coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आरए–४१६ मा भएको ‘दुर्व्यवहार’को अन्तर्य

नेपाल वायुसेवा निगमका पाइलट र परिचारिकाबीच कम्तीमा सात महिनादेखि चलिरहेको विवादको पहरो सतहमा आएको छ। भित्रभित्रै गुम्सिएर रहेको विवाद नागरिक उड्डयन प्राधिकरणले जारी गरेको एक सूचनाले सतहमा ल्याएको हो।

प्राधिकरणले फागुन १२ गते ट्विटरमार्फत ‘नेपाल वायुसेवा निगममा कार्यरत पाइलटले परिचारिका(एयरहोस्टेस)माथि गैरव्यावसायिक कार्य र दुर्व्यवहार गरेको विषयमाथि प्राधिकरणको गम्भीर ध्यानाकर्षण भई आवश्यक कारबाही गर्ने क्रममा उडानमा रहेका चालक दलका सम्पूर्ण सक्रिय सदस्यलाई तत्काल उडानमा रोक लगाएको’ सूचना सार्वजनिक गरेको थियो। उक्त सूचना अनुसार घटना सात महिनाअघि साउन १२ गतेको हो। मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउने क्रममा निगमको उडान संख्या आरए–४१६ को जहाजमा उक्त घटना भएको सूचनामा उल्लेख छ।

यसरी प्राधिकरणले चल्दै गरेको जहाजमा पाइलटले परिचारिकामाथि ‘गैरव्यावसायिक कार्य र दुर्व्यवहार’ गरेको सूचना जारीगरेसँगै त्यसबारे व्यापक जनचासो बढेको छ। त्यसमा पनि लगातार नेपाली आकाशमा हवाई दुर्घटना भइरहँदा जसबारे अन्तर्राष्ट्रिय चासो बढिरहेको अवस्थामा राष्ट्रिय ध्वजावहाक कम्पनीकै जहाजभित्र यस्तो अवस्था भएको भनिएपछि स्वाभाविक रूपमा जनचासो उत्कर्षमा छ।

यता प्राधिकरणले उक्त सूचना जारी गरेसँगै निमगले उक्त जहाजका चालक दलका सम्पूर्ण सदस्यलाई उडानमा रोक लगाएको छ। सात महिनासम्म गुपचुप राखिएको विवादमाथि अहिले आएर छानबिन पनि थालिएको छ। निगम स्रोतका अनुसार निगमका उपप्रबन्ध निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा छानबिन समिति बनाएर छानबिन भइरहेको छ ।

आरए–४१६ के भएको थियो?

निगमको उडान नम्बर आरए–४१६ जहाज १५८ यात्रु बोकेर साउन ११ गते क्वालालम्पुर गएको थियो। रात्रिकालीन उडान(अड आवर) हुने भएकाले उक्त उडानमा चारजना पाइलट पठाइएका थिए। जाँदा क्याप्टेन मुकेशकुमार गुप्ता र कोपाइलट राज रौनियार थिए भने फर्किदा क्याप्टेन अरविन्दराज पहारी र कोपाइलट लालबहादुर थकाली थिए।

यस्तै क्याबिन क्रु (परिचारिका) तर्फ ६ जना थिए। जसको नेतृत्व वरिष्ठ विमान परिचारिका(आइएफएस) आरती महर्जनले गरेकी थिइन्। अन्य सदस्यहरूमा जरिना श्रेष्ठ, प्रिया बस्नेत र दीपिका कुइँकेल थिए। यस्तै पर्सर निकेश महर्जन पनि चालक दलमा थिए।

