म्याग्दीको बेनी नगरपालिका–१, रत्नचौरवासीले वर्षौंदेखि उपभोग गर्दै आएको खानेपानीको मुहानको विषयलाई लिएर उत्पन्न विवाद चरम उत्कर्षमा पुगेको छ। रत्नेचौरवासीले उपभोग गर्दै आएको बागलुङ नगरपालिका–५ कमेरेस्थित खानेपानीको मुहान बागलुङ नगरपालिका–४, उपल्लाचौरको बजारमा लैजान खोजिएको छ। बागलुङ नगरपालिकाको अगुवाइमा सो खानेपानीको मुहान भत्काइएपछि विवाद चर्किएको हो।
२०२३ सालदेखि खनाराम थापा र उनका परिवारका सदस्यको लिखित अनुमतिमा उपभोग गर्दै आएको खानेपानी रत्नेचौरवासीको सहमतिबिनै ट्यांकी र मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि रत्नेचौरमा करिब एक सातादेखि खानेपानीको आपूर्ति बन्द भएको छ। बागलुङ नगरपालिका–४, उपल्लाचौरमा खानेपानी लैजान रत्नेचौरवासीले उपभोग गर्दै आएको मुहानमा अवरुद्ध गरिएको उपभोक्ता तिलकबहादुर महतले बताए। ‘२०२३ सालदेखि नै जग्गाधनीसँगको लिखित सहमतिमा हामीले कमेरेस्थित मुहानको पानी उपभोग गर्दै आइरहेका छौं। हामीसँग लिखित प्रमाण छ’,महतले भने।
महतका अनुसार २०२३ सालमा कुलो निर्माणमा कमेरे खानेपानीलाई देखाएर संरचना बनाइएको र कुलोबाट लगेको पानी रत्नेचौरवासीले उपभोग गर्दै आएका छन्। ‘रत्नेचौरवासीका लागि खानेपानीको वैकल्पिक स्रोत नै छैन। अहिलेको अवस्थामा सो मुहानबाट बागलुङ नगरपालिका–४ लाई पानी उपलब्ध गराउन सक्ने अवस्था छैन’,महतले भने। उनले विगतका कानुनी नजिर तथा सरकारी निर्णयमा समेत बागलुङ नगरपालिकामा खानेपानीको आवश्यकता परेमा रत्नेचौरवासीलाई प्रतिकूल असर नपर्नेगरी वैकल्पिक स्रोतको खोजी गर्ने सहमति भएको बताए।
खानेपानीको मुहानलाई लिएर यसअगाडि २०६२ सालमासमेत विवाद भएको थियो। विवाद भएपछि विगतका सहमतिलाई नै आधार मानेर अगाडि बढ्ने निर्णय भएको रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले बताए। ‘खानेपानीको संरचना नै भत्काएर सहमतिको वातावरण बिथोल्ने प्रयास भयो। उहाँहरू ( बागलुङ नगरपालिका–४, उपल्लाचौरवासी) लाई आसपासका क्षेत्रमा भएको अन्य मूल प्रयोग गर्न अनुरोध गरेका छौं’,वडाध्यक्ष थापाले भने। कमेरे मुहानको पानी रत्नेचौरका करिब ४ सय घरधुरीले प्रयोग गर्दै आइरहेका छन्। बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले बागलुङमा खानेपानीको समस्या अधिक भएकाले वडा नम्बर ४, उपल्लाचौरवासीका लागि कमेरे मुहानको पानी लैजाने योजना बनाएको बताए। ‘मिलेर पानी प्रयोग गर्ने पक्षमा छौं। वार्ताबाटै टुंगोमा पुग्छौं’,उपमेयर खड्काले भने। उनले नगरपालिकाभित्र पानीको मूल खोजी भइरहेको बताए।
रत्नेचौरवासीले उपभोग गर्दै आएको खानेपानी अवरुद्ध भएपछि शनिबार पानीको मूलमा दुवैतिरका उपभोक्ता भेला भएका थिए। दुवैतर्फका जनप्रतिनिधि र प्रहरीको अगुवाइमा सम्भावित झडप टरेको थियो। रत्नेचौरवासीले आसपासमा प्रशस्तै मूल भए पनि आफूहरूले उपभोग प्रयोग गदैं आइरहेको मूललाई नै कब्जा गर्न खोजिएको बताएका छन्। बागलुङवासीले कमेरे मुहानको पानी ४२ प्रतिशत बागलुङलाई र ५८ प्रतिशत रत्नेचौरवासीलाई हुनेगरी सहमति गर्न तयार रहेको बताएका छन्। बेनी नगरपालिका प्रमुख सुरत केसीले पछिल्लो बैठकमा मौखिक छलफल भएको र फेरि बस्ने सहमति भएको बताए। उनले रत्नेचौरवासीका लागि मूलको अर्को विकल्प नभएकाले कमेरेको मुहानमा आश्रित हुनुपरेको बताए। बागलुङ नगरपालिकाले कमेरे मुहानको विवाद टुंगो नलाग्दै त्यहाँको पानी लैजना चालु आर्थिक वर्षमा ५० लाख विनियोजन गरी काम अगाडि बढाएपछि विवाद उत्पन्न भएको हो।
प्रकाशित: २९ फाल्गुन २०७९ ०१:०० सोमबार





