२ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

रित्तिदै ऐतिहासिक महत्वको राजकाँडा

राजकाँडा क्षेत्र । तस्विर योगेश रावल

ऐतिहासिक महत्व बोकेको कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडामा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेपनि त्यहाँको रैथाने बस्ती रित्तिने क्रम पनि उत्तिकै बढेको छ।  

कुनैबेला साढे चार सयको हाराहारीमा घरधुरी रहेको राजकाँडा क्षेत्रका कोलगडा, गैरीगाउँ, मेलडाँडा, घट्टेगाउँ, लामागडा, लोसे र धुलिकोटमा अहिल ेमुस्किलले ४०/४५ घर मात्रै छन । ती घरधनीहरु समेत दोहोरो बसोबास भएका व्यक्ति हुन । उनीहरुको कैलालीका लम्कीचुहा नगरपालिका लगायतका ठाउँमा समेत बसोबास छ ।  

वि.सं. २०२८ सालमा सात वर्षको उमेरमा दैलेखबाट अभिभावकसँगै राजकाँडा पुगेका ६२ वर्षका अमरसिँह बुढा घर कुरेर बसेका छन । उनका तीन जना छोराहरु लम्कीचुहा नगरपालिकामा बसोबास गर्छन । उनले माया मार्न नसकेर ठाउँ नछोडेको बताए ।  

‘जीवन यही ठाउँमा बित्यो छोडेर जान मनले मान्दैन’ उनले भने –‘अभावै अभावले घेरिएको यो ठाउँमा बस्ने मन त थिएन ।’

राजकाँडामा विद्युत छैन, पिउने पानी छैन, स्वास्थ्य उपचार गर्ने स्वास्थ्य संस्था छैन, शिक्षा आर्जनका लागि गतिलो विद्यालय छैन, सहजै पुग्ने मोटर बाटो छैन । त्यहाँका बासिन्दा वर्षौदेखी थुप्रै समस्यासँग लडिरहेका छन।  

स्थानीय शेरबहादुर खड्का अकालमा ज्यान गुमाउनु पर्ने वाध्यताबाट मुक्ति पाउन स्थानीय बसाई सरेको बताउँछन । उनले सामान्य बिरामी हुँदा समेत स्थानीयले उपचार पाउन नसकेको दुःखेसो पोखे । ‘कोही बिरामी भए उपचार पाईदैन’ उनले भने –‘बोकेर तराई झर्नु पर्छ । समयमा स्वास्थ्य संस्थामा पुर्याउन नसके बाटैमा ज्यान जान्छ । अनि यस्तो ठाउँमा कसरी बस्नु ।’

खानेपानीको समस्या समाधानका लागि स्थानीयले गत दुई वर्षअघि घट्टेखोलाबाट सोलार मार्फत माथि डाँडामा पानी तानेका छन । त्यही पानी ठ्यांकीमा जम्मा गरेर घरघरसम्म पुर्याईएको छ । त्यो पनि विगत आठ महिनासम्म सोलार बिग्रेर ठप्प भयो । दुई महिना यता मर्मत सम्भार पछि पानी साँझ बिहान घरसम्म पुग्न थालेको स्थानीय मीनबहादुर बोहराले जानकारी दिए ।‘फेरी कहिले बिग्रिने हो थाहा छैन’ उनले भने –‘पिउने पानी नपाएर कैयौं रात प्यासै बिताउनु परेको छ ।’

राजकाँडामा बाक्लो बस्ती हुँदा जाल्पा निम्न माध्यमिक विद्यालय कक्षा ८ सम्म चलेको थियो । स्थानीय नैनसिँह थापाका अनुसार विद्यालयमा पढ्ने विद्यार्थीको संख्या पनि राम्र्रै थियो । एकाएक बस्ती रित्तिदै गएपछि विद्यालयमा विद्यार्थीको संख्या पनि न्यून भयो । कक्षा ८ सम्म अध्यापन हुने विद्यालयलाई विद्यार्थी अभाव भएपछि कक्षा ५ मा झारिएको छ । अहिले विद्यालयमा २२ जना विद्यार्थी मात्रै छन ।विद्यालय प्रति स्थानीयले चाँसो दिन छोडेका छन । ‘ती विद्यार्थी पनि कहिले विद्यालय जान्छन, कहिले जाँदैनन्’ उनले भने–‘गाउँमा बचेका बालबालिकाले समेत राम्ररी पढ्न पाएका छैनन्।’