उक्त जहाज साउन १२ गते क्वालालम्पुरबाट काठमाडौं उड्ने सेड्युल थियो। सेड्युलअनुसार चालकदलले उडानको तयारी थाल्यो, क्रु मेम्बरहरू पनि आ–आफ्नो जिम्मेवारीमा खटिएका थिए। सोहीबेला क्याप्टेन पहारीले आइएफएस महर्जनलाई ‘ए–१’(अर्को परिचारिका)लाई ककपिटमा पठाउन निर्देशन दिए। महर्जनले निर्देशन अनुसार आफूभन्दा जुनियर विमान परिचारिका (प्रिया बस्नेत)लाई ककपिटमा पठाइन्। बस्नेतसँग पहारीले उडानको अवधिमा आइएफएसको सम्पूर्ण जिम्मेवारी आफू लिएर काम गर्न अह्राए। आइएफएस महर्जनलाई ककपिटमा कुनै सम्पर्क नगर्न भनेर ब्रिफिङ गरेर पठाए। सोही कुरा उनले आइएफएस महर्जनलाई भनिन्।

महर्जनले तत्काल कुनै प्रतिक्रिया जनाइनन्। ‘मैले त्यहाँ प्रतिक्रिया जनाउँदा झगडा हुनसक्थ्यो। जुन विमान सुरक्षाका लागि प्रतिकूल हुनसक्थ्यो,’ आइएफएस महर्जनले भनिन्, ‘त्यसैले क्याप्टेनको निर्देशन अनुसार मैले कुनै प्रतिक्रिया नजनाएर बसे ।’ त्यसपछि त्यहाँबाट आएर मौखिक रूपमा परिचारिकाको व्यवस्थापन हेर्ने निकाय ‘क्याविन क्रु डिभिजन’का उपनिर्देशक विजय लामालाई जानकारी दिएको उनी बताउँछिन्।

क्याप्टेन पहारीबाट गरिएको त्यो व्यवहार आफूमाथिको दुर्व्यवहार नै रहेको आइएफएस महर्जनले बताइन्। ‘उडानको रोस्टर बनाउँदा पाइलटको अपरेसन डिभिजनले बनाउँछ, परिचारिकाको क्याबिन क्रु डिभिजनबाट हुन्छ। त्यहाँबाट जिम्मेवारी लिएर आएकी आइएफएसलाई कार्यस्थलमा काम गर्नबाट वञ्चित गरिनु, अपमानजनक ढंगले उसको काम खोसेर कनिष्ठलाई दिनु सरासर दुर्व्यवहार र गैरव्यावासायिक काम हो,’ उनले भनिन्, ‘मलाई यही दुर्व्यवहार भएपछि सबैभन्दा पहिला आएर क्याविन क्रु डिभिजनमा मौखिक जानकारी दिएकी हुँ ।’

पाइलटलाई आफूसँग उडान गर्न चाहना नभए रोस्टर सार्वजनिक हुँदा रोस्टर डिभिजनमा लिखित रूपमा दिनसकिने भएपनि क्याप्टेन पहारीले आफूलाई क्वालालम्पुर पुगेपछि हठात् अपमानजनक रूपमा काम गर्नबाट वञ्चित गरिएको उनले बताइन्।

क्याप्टेन पहारीले पनि क्वालालम्पुरबाट फर्किदाँ आफूले उडान समयमा आइएफएस महर्जनलाई ‘ककपिट’सँग सम्पर्क नगरेर ‘ए–१’को जिम्मेवारीमा रहेकी अर्की परिचारिकालाई अह्राएको स्वीकार गरे। ‘जहाज पाइलट इन कमान्डमा हुन्छ। मैले सोही अधिकार प्रयोग गरेर निर्णय लिएको हुँ। उडानको नेतृत्व मेरो हातमा हुने भएकाले सुरक्षा पनि मेरो सुरक्षासँग जोडिन्छ,’ नागरिकसँगको कुराकानीमा पहारीले भने, ‘मप्रति उहाँ(आइएफएस महर्जन)को धारणा नकारात्मक थियो। त्यसकारण मैले असहज महसुस गरेर अर्कोलाई जिम्मेवारी दिएको हुँ ।’ त्यो दुर्व्यवहार नभई हवाई सुरक्षाको दृष्टिकोणबाट चालिएको कदम मात्रै भएको उनले बताए।

