१६ चैत्र २०८० शुक्रबार
समाज

केवलकार कम्पनीले लुकायो ऐतिहासिक धुलिकोट राज्यको महत्व

केवलकार निर्माण हुने राजकाँडा क्षेत्र । तस्विर : योगेश रावल

कैलालीको राजकाँडामा निर्माण हुने केवलकारको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनमा झण्डै पाँच सय वर्ष पुरानो ऐतिहासिक धुलिकोट राज्यको कुरा लुकाईएको छ। पुरातात्विक महत्व समेत बोकेको सो राज्यको कुरालाई लुकाउनुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ।  

इतिहासविद प्रा.डा. राजाराम सुवेदीका अनुसार धुलीकोट राज्य वि.सं. १५९० मा स्थापना भएको हो। यस राज्यमा १२ गाउँ डाँडादरा, १२ बण्डाल, १२ मलवारा र ८ तप्पा रहेका थिए।तत्कालिन समयमा भारतको मथुरा हरद्वारदेखी लखिमपुर जिल्लाको रानीगञ्ज र अमिलिया समेत यसै राज्यमा पर्दथे।

यतिधेरै ऐतिहासिक महत्व बोकेको राज्यका बारेमा ३२२ पेज लामो प्रतिवेदनमा कहिँ कतै उल्लेख गरिएको छैन।जालपादेवी केवलकार प्रालिको प्रस्तावमा परामर्शदाता कम्पनी नेपाल इन्भाईरोनमेन्टल एण्ड साइटिफिक सर्भिसेज प्रालि काठमाण्डौले प्रतिवेदन तयार पारेको हो। कम्पनीले अन्य धेरै कुरालाई भने प्रतिवेदनमा समेटेको पाईएको छ।  

कम्पनीले वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन वातावरण संरक्षण नियमावली २०७७ को अनुसूची १२ को ढाँचा अनुसार तयार पारेको उल्लेख गरेको छ । कम्पनीले विभिन्न विधाका विज्ञ सहितको ६ सदस्यीय अध्ययन टोली तयार पारेको थियो।  

टोलीले केवलकार निर्माण हुने माथिल्लो स्टेशन रहेको मोहन्याल गाउँपालिका–७ राजकाँडामा मिति २०७८ पुस २० गते र तल्लो स्टेशन रहेको लम्कीचुहा नगरपालिका–३ चिसापानीमा मिति २०७८ पुस २१ गते सार्वजनिक सुनुवाई गरेको थियो। सार्वजनिक सुनुवाई पश्चात मिति २०७८ फागुन २ गते वातावरणीय प्रभाव मुल्यांकनका सम्बन्धमा सूचना प्रकाशित गरेको थियो।  

मिति २०७८ फागुन ११ गते मोहन्याल गाउँपालिका र लम्कीचुहा नगरपालिकाले राय सुझाव सहित सिफारिस गरेको थियो। प्रतिवेदनमा उल्लेख नगरपालिकाको पत्रमा केवलकार निर्माणको प्रस्ताव कार्यान्वयन गर्न नमिल्ने आधार नै उल्लेख गरेको छैन । गाउँपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनन्द जैशीले र नगरपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत माधवकुमार जैशीले सिफारिस गरेका छन।  

दुवै पालिकाले समेत धुलिकोट राज्यको महत्वका बारेमा कुनै बुँदा उल्लेख गरेका छैनन् । उनीहरुले केवलकार निर्माण हुनुपर्ने कुरामा मात्रै जोड दिएका छन।

तर दुईवटै पालिकाले यसअघि नै केवलकार निर्माणको अनुमति दिएको प्रतिवेदनमा उल्लेख छ। नगरपालिकाले कम्पनीले निवेदन पेश गरेकै दिन अर्थात मिति २०७८ असार १६ गते र गाउँपालिकाले भोलिपल्ट अर्थात मिति २०७८ असार १७ गते अनुमति दिएको छ।  

डिभिजन वन कार्यालय पहलवानपुरले समेत मिति २०७८ चैत १३ गते  राय सुझाव सहितको सिफारिस गरेको छ। कार्यालयले सिफारिसमा सकारात्मक र नकारात्मक दुवै पक्षलाई उल्लेख गरेको छ।  

उसले सकारात्मक पक्षमा रोजगारी, पर्यापर्यटन, जग्गाको मुल्य, राजश्व संकलन बढ्नुका साथै ऐतिहासिक र धार्मिक स्थलको प्रचारप्रसार हुने उल्लेख गरेको छ। त्यस्तै नकारात्मक पक्षमा वन अतिक्रमण, जैविक विविधता ह्रास, जल ध्वनी, हावा प्रदुषण, भुक्षय हुने सम्भावनालाई समेटेको छ।  

टोलीले दुई पटक केवलकार निर्माणस्थल राजकाँडाको स्थलगत अध्ययन गरेको छ।उसले पहिलो पटक मिति २०७८ बैशाख २० गतेदेखी २५ गतेसम्म र दोस्रो पटक मिति २०७८ मंसिर ८ गतेदेखी १४ गतेसम्म अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ । टोलीले स्थलगत अध्ययनका क्रममा १७ पटक ६३ जना स्थानीयसँग प्रत्यक्ष छलफल गरेको छ । स्थानीयले समेत छलफलका क्रममा ऐतिहासिक धुलिकोट राज्यको महत्वका बारेमा सुझाव नदिएको पाईएको छ । प्रतिवेदनमा उल्लेख सुझावमा यस्तो कुरा समेटिएको छैन ।  

