७ वैशाख २०८१ शुक्रबार
समाज

उदयपुरका सामुदायिक वनको डढेलो हल्का वर्षाले मत्थर

फाइल तस्बिर।

साता दिन अघिदेखि अनियन्त्रित हुँदै गएको उदयपुरको डढेलो सामान्य वर्षाले केही मत्थर भएको छ।

जिल्लाका विभिन्न दर्जन बढी सामुदायिक वन समूहहरूमा लागेर अनियन्त्रित हुँदै गएको डढेलो शुक्रबार हल्का वर्षा हुँदा केही मत्थर भएको हो।

सुख्खा मौसम सुरु भएसँगै सदरमुकाम गाईघाट आसपास र जिल्लाका विभिन्न भागका सामुदायिक तथा सरकारी वनमा साता दिनयता डढेलो सुरु भएर फैलदै गएको थियो। 

जताततै डढेलो जान थालेपछि डिभिजन वन कार्यालय उदयपुर, डिभिजन वन कटारी र सब डिभिजन वन कार्यालयका कर्मचारी परिचालन गर्नुका साथै समूहका पदाधिकारी, उपभोक्ता र प्रहरी तथा सशस्त्रको सहयोग लिएर निभाउने काम भईरहेको छ। गाईघाट आसपासका त्रियुगा नगरपालिका १० को बाबरी र बरुवा, ११ को चप्पन, १६ को सरस्वती, तथा बेलदोभान, १४ का ३ वटा समूहमा साता दिनयता डढेलो लागेको छ।

त्यसैगरी त्रियुगा ५ को सरस्वती, चौदण्डीगढीको महाभारत र देउरालीलगायत १ दर्जन बढी समूहको वन क्षेत्र डढेलोले खाईसकेको स्थानीयको भनाई छ। लामो समयदेखि पानी नपर्नुका साथै गर्मी याम लागेको तथा हिउँदमा खसेका रुखका पातहरु सुकेका कारण सामान्य असावधानीबाटै धेरै ठाउँमा डढेलो लागेको स्थानीयले बताएका छन्। कतिपय ठाउँमा भने पशुपालक स्थानीयले गाई बस्तुलाई पिपिरो (डढेलोपछि उम्रने हरियो पोषिलो घाँस) खुवाउनकै लागि जानीजानी स्थानीय आफैले डढेलो लगाउने गरेको पाइएको छ।

सुख्खा याममा डढेलो लगाएपछि वर्षा भएसँगै उम्रने हरियो पिपिरा गाई बस्तुका लागि अत्यन्त पोषिलो हुने भएकाले चेतना अभावमा स्थानीयले आफै डढेलो लगाउने चलन पुरानो हो। गाउँघरका कतिपयलाई गाई बाख्रा चराउनका लागि घाँसको जोहो गर्नै आगो लगाउने गरेको तथा कतिपय घाँस दाउरा र बटुवाहरूले चुरोट बिडी खाएर राम्रोसँग ननिभाई फाल्दा असावधानीले डढेलो लाग्ने गरेको छ।

डिभिजन वन कार्यालय उदयपुरले डढेलो लाग्न नदिन सामुदायिक वन समूह र स्थानीय सब डिभिजन वन कार्यालयमार्फत प्रचार प्रसार र तालिम गोष्ठीलगायत कार्यक्रम गर्दै सचेत गराउने गरेको जनाएको छ। तर, यति हुँदाहुँदै पनि बर्सेनि डढेलो लागेर लाखौँ रुख बिरुवा नष्ट हुने गरेको डिभिजनका सूचना अधिकारी जागेश्वर साह बताउँछन्। उनका अनुसार चालु वर्ष पनि डढेलोबाट बच्न सुरुदेखि नै समूहहरू र स्थानीयतहसँगको समन्वयमा सचेतना कार्यक्रम गर्दै आएको भए पनि डढेलो लागेकै छाडेको छ।

डढेलो लागेको ठाउँमा वन कर्मचारी, सशस्त्र प्रहरी र जनपथ र स्थानीय उपभोक्ता तथा वडा कार्यालयहरुसँग समन्वय गरेर नियन्त्रण गर्ने काम भईरहेको साहले बताए। ३÷४ दिनयता निकै भयावह हुँदै गएको डढेलो शुक्रबार बिहान परेको वर्षाले धेरै हदसम्म निभाएको साहको भनाई छ। तर, सामान्य मात्र वर्षा भएकाले डढेलो पुरै नियन्त्रण भने हुन सकेको छैन। डढेलो नियन्त्रण गर्न उपभोक्ता, वन कर्मचारी र आवश्यकता अनुसार प्रहरी र सशस्त्र समेतको सहयोगमा फिल्ड खटिरहेको उनले बताएका छन्।

डढेलोबाट बच्न नियन्त्रण सप्ताह सुरु

यसैबिच डिभिजन वन कार्यालय कटारी त्रिबेणीले स्थानीय विद्यार्थीको परिचालन गर्दै डढेलो नियन्त्रणका लागि सचेत गराउन डढेलो नियन्त्रण सप्ताह सुरु गरेको छ। 

कटारीमा आयोजित डढेलो नियन्त्रण सचेतना सप्ताहमा सहभागी वन विज्ञान क्याम्पस कटारीका विद्यार्थी। तस्बिर: महेश्वर 

‘वन वातावरण तथा जैविक विविधता संरक्षणमा सहभागी बनौँ’ भन्ने नाराका साथ वन विज्ञान क्याम्पस कटारीका विद्यार्थीको अगुवाईमा डिभिजनले समूहका पदाधिकारी, उपभोक्ता र सर्वसाधारणको सहभागितामा डढेलोबाट बच्ने उपायबारे र्‍याली निकालेको हो। शुक्रवारदेखि सुरु ‘वन डढेली नियन्त्रण सप्ताह’ लाई कटारी बजार, रिस्कु, त्रिवेणीलगायत विभिन्न बजार र बाक्लो जनसङ्ख्या भएको ठाउँ तथा सडकमा सञ्चालन गरिएको सहायक डिभिजन वन अधिकृत भोगेन्द्र यादवले बताए।

सुरुको दिन जनचेतनामूलक प्लेकार्ड र ब्यानर बोकेको र्‍यालीले कटारी बजार परिक्रमा गरी अभियानलाई अन्य विभिन्न ठाउँ लगेर स्थानीयलाई सहभागी गराउँदै निरन्तर जारी राखेको यादवले बताएका छन् । कटारी डिभिजन मातहत हालसम्म कटारी नगरपालिका ५ भोलेस्थित सलेस सामुदायिक वन र उदयपुरगढी ७ नेपालटारस्थित गैँडेश्वर सामुदायिक वन क्षेत्रमा डढेलो लागेकोमा नियन्त्रणमा ल्याइसकेको सहायक वन अधिकृत यादवले बताएका छन्।

प्रकाशित: ४ चैत्र २०७९ १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App