७ वैशाख २०८१ शुक्रबार
समाज

मर्स्याङ्दी दोहनः घाटगद्धी छैन, ९ दिनदेखि संकलन सामग्री गायब

आधारभूत मापदण्डपनि पुरा गरेको पाइएनः अनुगमन समिति

मर्स्याङ्दी नदीमा भएको उत्खननको बुधवार अनुगमन गर्दै जिल्ला अनुगमन समिति। तस्बिरः नागरिक

गोरखा र तनहुँको बिचमा पर्ने मर्स्याङ्दी नदीमा ढुङ्गा गिटी बालुवा उत्खननको आधारभूत मापदण्ड पनि पालना नगरी दोहोन भएको छ। पानी भित्रैबाट नदीजन्य पदार्थ उत्खनन गरेको समाचार प्रकाशित भएपछि जिल्ला अनुगमन समितिले बुधवार अनुगमन गरेको थियो।

‘शाहघाटमा अहिले सम्म कति उत्खनन गरे, संकलन कति भयो, घाटगद्धी कहाँ हो नै निर्माण कम्पनीले देखाउन सकेनन्’ जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले भने। कहाँबाट झिक्ने भन्ने सिमाङ्कन गरिएको छैन। सूचना पाटी राखिएको छैन। नदीको बहाव नै परिवर्तन हुने गरी उत्खनन गरिएको उनले बताए।

गोरखा नगरपालिका १४ को शाहघाटमा तीन वटा एक्साभेटरले नदीजन्य पदार्थ उत्खनन र चार वटा टिपरले बुधवार अनुगमन टोली पुग्दा पनि निर्माण सामग्री संकलन गरिरहेको थियो।

नौ दिन देखि यो काम चलिरहेको एक्साभेटर चालकले बताए। गोरखाको घाटबाट उत्खनन भएको ढुङ्गा गिटी, बालुवा तनहुँ तर्फ लगेर स्टोर गरिएको छ। निर्माण कम्पनीले अनुगमन समितिलाई भने घाटगद्धी नै नभएको र बुधवारबाट मात्रै संकलन सुरु गरेको भन्दै ढाँटेको छ।

नारीम घाट, भैसेटार लगायत ठाउँमा पनि उत्खनन भइरहेको र मापदण्ड पुरा नगरेको देखिएको जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले बताए। यी घाटमा गोरखा नगरपालिकाले ठेक्का लगाएको हो।

एक लाख ४३ हजार ४६ घनफिट नदीजन्य पदार्थ उत्खनन गर्ने गरी शाहघाटको जिम्मा सुजन छिम्केश्वरी निर्माण सेवाले लिएको छ। उक्त कम्पनीले संकलन गरेको नदीजन्य सामग्री आँबुखैरेनी–पोखरा सडक खण्डको निर्माण जिम्मा लिएको चाइना कम्यूनिकसेन एण्ड कन्स्ट्रक्सन कम्पनीलाई बिक्री गरेको छ।

अनुगमनका क्रममा सम्झौता अनुसारका सर्तहरू निर्माण कम्पनीले पालना नगरेको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले बताए। ‘अहिले सम्म कति परिणाममा उत्खनन भयो, कति बाँकी छ भन्ने विवरण प्राविधिकलाई पेश गर्न भनेका छौँ’ उनले भने। यो विवरण आएपछि पुन अनुगमन गरिने बताउँदै उनले तीन वटै घाटको जिम्मा लिएका निर्माण कम्पनीलाई सम्झौता अनुसार मात्रै उत्खनन गर्न बुधवार पत्र काटिएको बताए। 

नगरपालिकाको प्राविधिक नियमित रुपमा घाटमा नखटिनु, सुरक्षाकर्मी नियमित रुपमा उपस्थित नहुँदा जिम्मा पाएको कम्पनीले मनोमानी गरेको अनुगमन समितिको निष्कर्ष छ। सोही क्रममा नारी घाट र गोनपा १३ मा रहेको भेसेटार घाटमा पनि अनुगमन गरिएको थियो। भैसेटार घाटमा पनि धमाधम नदीजन्य पदार्थ उत्खनन भइरहेको छ। तर हाल सम्म नदीजन्य पदार्थ उत्खननका लागि प्राविधिक तोकिएको चार किल्ला निर्धारण गरिएको छैन भने आयोजना बारेमा सूचना बोर्ड समेत टाँसिएको छैन।

सो स्थानबाट उत्खनन गरिएको सामग्रीको घाटगद्धी पनि व्यवस्थित छैन। यो घाटबाट संकलित सामग्री पनि चाइना कम्युनिकेसन एण्ड कन्स्ट्रक्सन कम्पनीलाई बिक्री हुँदै आएको छ। यो कम्पनीले आँबुखैरेनी–पोखरा सडकको खण्ड बिस्तार सहित कालोपत्रेको जिम्मा लिएर काम गरिरहेको छ।

बुधवारको अनुगमनमा जिल्ला अनुगमन समितिका अध्यक्ष जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिकाका कार्यवाहक नगरप्रमुख विष्णुप्रसाद श्रेष्ठ, जिल्ला अनुगमन समितिका सचिव नानीबाबु पोखरेल,  गोरखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन लगायत सहभागी थिए।

प्रकाशित: ८ चैत्र २०७९ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App