९ असार २०८१ आइतबार
image/svg+xml
समाज

सागको मुठाभित्र लागु औषध लुकाएर ल्याउने दुई पक्राउ

सागभित्र लुकाएर ल्याउँदै गरेको लागु औषधसहित पक्राउ युवाहरू।

लागु औषध सेवन, प्रयोग र बेचबिखनका लागि दुर्व्यसनीहरुले विभिन्न माध्यम अपनाएको पाइएको छ। यसै क्रममा उदयपुरका २ युवा विभिन्न किसिमका लागु औषध सागको मुठाभित्र लुकाएर सदरमुकाम भित्र्याउँदै गर्दा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार साँझ उदयपुर र सप्तरीको सीमा त्रियुगा नगरपालिका ६ लालपत्तास्थित प्रहरी चौकीबाट पक्राउ युवाहरूले सागभित्र लुकाएर ल्याउँदै गरेको लागु पदार्थ बरामद भएको हो। साँझ ५ बजेको समयमा मधेस प्रदेशको लाहानबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको अटो टेम्पुमा शङ्का लागी चेकजाँच गर्दा त्रियुगा नगरपालिका १२ का २० वर्षीय रामशंकर कुमार साह र त्रियुगा ३ भुल्केका १८ वर्षीय अमिर भन्ने सजाद अलि पक्राउ परेका हुन्।

पक्राउ युवाहरूले अटोमा प्लास्टिकको झोलामा सागको मुठाभित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ४५ थान (एम्पुल) प्रतिबन्धित लागु औषध फेला परेको प्रहरीले जनाएको छ। सागको मुठाभित्र लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागु औषध फेनार्गन १५ एम्पुल, डँईजोपाम १५ एम्पुल र बुप्रिनारेफिन १५ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए।

उनका अनुसार लालपत्ता चौकीबाट पक्राउ उनीहरूलाई शनिबार जिल्ला प्रहरी कार्यालय गाईघाट ल्याएर अनुसन्धान सुरु भएको छ। उनीहरूमाथि आइतबार कार्यालय समयपछि लागु औषध ऐन अनुसार थप कारबाही अघि बढाउने तयारी भइरहेको डिएसपी पोदारले बताए।

त्यसै गरी शुक्रबारै राति ८ः३० बजे उदयपुरकै कटारी नगरपालिकाबाट प्रतिबन्धित गाँजासहित मधेस प्रदेशका एक युवक पक्राउ परेका छन्। कटारी नगरपालिका १ कालीखोलामा गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सुराकीका आधारमा खटेको प्रहरी चौकी बेलसोतको टोलीले चेकजाँच गर्ने क्रममा सिराहाको मिर्चया नगरपालिका ४ का २२ वर्षीय ललित साह गाँजासहित पक्राउ परेका हुन्। 

प्रदेश २–०१–००१ प १५२६ नम्बरको स्कुटरमा कटारीबाट मिर्चयातर्फ जाँदै गरेका साहलाई रोकी चेकजाँच गर्दा स्कुटरमा लुकाई छिपाई राखेको अवस्थामा २२ किलोग्राम गाँजा बरामद भएको डिएसपी पोदारले बताए।

साहलाई स्कुटर र गाँजासहित पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीमा ल्याएर अनुसन्धान सुरु भएको छ। उनीमाथि पनि लागु औषध ऐन अनुसार कारबाही गर्ने तयारी भइरहेको इप्रका कटारीका प्रमुख डिएसपी रविन कार्कीले बताए।

प्रकाशित: २० फाल्गुन २०७९ १३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App