७ वैशाख २०८१ शुक्रबार
समाज

वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइँदै

शहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको आतङ्क बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले कुकुरको बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको खोप दिन थालेको छ।

हुलका हुल निस्किने छाडा कुकुरले बाटो हिंड्ने सर्वसाधारणलाई टोक्ने, बाटामा यातायात आवागमनमा समस्या पुर्‍याउनुको साथै स्थानीयले पालेका खसीबोका मार्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले कुकुर बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउनु थालेको हो। छाडा कुकुरलाई दैनिक सङ्कलन गरी नेशनल ट्रेडिङमा बन्ध्याकरण गरिने गरिएको द जेन गुडअल इन्स्टिच्युट नेपालका प्रशासकीय अधिकृत रमेश सापकोटाले बताए।

गत मङ्गलबारदेखि सुरु भएको छाडा कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्यक्रमअन्तर्गत आजसम्ममा दुई सयभन्दा बढी कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको उनले बताए। पहिलो चरणमा करिब एक हजार कुकुरको बन्ध्याकरण गरिने उनको भनाइ छ।

वीरगञ्जमा छाडा कुकुरको संख्या वृद्धि नियन्त्रण गर्न यस्तो अभियान सुरु गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताए। कुकुरको संख्या दैनिक रूपमा बढ्दै गएकाले यसलाई कम गर्न बन्ध्याकरण गर्न थालेको र यसबाट छाडा कुकुरको कमि आउने नगरप्रमुख सिंहको विश्वास छ।

छाडा कुकुरको आतङ्कलाई रोक्न केही दिनअघि महानगरपालिकाले कुकुर मार्ने अभियान चलाएको थियो तर अधिकारकर्मीले कुकुर मार्ने अभियानविरुद्ध आन्दोलन थालेपछि महानगरपालिकाले मार्ने अभियानको साटो बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान चलाएको हो। रासस

प्रकाशित: ४ चैत्र २०७९ ०४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App