२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आर्थिक विकासमा इलामको सूर्याेदय नगरपालिका देशकै सर्वाेत्कृष्ट

सूर्याेदय नगरपालिका मेयर रणबहादुर राई (दायाँ) प्रधानमन्त्री पुष्पकमल दाहालबाट सर्वाेत्कृष्ट नगरपालिकाको पुरस्कार ग्रहण गर्दै।

नयाँ अवधारणा र कार्यक्रम सञ्चालनमा चर्चा कमाइरहेको इलामको सूर्याेदय नगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वाेत्कृष्ट घोषित भएको छ।

चालु आर्थिक वर्ष देशभरका २ सय ९३ नगरपालिकामध्ये सूर्याेदयले सर्वाेत्कृष्ट भइ ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो।

नेपाल नगरपालिका संघले सोमबार आयोजित समारोहमा सूर्याेदय नगरलाई अवार्ड प्रदान गरेको छ। काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले सूर्याेदयका मेयर रणबहादुर राईलाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रमाणपत्र हस्तान्तरण गरे।

प्रशासनविद् काशीराज दाहाल नेतृत्वको मूल्यांकन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका ५ क्षेत्रको अध्ययन गरी मूल्यांकन प्रतिवेदन तयार गरेको थियो। तीमध्ये स्थानीय आर्थिक विकासतर्फ सूर्याेदयले देशका सबै नगरपालिकालाई उछिनेको हो।

नगरले सार्वजनिक सेवा सुदृढ गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायी बनाउने प्रयास गरेको मेयर राईले बताए। ‘सूर्योदय नगरपालिका आफ्ना सबै क्षेत्र परिष्कृत गर्दै चौतर्फी विकासको मार्गमा अघि बढेको छ,’ उनले भने, ‘आर्थिक रचना र प्रणालीले मानिसको विधिपद्धति, मानव सम्बन्धमा परिवर्तन ल्याउन सक्छ। हाम्रो नगरले आर्थिक रचना र प्रणालीलाई आफ्नो कार्यप्रवीणता ठानेको छ। आफ्नो विकासको अवधारणाका रूपमा लिएको छ।’

नगरपालिका पुरस्कृत हुनुले आफूहरूको काममा हौसला थपिएको भन्दै मेयर राईले नगरलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दललगायत सबै सरोकारवालालाई धन्यवादसमेत दिएका छन्। उनले परिवर्तन अनुभूत गर्न समय लाग्ने भन्दै सूर्योदयको मार्ग स्पष्ट रहेको र स्पष्ट चित्र देखिन पनि थालेको जनाए।

नगरले नागरिकको गुनासो सुन्न वडा–वडामै ‘गुनासो चौतारी’ कार्यक्रम सञ्चालन गरिरहेको छ। नगरपालिकाको एप्स सञ्चालनमा छ। ठूलो लगानीका दर्जनौं आयोजना सञ्चालन गरिरहेको नगरपालिकाले सामाजिक विकासको क्षेत्रमा गरेका कामले पनि प्रशंसा बटुलिरहेको छ। ‘नगरबासीको चाहना र इच्छालाई अघिकतम् सम्बोधन गर्न, सघन अन्तरसम्बन्धमार्फत विकास गर्न यस्ता धेरैभन्दा धेरै सुझावका औजारसमेत व्यवस्था गरेको छ,’ मेयर राईले भने, ‘हामी निरन्तर नागरिकको सेवामा जुटेका छौं, जुटिरहने छौं।’

प्रकाशित: २९ फाल्गुन २०७९ १३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App