coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरीमा ३० वर्षे सेवावधि हटाउन प्रस्ताव

नयाँ आइजिपीको नियुक्ति हुन केही दिन बाँकी रहँदा गृह मन्त्रालयले नेपाल प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गर्नेगरी नयाँ प्रहरी ऐन ल्याउने तयारी गरेको छ। प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवावधिका कारण वर्तमान नेतृत्व बिदा भएर नयाँ नेतृत्व आउने बेलामा सरकारले उक्त व्यवस्था हटाउने योजनासहित नयाँ प्रहरी ऐन ल्याउन लागेको हो।

प्रहरी ऐन, २०१२ प्रतिस्थापन गर्न ‘नेपाल प्रहरी ऐन, २०७९’ को मस्यौदा तयार गरिएको छ। ३० वर्षे सेवावधि हटाउन सर्वोच्च अदालतको फैसला बाधक भएका कारण मौजुदा प्रहरी ऐन प्रतिस्थापन गर्न नयाँ ऐनको मस्यौदा तयार गरिएको हो। ‘नेपाल प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गर्न नयाँ ऐनको मस्यौदा बनेको छ। यसलाई सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ’, गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने, ‘अर्थले सहमति दिएपछि कानुन मन्त्रालयमा पठाउनुपर्छ। कानुनले रायसुझाव दिएपछि लोकसेवा आयोगमा पठाउनुपर्छ। अर्थ, कानुन मन्त्रालय र लोकसेवा आयोगको सहमतिपछि मन्त्रिपरिषद्मा पेस हुन्छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि संसद्मा प्रस्तुत गर्नुपर्ने भएकाले केही समय लाग्छ।’

सहसचिव बस्नेतका अनुसार ऐन संशोधन मस्यौदामा नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवावधि हटाइएको छ। ‘अहिलको सेवावधि वैज्ञानिक छैन भन्ने आवाज धेरैतिरबाट आएकाले हटाउन प्रस्ताव गरिएको छ’, उनले भने।

केपी ओली प्रधानमन्त्री र रामबहादुर थापा गृहमन्त्री भएका बेला २०७६ सालमा पनि ३० वर्षे सेवावधि हटाउने प्रस्तावसहित नेपाल प्रहरी ऐन संशोधन मस्यौदा संसद्मा पेस गरिएको थियो। त्यसबेला उक्त मस्यौदा संसद्ले फिर्ता पठाएपछि ऐन संशोधन हुन सकेको थिएन। गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी नियमावली, २०७१ को दफा १२७ मा आइजिपीको पदावधि ४ वर्ष उल्लेख भए पनि ऐन संशोधन मस्यौदामा पदावधि तीन वर्ष हुने व्यवस्था गरिएको छ। मस्यौदामा अहिले कायम रहेको आइजिपीको उमेरहद ५८ वर्ष यथावत् राखिएको छ। संशोधन मस्यौदामा एआइजिपीको उमेरहद र पदावधि थपघट गरिएको छ।

प्रहरी नियमावलीअनुसार अहिले एआइजिपीको उमेरहद ५६ र पदावधि ५ वर्ष छ। तर ऐन संशोधन मस्यौदामा एआइजिपीको उमेरहद एक वर्ष बढाएर ५७ र पदावधि एक वर्ष घटाएर चार वर्ष बनाउन प्रस्ताव गरिएको छ। त्यस्तै ऐन संशोधन मस्यौदामा एआइजी र डिआइजीको उमेरहद र पदावधि संशोधन गर्न प्रस्ताव गरिएको छ।

अहिले प्रहरी नियमावलीअनुसार एआइजी र डिआइजीको पदावधि पाँच वर्ष र उमेरहद ५६ वर्ष छ। ऐन संशोधन मस्यौदामा एसएसपी उमेरहद ५६ र पदावधि ६ वर्ष प्रस्ताव गरिएको छ। एसपीको उमेरहद ५६ वर्ष र पदावधि १० वर्ष प्रस्ताव गरिएको छ। ऐन संशोधन मस्यौदामा कार्यालय सहयोगीको उमेरहद भने ५५ वर्ष नै कायम गरिएकोे छ। नेपाल प्रहरी ऐन मस्यौदा, २०७९ संसद्बाट पारित भएपछि प्रहरी ऐन, २०१२ खारेज हुनेछ।

नेपाल प्रहरीमा ३० वर्षे सेववधि हटाउने कि राख्ने भन्नेमा बहस हुँदै आएको छ। आइजिपीको लाइनमा रहेकाहरू ३० वर्षे उमेरहद नहटाउने तथा बहालवाला आइजिपी, आइजिपीको लाइनमा नभएका र पूर्वप्रहरी अधिकारी हटाउने पक्षमा देखिँदै आएका छन्। ‘नेपाल प्रहरीमा यो लडाइँ विगत ३० वर्षदेखिकै हो। नेपाली सेनामा यो प्रावधान छैन। नेपाल प्रहरी र सशस्त्र प्रहरीमा मात्रै राजनीतिक खिचातानीका कारण ३० वर्षे सेवावधि हटाउने कि राख्ने भन्ने विषयमा विवाद हुने गरेको छ’, नेपाल प्रहरीका एक उच्च अधिकारीले भने। उनका अनुसार ३० वर्षे सेवावधि हटाउनुपर्छ भन्नेमा सबै सहमत छन् तर मिति तोक्न तयार छैनन्।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी ३० वर्षे सेवावधि हटाउनुपर्ने तर्क गर्छन्। पूर्वप्रहरी महानीरिक्षक कुवेर सिंह राना र पूर्वएआइजी पुस्कर कार्कीले पनि ३० वर्षे सेवावधि हटाउनुपर्ने अभिव्यक्ति सार्वजनिक रूपमा दिँदै आएका छन्। ‘३० वर्षे सेवावधि हटाउनुपर्छ भनेर धेरै पटक भनिसकिएको छ। यसमा कुनै द्विविधा छैन तर सरकारले यो मितिदेखि हट्यो भन्न सक्दैन, यो काम सरकारको हो। सेवावधिका नाममा धेरै दाउपेच हुने गरेको’, पूर्व डिआइजी ठकुरी भन्छन्। ३० वर्षे सेवावधिकै कारण प्रहरीका धेरै अधिकृतले ५० देखि ५३ वर्षको उमेरमै अवकाशमा पाएका छन्। ‘समस्या समय तोक्नु हो। प्रहरी ऐनमै यो व्यवस्था गरेपछि समस्या हट्छ’, मल्लले भने।

भारतमा प्रहरी सेवामा उमेरहद ६० वर्ष छ। चीनमा पुरुष प्रहरीको उमेरहद ६० र महिलाको ५५ वर्ष छ। क्यानडामा प्रहरी कर्मचारीको उमेरहद ६५ वर्ष छ। आइसल्यान्ड, जर्मनी र इजरायलमा उमेरहद ६७ वर्ष छ। विश्वका धेरै मुलुकमा प्रहरी सेवामा उमेरहद ६० देखि ६८ वर्षसम्म छ। नेपालमा प्रहरी सेवामा उमेरहद ४८ वर्षदेखि ५६ वर्षसम्म छ ।

प्रकाशित: ५ चैत्र २०७९ ०१:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App