१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

टुँडिखेल: काठमाडौंको काख

संस्कृति

काठमाडौं तथा नालामा अवस्थित वर्षा तथा सहकालका देवता मानिने हिन्दुबौद्ध धर्मावलम्बीका साझा देवता सेतो मच्छिन्द्रनाथको जात्रा होस् वा महास्नान, यो समयमा काठमाडौंमा बादल लाग्ने तथा पानी पर्ने गर्छ भन्ने मान्यता रहँदै आएको छ। र्कीतिपुर पाँगामा ‘द नेवार’ का लेखक गोपालसिंह नेपालीले आफ्नो पुस्तकको अध्ययन–अनुसन्धानका क्रममा यो मान्यता वास्तविकतामा सत्य हुन पुगेको आफ्नो अनुभव उल्लेख गर्नुभएको छ। सुन्दा पढ्दा अपत्यारिलो लाग्दो यो मान्यता काठमाडौंका नेवार समुदायमा हालसम्म पनि कायम रहेको छ।

भनिन्छ, काठमाडौंमा मुख्यतः नेवार समुदायका व्यक्तिहरू हनुमान ढोकामा अवस्थित विशालकाय कालभैरवको पूजा आराधना गर्दछन् तर मन्दिरको प्रदक्षिणा गर्दैनन्। यसो नगर्नुको कारण तत्कालीन समयका शासकले बौद्धधर्म ग्रन्थहरू उक्त कालभैरव मन्दिर पछाडिको भागमा गाडिएको हुनाले मन्दिर प्रदक्षिणा गर्दा ग्रन्थमाथि टेकिन्छ भन्ने विश्वास हो।

यस्तै सोह्रखुट्टेमा अवस्थित पकनाजोल गणेशसँग पनि काठमाडौंका नेवार समुदायमा रोचक मान्यता जोडिएको छ। विशेषगरी यस समुदायमा बिहे व्रतबन्धजस्ता ठुला भोज चाडपर्व विशेषका लागि जाँड, रक्सी राम्रोसँग बनोस् भन्ने अभिप्रायले पकनाजोल गणेशको आराधना गरी पूजा गर्ने गरिन्छ।  

नरनारी दुवैको स्वरूप भएको मानिने आजका युवापुस्ता माझ पनि उत्तिकै आस्था र विश्वास रहेको संकटा मन्दिर नजिकै अर्को प्रसिद्ध महांकालको मन्दिर रहेको छ। हिन्दु–बौद्ध दुवै धर्मावलम्बीद्वारा पुजिने यस महांकाल मन्दिरमा विशेष गरी बौद्ध धमावलम्बीले आफ्नो मनोकांक्षा सिद्ध भएपछि यस मन्दिरमा रक्सी चढाउने गरिन्छ।

साँघुरिँदै गइरहेको काठमाडौं सहर, मन्दिरैमन्दिरको खुला संग्रहालयका रूपमा परिचित काठमाडौं सहर, विश्व सम्पदा सूचीमा सूचीरत हाम्रा पुर्खाको धरोहर, कला सौन्र्दयको अनुपम उदाहरण, जीवन्त सम्पदा संस्कृतिले भरिपूर्ण काठमाडौं सहर, जात्रापर्वले वर्षभरि उत्साह उमंग छाउने सहर, गौरवमय इतिहास बोकेको सहर, लिच्छवीकालीन समयमा निर्माण भएको मानिने यहाँका भित्री सहरबाटाहरू, आज पनि यथावत चलिरहेको सहर, अनगिन्ती रोचक धामिक मान्यता एवम् किंवदन्ती जोडिएका यहाँका प्रत्येक देवालय, मठमन्दिर, पाटीपौवाहरूले आज पनि हामीलाई मुस्कुराउँदै आफ्नो कथा सुनाइरहेझैं लाग्छ।

जहाँ जति नै सुविधा सम्पन्न अत्याधुनिक सपिङ मल भए पनि आत्मसन्तुष्टिका लागि नै भए पनि न्युरोड नै पुग्ने बानी छ हाम्रो। ईश्वरले वास्तवमै हाम्रा असीमित मनोकांक्षा पूर्ण गरिदिनुहुन्छ तर हाम्रो धर्म संस्कृतिप्रति विश्वासमा भने रतिभर कमी आएको छैन भन्ने असङ्ख्य उदाहरण हामै्र वरिपरि देख्न पाउँछौं।

