१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘सल्लाघारीका रुख ढलेर फेरि दुर्घटना हुन सक्छ’

गत साउन ८ गते रुख ढलेर तीन जनाको मृत्यु भएको भक्तपुरको सल्लाघारी वनमा अझै एक दर्जनभन्दा वढी रुख ढलेर दुर्घटना हुनसक्नेतर्फ सचेत पारिएको छ। डिभिजन बन कार्यालय भक्तपुरले त्यहाँ अझै १७/१८ वटा रुख जुनसुकै बेला ढल्न सक्ने जनाएको हो।

कार्यालयका प्रमुख डिभिजन वन अधिकृत प्रेमप्रसाद सापकोटाले अझै पनि त्यस क्षेत्रलाई दुर्घटनामुक्त क्षेत्रको रूपमा हेर्न नमिल्ने बताए। ‘त्यहाँ अझै पनि १७/१८ वटा ठुल्ठुला रूखहरू बुढो भएर जुनसुकै बेला ढलेर दुर्घटना हुनसक्छ, सचेत पार्दै उनले भने, ‘त्यसकारण यसलाई तत्काल काटेर सुरक्षित पार्नुपर्छ।’

तर यति खतराकाबिच पनि आफूहरूले चाहेर पनि रुख काट्न नसकिने उनले जनाए। ‘यो सल्लाघारीको वन क्षेत्र नेपाली सेनाको अधीनमा छ,’ उनले भने, ‘नेपाली सेनाको जग्गाधनी पुर्जामा भएको जग्गामा भएका रुख सेनाले काट्न अनुरोध गरी नआएसम्म हामी काट्न सक्दैनौं।’ अर्काको स्वामित्वको जग्गामा रहेका रुखलाई आफूखुसी डिभिजन वन कार्यायलले काट्न नसक्ने उनको भनाइ थियो।

गत साउन ८ गते रुख ढलेर यही क्षेत्रमा तीनजनाको मृत्यु भएको थियो। सडकछेउको व्यस्त सडकको डाँडामा रहेको च्वङा गणेशस्थान सल्लाघारी वन भक्तपुरका रुख ढलेर सडकमा गुडिरहेको सवारीसाधनमाथि बज्रँदा दुई जनाको मृत्यु भएको थियो भने स्कुटरमाथि पनि लाग्दा थप एकजनाको गरी कुल तीन जनाको मृत्यु भएको थियो। दुर्घटनापछि घटनाको जिम्मेवारी कसले लिने भन्ने चर्काे आलोचना भएको थियो।

भक्तपुर नगरपालिका–१ क्षेत्रमा भएका यी रुख समयमै सचेत भएर नकाटेका कारण भक्तपुर नगरपालिकामाथि जिम्मेवारी जानुपर्छ भन्ने कुरा उठेको छ। त्यसपछि नगरपालिकाले रुख काट्ने अधिकार आफूलाई नभएको भन्दै डिभिजन वन कार्यालयले जिम्मा लिनुपर्ने बताएको थियो। तर अहिले डिभिजन वनले पनि आफूहरूले चाहेर पनि रुख काट्न नसक्ने जनाएको छ।

उबेला काठमाडौंबाट भक्तपुर आइरहेको बा२ख ३५८४ नम्बरको मिनीबस र बा ६१प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको थियो। किचेर कुल तीनजनाको मृत्यु र गाडीमा रहेका दुई दर्जन बढी घाइते भएका थिए। घटना दिउँसो १२ बजेतिर भएको थियो। उबेला पनि दुर्घटना भएको अघिल्लो दिन त्यसरी नै ती जंगलका तीन वटा रुख सडकमा बज्रेका थिए। तर त्यतिबेला दुर्घटना भएको थिएन। यति हुँदाहुँदै पनि सम्भावित दुर्घटनाबारे सचेत नहुँदा त्यसको भोलिपल्ट दुर्घटना भई तीन जनाको अनाहकमा ज्यान गएको थियो।  

प्रकाशित: ३ चैत्र २०७९ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App