संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुशासन तथा सरकारी सेवा प्रवाहलाई छिटो र छरितो बनाउन के–कस्ता नीतिनियम, योजना तथा कार्यक्रम ल्याउनुपर्छ भन्ने विषयमा नयाँ आइडिया (नवीन सोच) प्रस्तुत गर्न निजामती कर्मचारीबीचमै प्रतियोगिता गराउने भएको छ।
मन्त्रालयले चैत महिनाभित्र प्रतिभा प्रस्तुत गर्न कर्मचारीलाई आह्वान गरेको छ। यसका लागि मन्त्रालयले फाराम खोलेको छ। इच्छुक कर्मचारीले चैत महिनाभित्र आफ्नो आइडियासहित फाराम भर्ने छन्। प्रतिभा डबली २०७९ नाम राखिएको यस प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार तथा दोस्रा तथा तेस्रालाई मन्त्रालयले २५-२५ हजार रूपैयाँ पुरस्कार घोषणा गरेको छ।
मन्त्रालयका अनुसार प्रतिभा डबली प्रतियोगितमा उत्कृष्ट कर्मचारीको छनोट गर्न विज्ञहरूको एउटा टोली बनाएको छ। उक्त टोलीले फाराम भरेका कर्मचरीमध्ये १० जना कर्मचारीको अन्तिम सूची तयार गर्ने छ। त्यस सूचीबाट तीनजनाको नाम छनोट गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रतिभा छनोट प्रतियोगिताको लाइभ नेपाल टेलिभिजनबाट प्रस्तुत हुने छ। मन्त्रालयका अनुसार संघ, प्रदेश तथा स्थानीय तहमा समायोजन भएका स्थायी कर्मचारी यस प्रतियोगितमा सहभागी हनु पाउनेछन्। संघ, प्रदेश तथा स्थानीय तहमा कर्मचारीको कुल दरबन्दी संख्या १ लाख ३८ हजार भए पनि हाल करिब १ लाख कर्मचारी मात्र कार्यरत छन्।
प्रकाशित: ४ चैत्र २०७९ ०८:४९ शनिबार