एकाइसौं शताब्दीको आधुनिक प्रविधिको आजको युगमा यस्ता कुरा तथ्यहीन लाग्न सक्छन् तर सनातन धर्म संस्कृतिको प्रसङ्ग आउँछ। त्यहाँ वैज्ञानिक आधार मात्र नभई परापुर्खादेखि सुन्दै चल्दै आएका यस्ता जनविश्वास एवम् आस्था निकै गहिरिएको पाउँछौं।

विश्व मानचित्रलाई हेर्‍यौं भने यस्ता अनगिन्ती उदाहरण पाइन्छन्, जहाँ मानिसलाई धर्मले प्रभाव पारेको नहोस्। प्राग्ऐतिहासिक कालदेखि आजको युगसम्म आइपुग्दा हामी मानवजाति जुन भौगोलिक अवस्था प्राकृतिक बनोटमा बसोबास गरिरहेका हुन्छाैं, आफूलाई सोही वातावरणअनुरूप रहनसहन, भेषभूषा, चालचलन, रीतिरिवाज निर्माण गरिरहेका हुन्छौं। समुदाय, धर्म, संस्कृति, परम्परा, जातीयता यी सबै मानव निर्मित हुन्।

जहाँ प्राकृतिक सौन्दर्य, कला, संस्कृति, धामिक सहिष्णुताको प्रसङ्ग आउँछ, त्यहाँ नेपालको अवश्य स्मरण हुन्छ। विश्वमा नगण्य अवस्थामा रहेका तथ्यहरू हामीकहाँ देख्न सकिन्छ। परापूर्वकालदेखि निर्माण भएका काठमाडौंका देवालय तत्कालीन शासकहरूद्वारा निर्माण गरिएका दरबार, पाटीपौवा चोकचोकभित्र रहेका ससाना चोक छन्। तिनको प्रत्यक्ष उदाहरण काठमाडौंका असन, बालकुमारीस्थित पल्टन घरभित्र रहेका सात चोक, हनुमानढोका दरबार क्षेत्र, महाभारतको सिङ्गो कथालाई अति कलात्मक ढंगमा कुँदिएको पाटनको प्रसिद्ध कृष्ण मन्दिर आदि हुन्।

प्रत्येक चोकसँग कुनै न कुनै कथा जोडिएका छन्। यहाँका ऐतिहासिकतामा अनगिन्ती मान्यताहरू छन्। मल्लकालीन अनि शाहकालीन समयमा बनेका यस्ता चोक, देवालय, पाटीपौवा हुन् या लिच्छवीकालीन समयमा निर्माण भएका मानिएका काठमाडौंका भित्री सहरमा आजपर्यन्त पनि चल्तीमा रहेका रेखा खिचिएझैं लाग्ने सिधा समानान्तर बाटाहरू, जीवित सांस्कृतिक सम्पदा मानिने कुमारी रथयात्रा, इन्द्रजात्रा, घोडेजात्रा, सेतो मच्छिन्द्रनाथको जात्रा यी हाम्रा पुर्खाले छोडी गएका काठमाडांैंका जीवित सांस्कृतिक धरोहर हुन्।

समाज मानव निर्मित हुन्छ। यसलाई व्यवस्थित बनाइ राख्न मानिसको सहजताका लागि खुला स्थानको महत्वलाई बुझेर नै त्यस समयका शासकवर्ग तथा पितापुर्खाले यस्ता स्थलहरू निर्माण गरे। आज विश्व सम्पदा सूचीमा रहेको पर्यटकको अवलोकन क्षेत्र काठमाडाैं उपत्यकाका तीनै भित्री सहरमा अवस्थित यिनै सम्पदाहरू नै उपत्यकाका सांस्कृतिक धरोहर हुन् भन्दा अत्युक्ति नहोला।

जुनसुकै जाति, धर्म, समुदायसँग सम्बन्धित व्यक्ति भए पनि तपाई चाहनुहुन्छ भने इन्द्रजात्रा, सेतो मच्छिन्द्रनाथ रथजात्रामा रथ तान्न जान सक्नुहुन्छ। यी मात्र नभई काठमाडाैंका यस्ता थुप्रै पर्वहरू छन्, जसमा हरकोही सहभागिता जनाउन सक्छन्। दशैंतिहारमा टीका लगाउनुपूर्व हामी कसैलाई प्रश्न गर्दैनौं। यी धार्मिक संस्कृतिका यस्ता कडीहरू हुन् जसले हामी सबैलाई आजपर्यन्त जोडेको छ।

