८ वैशाख २०८१ शनिबार
समाज

सकिन लाग्यो मञ्जुश्रीको मूर्ति निर्माण

काठमाडौं- कीर्तिपुर नगरपालिका-१४ चोभारमा मन्जुश्रीको ३३ फिटको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको छ। चोभार गल्छीनजिक स्थानीयको सहयोगमा तीन वर्षयता मन्जुश्रीको मूर्ति निर्माण भैरहेको छ। अग्लो मूर्तिको निर्माण ११ खण्डमा गरिएको छ।

मञ्जुश्रीले प्राचीनकालमा 'टेथिस सागर'का रुपमा पानीको ठूलो ताल रहेको काठमाडौं उपत्यकाको पानी चोभारको डाँडो काटेर निकास दिएका थिए। 'चीनबाट आएर डाँडो काटी पानी निकाल्ने मञ्जुश्रीको ३३ फिटको मूर्ति उनले डाँडो काटेकै ठाउँमा स्थापना गर्न लागेका छौं,' जलविनायक सामुदायिक वन उपभोक्ता समिति तथा जलविनायक क्षेत्र विकास केन्द्रका अध्यक्ष इन्द्रबहादुर महर्जनले बताए। मूर्तिको विधिवत स्थापना गर्नुपूर्व गत कात्तिक १९-२३ गतेसम्म चोभार गल्छीमा बौद्धगुरुहरूको अगुवाइमा विश्व शान्ति पूजा गरिएको थियो ।

अध्यक्ष महर्जनका अनुसार मञ्जुश्री र चोभार क्षेत्रको ऐतिहासिक महत्व उजागर गर्न, उनले बनाएको गल्छीनजिक निर्मित जलविनायक मञ्जुश्री पार्क परिसरमा मञ्जुश्रीको ढुंगेमूर्ति स्थापना गर्न लागिएको हो।

'विश्वको सर्वोच्च शिखर सगरमाथा पनि देख्न सकिने स्थानमा मञ्जुश्रीको अग्लो ढुंगेमूर्ति स्थापना पर्यटकीय आकर्षणको विषय हुनेछ,' अध्यक्ष महर्जनले भने, 'चक्रपथबाट ३ किलोमिटर दूरीमा रहेको चोभार गल्छी पहिलादेखि नै पर्यटकीय क्षेत्र बनेको छ। मञ्जुश्री पार्कले आगन्तुकको मन जितेको छ, गल्छीसँगैको गुफा पनि रोमाञ्चक छ।'

केन्द्रका संयोजक एवं कीर्तिपुर नगरपालिकाका सूचना अधिकृत सुजिन्द्र महर्जनका अनुसार मञ्जुश्रीको मूर्ति निर्माण गर्न करिब ३ करोड रुपैयाँ लाग्ने अनुमान छ। अहिलेसम्म मूर्ति निर्माणमा १ करोड ५ लाख रुपैयाँ खर्च भइसकेको छ। मूर्ति स्थापना गरिने जगलगायत विभिन्न संरचना, मूर्तिको रंगरोगन र पार्क वरिपरि पर्खाल लगाउन १ करोड ९५ लाख रुपैयाँ लाग्ने संयोजक महर्जनले बताए ।

संयोजक महर्जनका अनुसार विश्व शान्ति पूजामा सहभागी व्यक्तिबाट ११ लाख रुपैयाँ संकलन भएको थियो भने पर्खाल निर्माणमा कीर्तिपुर नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। मूर्ति स्थापना गरिने मञ्जुश्री पार्क अहिले करिब ३० रोपनी जग्गामा फैलिएको छ। पार्कको वरिपरि पर्खाल निर्माण भइरहेको छ। करिब ३ सय मिटर पर्खाल लगाइसकेको र बाँकी पनि धमाधम निर्माण भइरहेको केन्द्रका संयोजक महर्जनले जनाए। उनले भने, 'यसै वर्ष मूर्ति स्थापना गर्ने छौं।

११ वटा टुक्रामा निर्मित मूर्तिलाई अहिले अन्तिम स्वरुप दिइरहेको संयोजक महर्जनले बताए। अब सबै टुक्रा जोडेर सग्लो मूर्ति उभ्याई स्थापना गर्ने र पार्कको पर्खाल लगाइसक्न र सजावटका बाँकी काम सक्न अझै ५ महिना लाग्नसक्नेे संयोजक महर्जनले जनाए। 

वरिष्ठ पुरातत्वविद् शुक्रसागर श्रेष्ठ, बौद्ध विद्वानहरू प्राडा मिलन शाक्य, डुण्डबहादुर बज्राचार्य, वरिष्ठ सँस्कृतिविद् सत्यमोहन जोशी, वरिष्ठ मूर्तिकार रवीन्› ज्यापु र प्राविधिकतर्फ इन्जिनियर मदनकुमार डंगोल, विकास बज्राचार्य, अमीर महर्जन, विदुर महर्जन, त्रिरत्न महर्जन, वरिष्ठ भूगर्भविद् प्राडा रामबहादुर शाहलगायतको निरन्तर निगरानी र परामर्शमा मूर्तिकार चन्›श्याम डंगोलले मञ्जुश्रीको प्रतिमा निर्माण गरेका हुन्।

प्रकाशित: २० मंसिर २०७३ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App