१६ चैत्र २०८० शुक्रबार
समाज

हत्या अभियोगमा पूर्व वडाअध्यक्ष सहित ७ जना दोषी ठहर

विराटनगर १४ का ५५ वर्षीय समानन्द यादवको हत्या गरेको अभियोग लागेका विराटनगर महानगरपालिका १४ का पूर्व वडाअध्यक्ष वलदेव यादवसहित ७ जनालाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ।

जिल्ला अदालत मोरङका न्यायधिश दीनबन्धु बरालको शुक्रबारको इजलासले हत्या अभियोगमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।

समानन्द यादवको हत्या गरेको अभियोग लागेकाहरूमा बलदेवसहित विन्देश्वर यादव, भोलु यादव, संजयकुमार साह, विरेशकुमार यादव, दिपेश यादव, जहदा गाउँपालिकाका १ का प्रदिपचन्द्र यादव छन्।

जिल्ला अदालत मोरङले जनही र १ लाख ५० हजार रुपैयाँकादरले क्षतिपूर्ति पनि पीडित पक्षलाई दिनुपर्ने फैसालामा उल्लेख छ। उक्त घटनामा संलग्नहरू विराटनगर १४ का रविनकुमार यादव, सम्भु यादव, जहदा गाउँपालिका १ का दिनेशकुमार यादव फरार रहेका कारण मुद्धा मुतल्विमा राख्ने फैसला गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए।

२०७५ जेठ ३२ गते नातेदारको विवाहको विषयमा तत्कालिन विराटनगर १४ का वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा विराटनगर महानगरपालिका वडा नं. १४ का ५५ वर्षीय समानन्द यादवमाथि कुटपिट भएको थियो। कुटपिटबाट घाइते भएका समानन्दको ०७६ असार २७ मा उपचारको क्रममा मृत्यु भएको थियो।

आफ्ना नातेदारकी छोरीसँग समानन्दले छोराको बिहे गराउन नमानेपछि नियोजित रूपमा कुटपिट गरेर हत्या गरिएको भन्दै मृतकको परिवारले घटनामा संलग्न वडाध्यक्षसहित १० जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थिए। आरोपितहरू विरुद्ध प्रहरीले जिल्ला अदालत मोरङमा २०७६ असोज ९ गते मुद्दा दर्ता गरेको थियो। 

फैसला पछि पुर्पक्षका लागि थुनामा रहेका २ जनाको कैद भुक्तानी भइसकेका कारण आइतबार छाड्न लागिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए।

उनका अनुसार भोलु यादव र संजय साहलाई आइतबार थुनामुक्त गर्ने तयारी गरिएको छ। यस्तै घटनामा संलग्न रहेको आरोप लागेका रविनकुमार यादव, सम्भु यादव र दिनेश यादव फरार रहेका कारण उनिहरूको मुद्दा मुतल्वीमा राख्ने अदालतले आदेश दिएको सूचना अधिकारी बुढाथोकीले बताए।

प्रकाशित: ४ चैत्र २०७९ १३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App