७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

पाथीभरा याङ्वरक गाउँपालिकाद्वारा उत्कृष्ट कृषकलाई सम्मान

सुरक्षित आर्थिक जीवनको खोजीमा लामो समयसम्म बैदेशिक रोजगारीमा बिताएका ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङका सन्तोष खिम्दिङको वैदेशिक बसाई लोभलाग्दो रहन सकेन। आर्थिक अवस्था सुधारका लागि परदेशमा उनले खुबै पसिना बगाए। तर जहिल्यै आर्थिक बेचैन कायम रहयो। उनी नेपाल फर्किए। गाउँमै बसेर कृषि पेशालाई व्यावसायिक बनाउने योजनामा उनले टमाटर खेति गरे। 

उत्पादन गजव भएपनि उपयुक्त बजारको अभावमा उनी भनेजति आर्थिक उर्पाजन गर्नबाट चुके। उनको मनमा कसरी आफू व्यावसायिक बन्ने भन्ने धोको मात्र पलाईरहयो। प्रविधि,प्राविधिक उपकरण र अन्य न्यूनतम् ज्ञान बेगर कृषिकर्म पनि अनुपयुक्त रहेको उनको निश्कर्षलाई तत्कालिन जिल्ला कृषि विकास कार्यालयले साथ दियो। त्यहिँबाट उनले प्रेरणा र कृषिकर्मको प्रारम्भिक ज्ञानपनि लिए। अहिले उनी यहिँ कृषि कर्मबाट मनग्गे कमाई गरिरहेका छन्। ‘कृषि पेशालाई व्यावसायिक बनाउन यस्ता हौसलाले हामीलाई अझै प्रेरित गर्ने रहेछ’गाउँपालिकाको छैटौं स्थापना दिवसको अवसरमा पाथीभरा गाउँपालिकाले दिएको ५० हजार राशी सहितको सम्मान थाप्दै उनले भने।  

अघिल्लो वर्ष उनले कृषि पेशाबाटै १० लाख रुपैंया आम्दानी लिएको बताएका छन्। सोहि गाउँपालिका वडा नं ६ थुम्बेदिनका गणेश घिमिरे कमाईका लागि बैदेशिक रोजगारीतर्फ लाग्ने योजनामा थिए। आफ्नै घर वरिपरि रहेको जमिनमा तरकारी खेति लगाउने र पशुपालन समेत गर्ने मनमा उब्जिएको योजनाले उनलाई परदेश जानबाट रोक्यो ।‘गणेश जी जस्तो मान्छे पनि परदेशिनु पर्ने? भनेर सामाजिक सञ्जालमा लेखेको भेटें,मैले उहाँलाई यहिँ रहेर कृषि पेशालाई व्यावसायिक र आर्थिक उर्पाजनको माध्यम बन्न सुझाएँ’गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले भने।  

कृषि र पशुपालनलाई व्यावसायिक रुपमा एकसाथ अघि बढाएर आर्थिक आम्दानीको माध्यम बनाउन चाहनेहरुलाई गाउँपालिकाले प्रोत्साहन मात्र नभएर प्रेरणा समेत प्रदान गर्ने अध्यक्ष सुब्बाले सुनाए। गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ कृषि र पशुपालनको बलियो सम्भावना रहेको पालिका क्षेत्रका बासिन्दालाई कमाईका लागि बिदेशिन नपर्नेगरी गाउँपालिकाले व्यावसायिक आधार सृजना गर्ने योजना बनाई रहेको बताउँछिन्।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलाले अनुसार कृषि पेशालाई व्यावसायिक र जिम्मेवारीपूर्ण बनाउँदै लैजाने अभियानको प्रारम्भ गरेको बताए। त्यसका लागि गाउँपालिका भरीका उत्कृष्ट ४ कृषकलाई पालिकाको स्थापना दिवसको अवसरमा सम्मानित गरी कृषिकर्मका लागेकाहरुलाई उत्कृष्टताको आधारमा प्रोत्साहित गर्ने अभियान सुरु भएको छ। यसबाहेक गाउँपालिकाले निर्वाहमुखी कृषि पेशालाई व्यावसायिककरण गर्दै आम्दानीको बलियो स्रोत बनाउने अभियानमा रहेकाहरुलाई सीप,प्रविधि र बीउबिजनमा सहयोग गर्ने पालिकाको योजना रहेको पालिका अध्यक्ष सुब्बाले जानकारी दिए।  

खिम्दिङ र घिमिरेसहित गाउँपालिकाले वडा नं ३ तिरिङ्गेका श्रीप्रसाद ईजम र वडा नं १ नाङखोल्याङका सन्तोष तामाङलाई जनही नगद ५० हजार रुपैंयाका साथ सम्मानित गरेको छ। गाउँपालिकाको कृषि शाखा प्रमुख निकेश भट्टराई कृषि पेशालाई व्यावसायिकरण गर्दै लैजाने पालिकाका कृषकहरु पालिकाको आर्थिक स्रोत बलियो बनाउने माध्यमको रुपमा रहने बताउँछन्।  

सम्भावना रहेको क्षेत्रमा गरिएको लगानीको उचित उपयोग गरियो भने त्यसले नतिजा पनि राम्रो दिने रहेछ भन्ने मेसो पाएपछि गाउँपालिकाले कृषि र पशुपालनतर्फ लगानी र मेहनेत लगाउन थालेको पालिका अध्यक्ष सुब्बाले बताए। गाउँपालिकाले लेखा व्यवस्थापनमा उल्लेखनीय योगदान दिएको भन्दै सहलेखापाल शम्भु श्रेष्ठलाई नगद ५० हजार र उत्कृष्ट कार्य सम्पादन गर्ने थेचम्बु स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी नारायणप्रसाद पौडेलाई नगद ३० हजार रुपैयाँ सहित सम्मानित गरेको छ।  

प्रकाशित: २८ फाल्गुन २०७९ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App