१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अभियुक्तलाई पक्राउ गर्नुपर्ने माग सहित प्रहरी कार्यालय घेराउ

महिलाको हत्या गर्ने मुख्य अभियुक्तलाई पक्राउ गर्नुपर्ने माग गर्दै मौलापुर नगरपालिका सोनरनियाका पीडित पक्षहरुले प्रहरीको कार्यशैली विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि प्रदर्शन गरेका छन्।

मौलापुर नगरपालिका ९ सोनरनियाका पनिलाल यादवको ४२ बर्षिया श्रीमती सुनैनाकुमारी यादवलाई छिमेकी भोला राय यादव, निजको श्रीमती कलावती देवी यादव र उमत राय यादवकी श्रीमती मधानी देवी मिलेर गत फागुन २५ गते बाँसको भाटाले निर्घात कुटपिट गरी हत्या गरेका थिए।

हत्यामा संलग्न तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर फागुन २९ गते छाडेपछि आक्रोशित पीडित पक्षले सोही दिनदेखि प्रहरी विरुद्ध निरन्तर रुपमा प्रदर्शन गर्दै आएका छन्।

खेतमा दिशा गरेको विषयलाई लिएर भएको सामान्य वादविवादपछि भएको झगडामा एकपक्षीय रुपमा महिला सुनैनामाथि तिनै जनाले निर्घात कुटपिट गरेर हत्या गरेको प्रत्यक्षदर्शी स्थानीय महिला शारदा देवी यादवले आरोप लगाएकी छिन्। सुनैनालाई तिनै जना पिडकले बाँसको भाटाले निर्घात कुटपिट गरेर अचेत बनाएर त्यहाँबाट फरार भएपछि आफूहरूले महिलालाई अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको तिनले बताइन्।

प्रहरीले केही बेर पश्चात् ३ आरोपीलाई नियन्त्रणमा लिएर आर्थिक चलखेलको आधारमा तिनै जनालाई फागुन २९ गते छाडेको आरोप प्रदर्शनमा रहेका महिलाहरुको छ। घटनामा संलग्न मधानी देवीको ७२ वर्षीय श्रीमानलाई उमत राय यादवलाई मुख्य आरोपी बनाएर प्रहरीले हिरासतमा राखेपछि पिडितहरु प्रहरीको कार्यशैली विरुद्ध आक्रोशित बनेका हुन्।

मुख्य आरोपीलाई छाडेर प्रहरीले वृद्धलाई आरोपी बनाएको स्थानीय रामप्रसाद साहको पनि आरोप रहेको छ।

मृतक महिला सुनैनाको ४ छोरी र दुई छोरालाई लिएर स्थानीयहरु प्रहरी विरुद्ध प्रदर्शनमा उत्रिए पनि प्रहरीले वास्तविक दोषीलाई नसमात्नु निकै दुर्भाग्यपूर्ण रहेको बताउँदै साहले रौतहट प्रहरी माथि गम्भीर आरोप लगाएका छन्।

यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर यादवले महिला हत्याको विषयमा प्रहरी गहन अनुसन्धान गरिरहेको हुँदा को दोषी, को निर्दोष हो अनुसन्धान पछि थाहा हुने बताएका छन्। प्रहरी माथि अनावश्यक रुपमा दबाब बनाएर अनुसन्धानमा खलल उत्पन्न गराउन काम मात्रै भएको हुँदा हामी वास्तविक दोषीलाई पत्ता लगाई कानुनी दायरामा ल्याउने डिएसपी यादवले बताएका छन्।

प्रकाशित: ५ चैत्र २०७९ १४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App