१६ चैत्र २०८० शुक्रबार
समाज

एसिड पीडित आरती साहको मुद्दामा उच्च अदालतले गर्‍यो जिल्लाकै फैसला सदर

एसिड पीडित आरती साहको मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसलालाई सदर गरेको छ। धनुषाको सबैला नगरपालिका–६ मखनाहाका संंजीव साहले श्रीमती आरतीमाथि एसिड छ्यापी कुरुप बनाएको भन्दै जिल्ला अदालत धनुषाले पति संजीवलाई साढे १० वर्ष कैद र क्षतिपूर्ती स्वरुप ६ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसलालाई उच्च अदालतले सदर गरेको हो।

बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश डालकुमार खड्का र सागर विष्टको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेको हो। उच्च अदालतको इजलास नम्बर ४ मा जाहेरीवालाको तर्फबाट अधिवक्ता रिंकुकुमारी यादव र अच्युतम आर्चाय बहस गरेका थिए। एसिड पीडित आरतीकी मुद्दामा जिल्ला अदालतबाटै आफूहरु निःशुल्क बहस गर्दै आएको अधिवक्ता रिंकूले जानकारी दिइन्।

संजीवले एसिड खरिद गरेको पसले नागेन्द्र साहलाई समेत विपक्षी बनाई आरतीकी भाई संजय कुमार साहले जिल्ला अदालतमा मुद्दा दायर गराएका थिए। तर जिल्ला अदालतले नागेन्द्रलाई सफाइ दिएपछि संजयले जिल्लाको फैसला विरुद्ध उच्च अदालतमा पुगेका थिए।  

आठ वर्षअघि सबैला नगरपालिका–६ का २८ वर्षीय संजीव साह र आरती साह वैबाहिक बन्धनमा बाँधिएका थिए। डेढ वर्षपछि आरतीले छारीलाई जन्म दिइन्। श्रीमान् संजीवले दाइजो नल्याएको र छोरी जन्माएको भन्दै यातना दिन सुरु गरे। दुबैजनाबीच खटपट बढ्दै गयो। सासू–ससुराले पनि साथ नदिएपछि आरती जनकपुरधाम उपमहानगरपालिका–२३ रुपैठास्थित माइतीमा बस्न थालिन्।

उनीहरुको विवाद नसुल्झिने भएपछि जिल्ला प्रहरी कार्यालयमा दुवैजना सम्बन्धबिच्छेद गर्ने सहमतिमा पुगे। जिल्ला प्रहरी हुँदै अदालतमा गएर सम्बन्धबिच्छेद गर्न दुवै तयार भए। तर सम्बन्धबिच्छेद हुनुअघि संजीवले २०७७ कार्तीक २९ गते माइतीमा पुगेर आरती अनुहारमा एसिड छ्यापे। एसिड आक्रमणबाट आरती मात्र नभइ उनकी छोरीको समेत हात र टाउकोको केही भाग जल्यो।

प्रकाशित: ९ चैत्र २०७९ ०५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App