१३ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

भान्सामा सिकेको 'सिप' ले 'व्यवसायी'

सानै देखी केही गरौँ भन्ने हुटहुटी लिने झापा बुद्धशान्तिकी विनिता पौडेल यति बेला अचार बनाउन व्यस्त छिन्। डिमाण्ड र सिजन हेरी कमाई पनि राम्रै हुन्छ।

तर हरपल उनलाई एउटै प्रश्नले दिक्क लगाउँछ, 'तपाईँले पनि अचार बनाएर बेच्नुपर्छ र?'

विनिता बुद्धशान्ति गाउँपालिकाका पूर्व प्रमुख रमेशकुमार भुजेलकी श्रीमती हुन् तर ऊनी आफ्नै अलग पहिचान बनाउन उद्दीप्त छिन्। लकडाउन अघि उनी जग्गा सम्बन्धी कारोबार गर्थिन। कोरोनाले घर-जग्गाको कारोबार ठप्प भयो। फुर्सदको त्यही बेलामा काठमाडौँमा रहेका आफन्त र साथीहरूले अकबरे खुर्सानीको माग गरेपछि उनले पहिलो पटक ५ किलो खुर्सानीको अचार बनाइन।

उनले त्यति बेलै थाहा पाइन् कि आफ्नो सोखले त आय आर्जन गर्न पनि सजिलो हुने रहेछ। त्यही ५ किलो अचारबाट उनको उद्धमशिलताको सुरुवात भयो। अहिले महिनामा औसत १२ देखी १५ सय बट्टा अचार उत्पादन गरिरहेकी विनिताले तालिम भने लिएकी छैनन्। मात्रा मिलाउन भने उनले झापा शनिस्चरेकै अचार उद्योगमा सिकेकी हुन्।

उनले आफ्नो अचार उत्पादनलाई घरेलु उद्योगको रूपमा दर्ता गरेकी छिन्। अचारका लागी आवश्यक कच्चा पदार्थको जोहो गर्ने देखी बजारसम्म पुर्‍याउन बिनिता आफैँ लाग्छिन्। अहिले उनले बनाएको 'बिएण्डबि' अचार पूर्वी जिल्लाका अधिकांश मार्टमा भेटिन्छन्। काठमाडौँ पोखरा र विदेशसम्म अचार पठाए पनि विनितालाई अचारको प्याकेजिङमा भने अलि समस्या छ। 

भान्छासम्म पुर्‍याउन अचारलाई व्यवस्थित रूपमा प्याक गर्नुपर्ने हुन्छ तर नेपालमा त्यस्ता मेसिनहरू महँगो हुँदा भने जसरी व्यवसाय गर्न नसकिएको उनको भनाई छ।

'आत्मनिर्भर बन्न अचार उद्योग एउटा सजिलो उपाय हो तर मिहिनेत गर्न सक्नुपर्‍यो' उनी भन्छिन् 'समस्या त हरेक क्षेत्रमा छन् नि अरू त अरू काम गरेकोमा पनि धेरैले समस्या देखाउँछन्, किन काम गर्नुपर्यो? भन्छन्।' उनले गुनासो गरिन।

मनोरोगी भएर घरमा बस्नु भन्दा केही काम गर्नपाए शरीर पनि फुर्ती हुने र दुई चार पैसा पनि हात लाग्ने बिनिता बत्ताउँछिन्।

'कहिले तालिम लिएको पनि होइन, सिकेको पनि होइन, भान्सामा गरिरहेको काम अलि धेरै गरेको मात्रै हो व्यस्त पनि भइयो पैसा पनि कमाई हुने।' आफूले रोजेको व्यवसाय प्रति खुसी छिन् बिनिता।

अहिले उनको उद्योगमा आँप, अमला, लसुन, अदुवा, मुला, खुर्सानी, अकबरे–खुर्सानी, अकबरे–तामा, मिक्स, कागती दाना, मेथी, करेला लगायतका विभिन्न स्वादका अचार छन्।उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, बासको तामा, टिमुर, लसुन, करेला लगायतका सामान शान्तिनगर, इलाम र स्थानीय बुधबारे बजारबाट ल्याउने गरेको उनले बत्ताइन।

उनका अनुसार ग्राहकको मुख्य रोजाइ मिक्स अचार हुने गरेको छ। आधा किलोसम्मको मिक्स अचारलाई १ सय ५० पर्ने गरेको छ। सबैभन्दा बढी मूल्यको अचार अकबरे खुर्सानीको छ। चार सय ग्रामसम्मको अकबरे खुर्सानीको मूल्य दुई सय ५० सम्म पर्छ।

यसरी घरमा रहरले गर्ने गरेको कामले उनलाई उद्यमी बनाएको छ। तर बारम्बार प्रश्न गरिरहने मानिसहरू अहिले पनि प्रश्न गरिरहन्छन्। 'तपाईँले पनि अचार बेच्ने हो त?'

प्रकाशित: २४ फाल्गुन २०७९ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App