८ वैशाख २०८१ शनिबार
समाज

साकेलाको ‘आवधिक योजना’ अन्तिम चरणमा

आवधिक योजनाको तेस्रो चरण छलफलमा सहभागी हुँदै अध्यक्ष र उपाध्यक्ष राईद्वय (बिच)। तस्बिरः महेश्वर

खोटाङको साकेला गाउँपालिकाले आवधिक योजना निर्माणका लागि तेस्रो चरणको कार्यशाला सुरु गरेको छ। गाउँपालिकालाई ५ वर्षभित्र पूर्ण प्रविधियुक्त (डिजिटलाईज) बनाउने उद्देश्यले आवधिक योजना बनाउने योजनाका साथ यो तेस्रो चरणको कार्यशाला सुरु गरेको हो।

यसअघि २ चरणको कार्यशाला आयोजना गरिसकेको गाउँपालिकाले थप परिस्कृत र परिमार्जित गर्दै योजनालाई ठोस गर्नका लागि आयोजित तेस्रो चरणको कार्यशाला ३ दिनसम्म चल्ने अध्यक्ष रबीप्रकाश राईले बताए। गाउँपालिका केन्द्र मानेभन्ज्याङस्थित आफ्नै सभाकक्षमा मंगलबारदेखि सुरु कार्यशालाको सुरु गर्दै उपाध्यक्ष बिर्सिका राई, ३ न. वडाध्यक्ष गोविन्द तामाङ र कार्यपालिका सदस्य शर्मिला कट्टेलले आवधिक योजनाले जनतामा पार्ने दीर्घकालीन फाईदाहरुको विषयमा व्याख्यात्मक धारणा राखेका थिए।  

कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास अधिकृत दुर्गबहादुर राईले कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दल, बुद्धिजीवी, जनप्रतिनिधि, शिक्षक, कर्मचारीलाई यसअघिका चरणहरुमा भएका कार्यशालाको प्रगतिबारे जानकारी गराए। अधिकृत राईले पहिलो चरणमा गाउँपालिकाले सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको तथा दोश्रो चरणमा प्रत्येक वडा पुगेर आवधिक योजना निर्माणसम्बन्धी सरोकारवालासँग छलफल गरेको र त्यसबाट प्राप्त सुझाव र सल्लाहलाई परिमार्जन गर्न यो तेस्रो चरणको कार्यशाला थालिएको बताए।  

आगामी ५ वर्षभित्र गाउँपालिकालाई समृद्ध बनाउने गरी दिगो विकासमैत्री उद्देश्य प्राप्त गर्न गाउँपालिकाले पहिलो आवधिक (पञ्च वर्षीय) योजना निर्माण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए। उनका अनुसार चालु आथिर्क वर्ष ०७९÷८० को बजेट नीति तथा कार्यक्रमबाटै गाउँपालिकाले आवधिक योजना निर्माण गर्न बजेट छुट्याए अनुसार काम भइरहेको उनको भनाई छ।

कार्यक्रममा अध्यक्ष राईले विगतको इतिहास र वर्तमानको चालु अवस्थाबाट प्राप्त ज्ञान, सिप र अनुभवबाट सिक्दै सुन्दर भविष्य निर्माणमा संवेदनशिलताका साथ लाग्न आवधिक योजना अघि सारिएको बताए। साकेला गाउँपालिकालाई भविष्यमा कस्तो बनाउने भन्ने विषयमा समयमै विचार नपुराए गाउँपालिका धेरै पछि परिने उनी बताउँछन्। विकसित देशहरु समयको महत्त्व बुझेर वर्षौँपछिको समस्या र चुनौतीबारे अगाडि नै खाका बनाएर जाने भएकै कारण सम्पन्न र वैभवशाली बन्न पुगेको उदाहरण अध्यक्ष राईले दिए।  

‘नेपाल गरिब भयो, विदेशीहरु धनी भए भनेर हामी सधैँ भन्ने गर्छौँ, तर, भविष्य कस्तो बनाउने भन्नेबारे कहिल्यै सोच्दैनौँ’ अध्यक्ष राई भन्छन् ‘उनीहरु सय वर्षपछिका लागि अगाडि नै विकासको खाका कोर्छन्, अनि न धनी र सम्पन्न भएका हुन्। हामी पनि समय चिनेर भविष्यका लागि अहिले नै खाका कोरेर अघि बढौँ भनेर आवधिक योजना निर्माण गर्न थालेका हौँ।’ स्पष्ट विचार, योजना र कार्यक्रम लिएर अघि बढ्न सके गाउँपालिकाको विकास गर्न धेरै समय नलाग्ने अध्यक्ष राईको धारणा छ।

आवधिक योजनाको निर्माणमा प्राविधिक साझेदारी र सहजीकरण ‘सेन्टर फर सस्टेनेवल डेभलपमेन्ट स्टडिज (सिएसडिएस)’ नेपालले गरिरहेको छ। कार्यक्रममा सहजीकरण गर्दै संस्थाका अध्यक्ष प्रकाश राईले आवधिक योजना निर्माणको सुरुदेखि हालसम्मको प्रगति समीक्षा सुनाएका थिए। सो क्रममा कन्सल्टेन्ट राईले दोस्रो चरणबाट प्राप्त वडागत छलफलको उपलब्धि, प्राप्त सुझाव, सल्लाह र प्रगति विवरण प्रस्तुत गर्दै सहभागीहरुबाट थप राय सुझाव लिए। उनले विषयविज्ञहरुले दिएको गाउँपालिकाको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका बुँदागत सुझाव केलाउँदै त्यसको प्राविधिक र वस्तुगत पक्षको भूमिकाबारे सहजीकरण गरेका थिए।  

गाउँपालिकाले आवधिक योजना निर्माणका लागि गत फागुन ३ गते सामूहिक संयन्त्र निर्माण गरेर पहिलो चरणको काम सकेको थियो। जस अनुसार १ नं. वडाध्यक्ष हेमन राई संंयोजकत्वमा आर्थिक विकास समिति, ३ नं. वडाध्यक्ष गोविन्द तामाङ संंयोजकत्वमा सामाजिक विकास समिति, २ नं. वडाध्यक्ष जितेन्द्र राई संयोजकत्वमा पूर्वाधार विकास समिति, ४ नं. वडाध्यक्ष अर्जुन कटवाल संयोजकत्वमा वातावरण तथा विपद् व्यवस्थापन समिति र संस्थागत विकास तथा सुशासन समिति ५ नं. वडाध्यक्ष जीवन खत्रीको संयोकत्वमा गठन गरेको थियो।  

सबै समितिमा कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, विषय विज्ञ नागरिक अगुवाहरु तथा विषयगत शाखा प्रमुख र कर्मचारीलाई पनि समेटिएको छ। पहिलो चरणकै कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्षको संयोजकत्वमा उपाध्यक्ष सदस्य तथा प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव रहने गरी ‘आवधिक योजना निर्माण निर्देशक समिति’ बनाएर छलफल अघि बढाइएको थियो। साकेलामा जन्मिएर देशका विभिन्न भूभागका सहर, बजार तथा विदेशमा रहेका पूर्व जनप्रतिनिधि, कर्मचारी, राजनीतिकर्मी, अधिकारकर्मी, व्यवसायी, पेसागत संघसंस्थामा कार्यरत अगुवाहरुलई सल्लाहकार समितिमा राखेर सुझाव सल्लाह लिने काम गर्दै अवधिका योजना निर्माण गरिरहेको छ।  

प्रकाशित: ८ चैत्र २०७९ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App