राजकाँडाका बासिन्दाको बसाई सर्नुको एक अर्को कारण संघीयता पनि हो। पहिले यो ठाउँ साविक सुगरखाल गाविसमा पथ्र्यो । गाविसको केन्द्र नजिकै थियो । उनीहरुलाई कामकाजका लागि धेरै टाढा जान पर्दैन थियो। कैलालीका पहाडी गाविस मध्ये सुगरखाल लगायतलाई समेटेर मोहन्याल गाउँपालिका बनाईयो। गाउँपालिकाको केन्द्र कुन ठाउँ राख्ने अझै निश्चित छैन । गाउँपालिकाका कर्मचारीहरुको झोलाबाटै कामकाज हुन्छ। कर्मचारी कहिले धनगढी भेटिन्छन भने कहिले सुखड लगायतका ठाउँमा भेटिन्छन । कहिले काँही मोहन्यालबासीले खोजेर पनि कर्मचारी भेटाउन सक्दैनन्।  

कामकाजका लागि गाउँपालिकाका कर्मचारी खोज्दै हिँड्नु भन्दा अर्को पालिकामा बसाई सर्नु उचित ठानेर राजकाँडा रित्तिएको स्थानीय बताउँछन।  

उत्तरमध्यकालमा अस्तित्वमा रहेको धुलिकोट राज्यको मुकाम राजकाँडामा तत्कालिन समयमा राज परिवार बाहेक अरु कुन जातजातिको बसोबास थियो भन्ने बारेमा स्पष्ट छैन।धुलिकोट राज्यका बारेमा अध्ययन गरेका इतिहासकार प्रा.डा. राजाराम सुवेदीले राजकाँडामा मात्रै कुन जातजातिको बसोबास थियो भन्ने उल्लेख गरेका छैनन्। उनले धुलिकोट राज्यमा भने खस, मगर र थारु जातिको बाहुल्यता रहेको उल्लेख गरेका छन। खस अन्र्तगत सावद, मलाहा, बुढा, चलाउने, जप्रेल, सामन्त, रावल, मुढभरी, घोडासैनी, बझगाई र निरौला लगायत छन। उनका अनुसार कालान्तरमा आले, मास्की, सिजा, गुरुङ जाति पनि थपिएका थिए ।

स्थानीयका अनुसार राजकाँडामा मगर र राजी जातिको बसोबास थियो। दैलेख, सुर्खेत, सल्यान लगायतका जिल्लाबाट अन्य जातिका मानिसहरु बसाई सरेर आएपछि मगर र राजी जाति विस्थापित भएको देखिन्छ। उनीहरु मध्ये मगर कैलालीको साविक पथरैया गाविसका विभिन्न ठाउँमा बसाई सरेको स्थानीयले बताए । त्यस्तै राजी जाति कैलाली र बर्दियाको सिमा हुँदै बग्ने कर्णाली नदी आसपासका बस्तीमा बसाई सरेको पाईन्छ।  

राजकाँडामा पहिलो पटक वि.सं. २०२१ र दोस्रो पटक वि.सं. २०३६ सालमा नापी भएको थियो ।जग्गा नापी हुन थाले पछि पहाडी जिल्लाबाट मानिसहरु राजकाँडा बसाई सरेको पाईन्छ। पहाडी जिल्लाबाट त्यसरी बसाई सरेर आएकाहरु समेत त्यहाँबाट बसाई सरेपछि यतिबेला राजकाँडा रित्तो हुन थालेको छ।  

प्रकाशित: २७ फाल्गुन २०७९ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App