजन प्रमुख तथा मन्त्रालयका उपसचिवहरूको सरुवा गरेको छ। सरुवाको सिजन नभए पनि न्यूनतम विधि र प्रक्रिया मिचेर मन्त्रालयले ४० जना उच्च कर्मचारी सरुवा गर्न खोजेकाले त्यसलाई रोक्न आफूहरूले पहल गरेको कर्मचारी नेताहरूको दाबी छ। तर कर्मचारी प्रशासन महाशाखा प्रमुख पोखरेलले भने सहमतिमै १५ उपसचिव पदस्थापना गरिएको र बाँकी २३ जना विभिन्न योजना र डिभिजन कार्यालयमा मिलान गरिएको जानकारी दिए। ‘इन्जिनियर (शाखा अधिकृत) बाट सिनियर डिभिजन इन्जिनियर (उपसचिवसरह) मा लोकसेवा आयोगबाट बढुवा भएका १५ जना सिडिईहरूलाई पदस्थापना गर्नुपर्‍यो,’ उनले भने, ‘त्यो मिलाउने क्रममा झन्डै त्यही संख्यामा अरू कर्मचारीहरू मिलाउनुपरेको हो।’ सरुवाको सिजन नभएकाले सामान्य प्रशासन मन्त्रालयबाट सहमति लिएर सिडिईको सरुवा गरिएको उनको दाबी छ।

नियमअनुसार सामान्यतया मन्त्रालयभित्र आन्तरिक सरुवाका लागि उपयुक्त महिना भदौ र असोज हुन्। विशेष कारण भए सामान्यको सहमति लिएर अरू महिनामा पनि सरुवा गर्न सकिने कानुनी व्यवस्था छ। यही व्यवस्थामाथि टेकेर भौतिकले ३६ जना सिडिईको सरुवा गरेको हो। मन्त्रालय स्रोतका अनुसार करिबकरिब यति नै संख्यामा इन्जिनियर (शाखा अधिकृत) लाई सरुवा गर्न सामान्य प्रशासन मन्त्रालयबाट सहमति लिने तयारी भएको छ। ‘सडक विभागले शुक्रबार नै सरुवाको नाम पठाउने भनेको थियो तर आएन। सम्भवतः आइतबार आउँछ,’ पोखरेलले भने, ‘त्यसपछि हामी सहमतिका लागि सामान्यमा पठाउँछौं।’

मन्त्रालयका अनुसार बैतडी, हुम्ला, प्युठान, जुम्लालगायत डिभिजन कार्यालय तथा योजना कार्यालयमा प्रमुखहरू फेरबदल गरिएको छ। ‘एउटै कार्यालयमा तीन वर्ष बसेका, विकट हिमाली जिल्लामा लामो समय बसेकाको सरुवा मिलाइएको हो। हामीले कसैलाई अन्यायमा पर्न दिएका छैनौं,’ पोखरलले भने, ‘केही ठाउँमा निमित्त झिकेर दरबन्दीअनुसार कर्मचारी पठाएका छौं भने केही ठाउँमा निमित्त झिकेर अर्को निमित्त पठाएका छौं।’

हुम्लामा निमित्त प्रमुख वीरेन्द्र यादवलाई झिकेर अर्को निमित्त पठाएको तथा भेरी करिडोर तथा सडक डिभिजन पश्चिम रुकुमको दोहोरो जिम्मेवारी लिएका आशुतोष कर्णलाई एक ठाउँमा मात्र जिम्मेवारी दिएको मन्त्रालयको भनाइ छ।

प्रकाशित: १२ चैत्र २०७९ ००:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App