ऐतिहासिक धुलिकोट राज्यको बारेमा प्रतिवेदनमा उल्लेख नहुनुलाई स्थानीयले शंकास्पद ढंगले हेरेका छन। उनीहरुले केवलकार निर्माण गरेर धुलिकोट राज्यको ऐतिहासिक महत्वलाई मास्न खोजेको आरोप लगाउने गरेका छन।  

केवलकार निर्माण कम्पनीका स्थानीय लगानीकर्ता सूर्यबहादुर थापाले धुलिकोट राज्यको ऐतिहासिक पक्षलाई मास्ने आफूहरुको कुनै योजना नरहेको बताए । उनले केवलकार निर्माणको गुरुयोजना मार्फत ऐतिहासिक धुलिकोट राज्यको संरक्षण गर्ने योजना रहेको सुनाए।  

‘अहिले प्रतिवेदनमा छुटेका कुरालाई गुरुयोजनामा समेटेर अघि बढ्छौं’ उनले भने –‘त्यहाँको ऐतिहासिक महत्वलाई जगेर्ना गर्ने जिम्मेवारी हाम्रो हो । हामी गर्छौ ।’

केवलकार निर्माणमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको लगानी रहेको छ । उनको ६० प्रतिशत लगानी रहेको बताईएको छ।बाँकी ४० प्रतिशत लगानी स्थानीयको रहने थापाले जानकारी दिए । उनले अहिले ४० प्रतिशत लगानीको जिम्मेवारी आफूले लगेको बता ।  

उनले केवलकार निर्माणमा झण्डै ४ अर्ब लगानी हुने बताए।तर वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनमा भने केवलकार निर्माणमा २ अर्ब ६४ करोड २२ लाख २४ हजार रुपैयाँ लगानी हुने उल्लेख छ।जसमध्ये माथिल्लो स्टेशन निर्माणमा ९५ करोड १० लाख ८० हजार २००, तल्लो स्टेशन निर्माणमा ६४ करोड ६१ लाख ६२ हजार ३०० र केवलकार निर्माणमा १ अर्ब ४५ करोड खर्च हुने बताईएको छ ।

चिसापानीदेखी राजकाँडासम्म ३ दशमलव १ किलोमिटर लम्बाई रहेको केवलकारमा १५ टावर र ३४ वटा बक्स रहने उल्लेख छ । करिव १० मिनेट समय लाग्ने केवलकार यात्राका क्रममा एक बक्समा आठ जनासम्म यात्रा गर्न सक्नेछन ।  

केवलकारका साथै राजकाँडा र चिसापानीमा दुईवटा सुविधा सम्पन्न होटल निर्माण गरिने प्रतिवेदनमा उल्लेख छ।राजकाँडामा निर्माण हुने ५ तले होटलमा १ सय कोठा र चिसापानीमा निर्माण हुने ४ तले होटलमा ५० कोठा रहनेछन । यसका साथै सभा हल, रेस्टुरेन्ट, भ्यू टावर समेत निर्माण हुने बताईएको छ।  

केवलकार निर्माणको काम चाँडै सुरु हुने लगानीकर्ता थापाले जानकारी दिए । उनले केवलकारको तल्लो स्टेशन र टावरले ओगटेको वन क्षेत्रको बदलामा सोही अनुपातको जमिन नेपाल सरकारलाई किनेर दिनुपर्नेछ। सो जमिनमा वृक्षारोपण गरेर पाँच वर्षसम्म हुर्काउने जिम्मेवारी समेत केवलकार निर्माण कम्पनीको रहेको थापाले बताए।  

उनले नेपाल सरकारलाई दिनुपर्ने जमिन खरिद गरिसकेको बताए । उनका अनुुसार १० विगाह जमिन टीकापुर र १० विगाह जमिन पहलवानपुरमा खरिद भैसकेको छ। ‘जग्गा किनेर हस्तान्तरणको क्रममा छौं’ उनले भने –‘जग्गा हस्तान्तरण हुने बित्तिकै केवलकार निर्माणको काम सुरु हुन्छ।’

केवलकार निर्माण कम्पनीलाई वन तथा वातावरण मन्त्रालयले मिति २०७५ माघ ३ गते सात शर्त सहित वातावरणीय प्रभाव मुल्यांकन अध्ययनका लागि अनुमति दिएको थियो । कम्पनीलाई मिति २०७८ माघ १८ गते राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले समेत वातावरणीय प्रभाव मुल्यांकन अध्ययनका लागि सहमति दिएको थियो।

स्थानीयले ऐतिहासिक धुलिकोट राज्यको पुरातात्विक महत्वको संरक्षणसँगै केवलकार निर्माणको काम पनि अघि बढ्नुपर्ने बताएका छन। उनीहरुले केवलकार निर्माणले धुलिकोट राज्यको थप प्रचारप्रसार हुने विश्वास गरेका छन। केवलकार निर्माणले यस क्षेत्रको आर्थिक अवस्थामा सुधार हुने विश्वास समेत स्थानीयको रहेको छ।

प्रकाशित: ७ चैत्र २०७९ १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App