१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भित्तेपात्रो प्रकाशन गर्न पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति लिनुपर्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भित्तेपात्रो प्रकाशन गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।

स्वीकृति नलिई प्रकाशित हुने भित्तेपात्रोलाई समितिको गठन आदेश २०७७ बमोजिम कानुनी कारबाही गरिने भएकाले अनिवार्य रूपमा स्वीकृति लिन आग्रह गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए।

मन्त्रिपरिषद्ले २०७७ साल पुस २० गते समितिको गठन आदेश स्वीकृत गर्दै पात्रो र भित्तेपात्रो प्रकाशन गर्नुअघि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो।

स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोले तिथिमिति, चाडपर्व लगायत विषयमा आफूखुसी व्यहोरा उल्लेख गरी समाजमा भ्रम पैदा गर्ने गरेकाले यस्तो व्यवस्था गरिएको समितिले जनाएको छ। २०७७ सालमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको गठन आदेश २०७८ साल असारमा नेपाल राजपत्रमा प्रकाशन भएपछि २०७९ सालदेखि पात्रो र भित्तेपात्रोका लागि अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको हो।

२०७९सालमा स्वीकृति नलिएको पात्रो र भित्तेपात्रोलाई पनि यस वर्षदेखि अनिवार्य रूपमा स्वीकृति लिन समितिले आग्रह गरेकाले यस वर्षदेखि भने स्वीकृति नलिने पात्रो र भित्तेपात्रोका सञ्चालकलाई कार्यविधि बनाएर नै कारबाही गर्ने तयारी समितिले गरेको अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए।

सामुदायिक कामका लागि प्रकाशन गरिने भित्तेपात्रोले भने स्वीकृतिका लागि दुई हजार रुपैयाँको रसिद काटेर स्वीकृति लिनसक्ने भएका छन्। विद्यालय, क्याम्पस, सामुदायिक प्रहरी, सामुदायिक अस्पताल लगायत सामुदायिक काम गर्ने संस्थाले दुई हजार रुपैयाँको रसिद काट्नुपर्ने उनले बताए।

भित्तेपात्रो स्वीकृतिका लागि अनलाइनबाट फाराम भरेर इसेवामार्फत शुल्क तिरी स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ। व्यापारिक प्रयोजनका भित्तेपात्रोले १० हजार रुपैयाँ, व्यापारिक प्रयोजन नभए मूल्य नराखी प्रकाशन गरिने अन्य भित्तेपात्रोले भने पाँच हजार रुपैयाँको रसिद काट्नुपर्ने व्यवस्था समितिले गरेको छ। रासस

प्रकाशित: २५ फाल्गुन २०७९ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App