१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बुटवल उप-महानगरद्धारा स्वास्थ्य क्षेत्रका अगुवासँग छलफल

बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शनिबार बुटवल नगर भित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका अगुवाहरूसँग छलफल गरेको छ।

छलफल कार्यक्रमका बोल्दै सहभागीहरूले स्वास्थ्य संस्थाहरुबाट उत्पादन हुने फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाले अगुवाइ गर्न सुझाव दिएका छन्।

स्वास्थ्य संस्थाका अध्यक्ष तथा कार्यकारी निर्देशकहरुले बुटवललाई स्वास्थ्यमा अगुवा सहर बनाउनका लागि विशिष्ट र आधुनिक सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने र त्यसका लागि उपमहानगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

सरकारी नीति निर्माणमा संघीय सरकारले निजी क्षेत्रलाई नियन्त्रणमुखी नीति बनाउन प्रयास गरेकोले खुला नीति अवलम्बन गर्न उनीहरुले सुझाव दिए। स्तरीय स्वास्थ्य सुविधा प्रदानका लागि सरकारी नीतिले साथ दिएमा सरकारी र निजी क्षेत्रको समन्वयमा विशिष्टीकृत सुविधा घरघरमा पुर्‍याउन तयार रहेको उनीहरुले बताएका छन्।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी सहर बनाउनका लागि निजी क्षेत्रले समेत स्तरीय सेवा सुविधा प्रदान गर्नुपर्ने बताए।

उनले संख्यात्मक भन्दा बढी गुणात्मक हिसाबले अस्पतालहरू स्थापना तथा सञ्चालन गर्नुपर्ने बताउँदै सहजीकरण तथा समन्वयका लागि बुटवल उपमहानगरपालिका तयार रहेको बताए।  नीतिगत हिसाबले बुटवल उपमहानगरपालिकाले संघ र प्रदेशसँग समन्वय गरी बुटवललाई स्वास्थ्य क्षेत्रमा सुविधा सम्पन्न बनाउनका लागि अगुवाइ गर्ने बताए।

चितवन स्वास्थ्यकै कारण अगाडि बढिरहेको भन्दै बुटवललाई शिक्षा र स्वास्थ्यमा अगुवा बनाउनका लागि निजी क्षेत्रको समेत चासो र लगानी बढ्नुपर्ने बताउनुभयो। बुटवलमा स्वास्थ्य क्षेत्रमा लगानी भए पनि पर्याप्त र अत्याधुनिक सुविधा प्रदान गर्नका लागि थप लगानी आवश्यक देखिएको बताए।

बुटवल उपमहानगरपालिकाले बुटवललाई देशकै अगुवा सहर बनाउनका लागि योजना निर्माण गर्दै सेवा प्रवाहलगायतका विषयमा विज्ञहरूको राय सुझाव लिने अभियानको थालनी गरेको हो।

सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धी कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए। 

प्रकाशित: ४ चैत्र २०७९ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App