जातीय पहिचानसहित कोशी प्रदेशको पुनः नामाकरण गर्न माग राख्दै विभिन्न जातीय समूहले आइतबार आह्वान गरेको आम हड्तालका कारण पूर्वका १४ जिल्ला ठप्प भए।

सुनसरी धरानबाट चल्ने लामो र छोटो दुरीका यातायातका साधन बिहानैदेखि ठप्प भए। इटहरीमा बिहान बजार बन्द गराउँदै हिँडेका बन्दकर्ता र स्थानीयबीच सामान्य विवाद हुन पुग्यो। स्थानीयवासीले बन्द गर्न प्रोत्साहित गर्न नहुने बताएपछि बन्दकर्तासँग विवाद भएको हो। इटहरी बजार भने दिउँसो देखि खुल्यो। इनरुवामा बन्दको आंशिक प्रभाव पर्यो। विराटनगरबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेनन्।
झापाको विभिन्न स्थानबाट प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिएर साँझतिर छाडेको जिल्ला प्रहरी झापा प्रमुख एसपी दुर्गाराज रेग्मीले बताए। प्रहरीले बिर्तामोड, काँकडभिट्टा, दमक, चारआली लगायतका स्थानबाट बन्दकर्तालाई पक्राउ गरेको थियो। शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेको संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गरी भर्त्सना गरेको छ।
आम हडतालका कारण अधिकतर शैक्षिक संस्था बन्द भए। कोशी प्रदेशका केही साना सवारी साधन र मोटरसाइकल भने चलेका थिए। कोशी प्रदेश नामाकरणको निर्णयप्रति असन्तुष्टि जनाउँदै पूर्वका जातीय समूह संगठीत भएर आइतबार आमहड्तालको आह्वान गरेका हुन्।

विगतमा किरात, लिम्बुवान, कोचिला लगायतका राज्य माग गरेर थुप्रै सडक आन्दोलन भएका थिए। आन्दोलनको मर्म विपरीत र ऐतिहासिक आधारमा उठाएको राजनीतिक आन्दोलनका विपरीत कोशी प्रदेश नामाकरण गरिएकोमा १३ वटा जातीय समूहले आन्दोलनको सुरुवात आमहड्तालबाट गरेका हुन्।
किरात राई यायोक्खा, नेपाल शेर्पा संघ, नेपाल आदिवासी जनजाति मासंघ, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लिम्बुवान पार्टी, किरात मोर्चा, लोसपा लिम्बुवान राष्ट्रिय समिति, समाजवादी किरात संघलगायतले चैत ५ गतेसम्मका आन्दोलनका कार्यक्रम घोषण गरेका छन्। जसमा चैत ५ गते विराटनगरमा विशाल जनप्रदर्शन गर्ने भएका छन्।
यसैबीच, प्रदेश नं. १ को नाम कोशी राखिएको विरोधमा विभिन्न जातीय संघसंस्थाहरुले काठमाडौंमा पनि प्रदर्शन गरेका छन्।

प्रदेश नं. १ को कोशी नाम खारेज गर्नुपर्ने र पहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने भन्दै लिम्बुवान किरात संयुक्त संघर्ष समिति, किरात राई यायोक्खा, नेपाल मगर, शेर्पालुङ राष्ट्रिय समन्वय समिति लगायतले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। जातीय पहिचान झल्किने गरी प्रदेश नं. १ को नामकरण हुनुपर्ने उनीहरूको माग छ।
प्रदर्शनमा सहभागीहरूले ‘प्रदेश १ को नाम किराँत, लिम्बुवान शेर्पालुङ नामाकरण गर, पहिचानवादीहरू एक होऔँ’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
यही फागुन १७ गते बसेको प्रदेश सभा बैठकबाट प्रदेश १ को नामकरण कोशी प्रदेश राख्ने निर्णय गरेको थियो।
प्रकाशित: २८ फाल्गुन २०७९ १३:०९ आइतबार