यस्तै क्याप्टेन पहारीले त्यसअघि मौखिक रूपमा अपरेसन डिभिजन, क्याविन क्रु डिभिजन र रोस्टर डिभिजनमा आइएफएस महर्जनलाई आफूसँगै उडानमा नराख्न आग्रह गरेको दाबी गरे। उनले भने, ‘मैले पटकपटक मौखिक रूपमा भनेको थिए। व्यवस्थापनबाट आग्रह मानिएन्, मैले थप रिस्क लिन चाहिन्। त्यसैले त्यो कदम लिनुप¥यो। त्यसपछि लिखित नै दिने गरेको छु।’

उता अपरेसन डिभिजन प्रमुख क्याप्टेन रविन्द्रकुमार शेरचन र क्याविन क्रु डिभिजन प्रमुख सुमिलि सुब्बा ज्वार्चनले यस विषयमा अहिले छानबिन भइरहेको भन्दै बोल्न चाहेनन्।

पहारी–महर्जन टकराव, कारण अर्कै उडान

क्याप्टेन पहारीले आइएफएस महर्जन आफूसँग नकारात्मक रहेकाले सँगै उडान गर्नसक्ने मनस्थिति नभएपछि उक्त दिन अर्कोलाई जिम्मेवारी दिएको बताउँदै आएका छन्। आइएफएस महर्जन किन तपाईंसँग नकारात्मक? भन्ने प्रश्नमा स्वयं पहारीले त्यसअघिको अर्को उडान कारण रहेको स्वीकार गरे। उता महर्जन पनि सोही उडानको विवादमा आफू बोलेकै कारण क्याप्टेन पहारीले प्रतिशोध साँधेको बताउँछिन्।

दुवैले कारण देखाएको उडान १३ मार्च २०२२ को हो। निगमकै उडान नम्बर २३० को जहाज अन्तर्राष्ट्रिय उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुँदा क्याप्टेन पहारीले नै नेतृत्व गरेका थिए।

उक्त उडान अवतरणका क्रममा ढोकाको जिम्मेवारी पाएकी एक जुनियर परिचारिकालाई ककपिटमा राखेर अवतरण गराइएको क्याप्टेन पहारीमाथि आरोप लागेको थियो। उक्त उडानमा रहेकी आइएफएसले सोहीदिन लिखित रूपमै क्याविन क्रु डिभिजन चिफलाई उक्त विषयको लिखित जानकारी गराएकी थिइन्। त्यसपछि उक्त विषयले निगमभित्र हलचल मच्चाएको थियो। सो विषयमा निगम व्यवस्थापनले चालक दलका सदस्यहरूसँग लिखित बयान लिएपनि कुनै पनि कारबाही गरेन। तर, ती जुनियर परिचारिकाले भने जागिर छाडेको स्रोत बताउँछ।

उक्त विषयलाई अतिरञ्जित गरिएको क्याप्टेन पहारीको दाबी छ। ‘त्यो कुनै ठूलो विषय नै होइन। जुनियर क्याविन क्रु मेम्बरले सिक्न चाहँदा ककपिटमा राखेर इन्ट्रक्सन दिइन्छ/दिन पाइन्छ,’ उनले भने, ‘संसारभर र नेपालकै पुराना क्याप्टेनहरूले गर्दै आएको अभ्यास हो।’

उता निगमकै एक आइएफएसका अनुसार अवतरण गर्दा जुनियर परिचारिका खटिएकै ठाउँमा हुनुपर्छ। अन्य बेला ककपिट जाँदा पनि आइएफएसको अनुमती लिएर मात्रै जानुपर्छ। उक्त उडानकी आइएफएसले ती परिचारिकाले आफूलाई कुनै जानकारी नदिएर ककपिटमा प्रवेश गरेको पाइएको लिखित सूचना र पछि बयान दिएको देखिन्छ।

