१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बंगुरको खोरमा बस्ने पुष्पालाई जुट्यो पढ्ने खर्च

गरिबी र नियतिको भुमरीमा परेकी बेनी नगरपालिका–७ मंगलाघाट बजारनजिकै रहेको एउटा बंगुर फार्ममा रहेकी राजकुमारी राईको दुःखान्त कथा सार्वजनिक भएपछि सहयोगदाताले हात बढाएका छन्। आफ्नो भोक, प्यास, निन्द्रा सबै बिर्सेर छोरी पुष्पाको शिक्षादीक्षाका लागि पसिना बगाएकी राजकुमारीले गरिबीबाट छुटकारा पाएकी छैनन्। राजकुमारीको दुःखान्त कथा जोडिएको समाचार प्रकाशित भएपछि बेनी नगरपालिका–६ छाप घर भई हाल युकेमा रहेका किसान जिसीले कक्षा १२ सम्म लाग्ने शैक्षिक सहयोग गरेका छन्।  

बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छोरी पुष्पाको शिक्षादीक्षामा कुनै समस्या हुन नदिन अमेरिकामा रहेकी समाजसेवी शोभा पाण्डेको अगुवाइमा मनु शाह र शिला रेग्मीले २५ हजार र रिक म्याग्दी नामक गैरसरकारी संस्थाले पोसाक, स्टेसनरी र झोला सहयोग गर्दै वार्षिक ५ हजार रूपैयाँबराबरको स्टेसनरी सहयोग गरेको विद्यालयकी उप प्रधानाध्यापक घनदेवी घर्तीमगरले बताइन्। ‘पुष्पा जेहेनदार, अध्ययनशील र अनुशासितका साथै विद्यालयकै मेधावी छात्रा हुन्, अब पढाइमा कुनै समस्या हुन्न,’ उप प्रअ घर्तीमगरले भनिन्। भविष्यमा डाक्टर बन्ने सपना बोकेकी पुष्पालाई बंगुरको खोरमा राखेर मजदुरी गर्ने बाध्य राजकुमारीको दैनिकी समेत समाचारपछि फेरिएको छ।

बंगुरको खोरभित्र पढ्ने उचित वातावरण नभएपछि अहिले भाडामा बस्न थालेकी छन्। रित्तो बंगुर फार्म कुरेर बसेकी राजकुमारीले अब मजदुरी गरेर खर्च चलाउने र दाताको सहयोग छोरीको शिक्षादीक्षामा खर्च गर्ने बताइन्। आर्थिक सहयोगका लागि दाताले धेरै चासो देखाए पनि नेपाली नागरिकता र छोरीको जन्मदर्ता नहँुदा समस्या भएको थियो। राजकुमारी र छोरी पुष्पाका लागि नागरिक संवाददाता हरिकृष्ण गौतमले संकलन गरेको रकम विद्यालयमा एक समारोहबिच हस्तान्तरण गरिएको छ। विद्यालयका सल्लाहकार चन्द्रबहादुर घिमिरे र प्रधानाध्यापक छेमप्रसाद गर्बुजा पुनले परोपकारी पत्रकारितामार्फत विपन्न र बेसहाराका लागि भइरहेको प्रयासले धेरैको जीवनमा परिवर्तन भएको बताए। प्रअ गर्बुजाले बिहान–बेलुकी हातमुख जोड्नसमेत ठुलै युद्ध जिते जस्तै हुने गरेको परिवारमा सहयोगले पढाइमा सहज भएको बताए।  

सहयोग हस्तान्तरण कार्यक्रममा राजकुमारी राईले सहयोग छोरीको शिक्षादीक्षामा खर्च गर्ने र आफूले मजदुरी गरी घरखर्च चलाउने बताइन्।  

कठिनाइपूर्ण यात्राले गरिबीको चित्र रेखा लिपिबद्ध गर्छ भन्ने उदाहरण बनेकी राजकुमारीले गरिबीको मुक्तिका लागि अझै कैयौं संघर्ष गर्नुपर्छ। तापनि सहयोगदाताको सहयोगले अहिले आफ्नै कोखबाट जन्म लिएकी छोरीलाई बंगुरको खोरबाट निकाल्न सफल भएकी छन्।

प्रकाशित: ४ चैत्र २०७९ ००:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App