यही विषयलाई अतिरञ्चित गरेर आइएफएस महर्जनले आफूमाथि कारवाही किन नगरिएको? किन नहटाएको? भनी चर्को आवाजमा निगम परिसर र अपरेसन डिभिजनमा आवाज उठाएकै कारण आफूमाथि नकारात्मक भाव रहेको पाएको बताए। ‘त्यसरी मेराविरुद्ध बोल्ने, रिस निकाल्नेसँग जहाजभित्रै म कसरी कन्फर्ट महसुस गर्नसक्छु? त्यसैले मैले उहाँसँग उडान नभर्ने भनेको हुँ,’ उनले भने।

उता आइएफएस महर्जनले आफूले त्यसरी क्याप्टेन पहारीको विरोध नगरेको दाबी गरिन्। ‘अनौपचारिक कुराकानीमा अपरेसन डिभिजन प्रमुख(क्याप्टेन शेरचन)सँग त्यो उडान(१३ मार्च २०२२को)का विषयमा कुरा उठ्दा, त्यहाँ त्यसरी क्याविन छिर्ने परिचारिकालाई कारबाही हुनुपर्छ भन्ने आवाज उठेको थियो,’ उनले भनिन्, ‘मैले कारबाही परिचारिकालाई मात्र किन? ककपिटमा राख्ने क्याप्टेन पनि दोषी हो नि। कारबाही भए क्याप्टेन किन छुट्ने भनेकी थिए।’

निगम चुप

यसरी विवादहरू सतहमा आए पनि निगम व्यवस्थापनले त्यसको समाधानका लागि सात महिनासम्म कुनै सुनुवाइ गरेको देखिँदैन। १२ साउनमा मौखिक सूचना दिँदा कुनै सुनुवाइ नभएपछि आइएफएस महर्जनले साउन २७ गते इमेलमार्फत क्याविन क्रु डिभिजनका उपनिर्देशक क्याप्टेन लामालाई लिखित जानकारी गराइन्। उक्त इमेल लामाले निगमकै माथिल्लो अधिकारीलाई पठाएका थिए।

तर, तीन महिनासम्म कुनै सुनुवाइ भएन। त्यसपछि आइएफएस महर्जनले तीन महिनासम्म आफूमाथि भएको दुर्व्यवहारको सुनुवाइ नभएको भन्दै पुस २ गते निगमकै अपरेसन विभागमा लिखित पत्र लेखिन्। सोही पत्र उनले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, निगमकै मानव संशाधन विभाग र हवाई सुरक्षा विभागलाई समेत बोधार्थ दिएकी थिइन्। यसबाहेक तत्कालीन मन्त्री श्रेष्ठ र हालका मन्त्री सुदन किरातीसहितका अन्य सरोकारवालालाई भेटेर समेत जानकारी दिएको उनी बताउँछिन्।

यसरी अपरेसन विभागमा यसरी लामो विवाद हुँदा र त्यसबारे महिनौंसम्म उजुरी परिरहँदा निगम व्यवस्थापनले कुनै सुनुवाइ गरेको देखिँदैन। बरु सुनुवाइको माग गर्दै सूचना दिने आइएफएस महर्जनको करार अवधि थप नगरेर अवकास दियो। त्यसपछि क्याबिन क्रु एसोसियसनले आन्दोलन गर्दा पछि थपेको थियो।

त्यसपछि पछिल्लो समय प्राधिकरणमा उजुरी परेपछि निगमलाई छानविनको दबाब परेको छ। दबाबअनुसार नै छानबिन समिति बनेर काम थालेको छ। तर, छानबिनबारे निगमले भने कुनै प्रतिक्रिया दिन मानेको छैन। उता निगमभित्र अन्य पाइलट र परिचारिकाबीच पनि यस्तै तिक्त सम्बन्ध र निषेधको स्थिति रहेको स्रोत बताउँछ। जसमा पनि निगम व्यवस्थापनले नजरअन्दाज गर्दै आएको छ।

प्रकाशित: २१ फाल्गुन २०७९ ००:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App