काठमाडौं त्यो थलो हो जहाँ सातै प्रदेशका कुनाकाप्चाबाट नेपालीहरू बसोबास गर्न यहीं आउँछन्। कोही जीविकोपार्जनका लागि त कोही उच्च शिक्षा हासिल गर्न, कोही उपचार गर्न त कोही आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्न, कोही काठमाडौंका जात्रापर्वको रौनक अनुभव गर्न काठमाडौंमै आउँछन्। कुनै जाति, धर्म, सम्प्रदायभन्दा माथि हामी सर्वप्रथम नेपाली जाति हौं। यहाँ परापूर्वकालदेखि चलिआएको संस्कृति, धर्मसम्पदाले नै नेपालीमा धार्मिक–सांस्कृतिक सहिष्णुता कायम राखेका छन्।

बहुभाषा, बहुजाति, बहुसंस्कृतिले भरिपूर्ण नेपालका कुनाकाप्चाबाट हाम्रा दाजुभाइ, दिदीबहिनीहरूसँगसँगै बहुसंस्कृति पनि राजधानी आइपुगेको छ। तराईको महान् पर्व छठ, किराँती समुदायको पर्व साकेला, थारू समुदायको पर्व माघी, सुदुर पश्चिमको रौनक दौउडा, गुरूङ समुदायहो पर्व तमु ल्होसार, तामाङ समुदायको सोनम ल्होसार, शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसार अब हामी साथसाथै हेर्न र मनाउन पाउँछौं। यो साथमा साथ काठमाडौंको मुटुमा रहेको सम्भवतः बचेको अति कम खुल्ला स्थानमध्ये एक आम जनताको साझा थलो टुँडिखेल खुलामञ्चमा देख्न सकिन्छ। जसलाई स्थानीय भाषामा तिंख्य भनिन्छ।

काठमाडौंको केन्द्रमा अवस्थित टुँडिखेल खुलामञ्च यस्तो सार्वजनिक स्थल हो, जहाँ प्रत्येक नेपाली स्वेच्छाले पुग्न सक्छन्। कोही बिहानको व्यायामका लागि त कोही फुटबल अभ्यासका लागि। कहिले सांस्कृतिक पर्व त कहिले सांगीतिक कार्यक्रम। अझ नेपाली राजनीतिमा यस्ता कमै पाटी वा व्यक्तित्व होलान्, जसले यी स्थलमा आमसभा गरेका छैनन्। स्वतन्त्र रूपमा आफ्नो आवाज राख्ने अधिकार हरकोही नेपालीले पाउने थलो हो–टुँडिखेल खुलामञ्च।

नेपाली जनताले आफ्नो आवाजलाई निर्भीकतापूर्वक राख्ने स्थलको नाम आउँदा सर्वप्रथम खुलामञ्च नै आउँछ। यो कुनै व्यापार प्रयोजनका लागि प्रयोग हुने स्थल हो होइन। यो काठमाडौंको सवारी चापलाई व्यवस्थित गर्ने अभिप्रायले पार्किङस्थल बनाउने स्थान पनि होइन।

टुँडिखेल खुलामञ्च २०७२ सालमा आएको विनाशकारी महाभूकम्पमा जनताको मुख्य आश्रयस्थल बन्यो। यो स्थान कोरोनाको महामारीका कारण देशमा लकडाउन हुँदा जनताले गास पाउने थलो बन्न पुग्यो। टुँडिखेल बढ्दो सहरीकरण तथा सवारी चापसँगसँगै दिन प्रतिदिन अतिक्रमित हुँदैगएको छ। टुँडिखेल खुलामञ्चको संरक्षणबारे आफ्नो धारणा राख्दै शिक्षाविद् प्राध्यापक केदारभक्त माथेमा भन्नुहुन्छ–सर्वप्रथम पुरातात्विक हिसाबले पनि त्यस स्थानमा कुनै पनि निर्माण कार्य वा उत्खनन गर्नुपूर्व सो क्षेत्र कतिको सुरक्षित छ भन्ने बुझ्नका लागि सम्बन्धित विज्ञहरूको आवश्यक राय लिनु आवश्यक पर्छ। जसरी काठमाडौंको एक सपिङ मल बन्ने क्रममा सुन्धाराको पानी सुक्यो भनिन्छ। यसैले यस्ता कार्य गर्दा कहाँ के असर पर्न जान सक्छ भन्ने जान्नका लागि विस्तृत अध्ययन गर्नु राम्रो हुन्छ।

अर्को कुरा काठमाडौंमा बाँकी निकै कम रहेको हरियोपरियो मास्न दिनुहुन्न। अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा सहरमा १२ प्रतिशत जग्गा हुनुपर्छ भनिन्छ। काठमाडौंभित्र केवल ०.४ प्रतिशत मात्र हरियाली बाँकी रहेको छ। बचेको हरियाली तथा खुलास्थानलाई जोगाउनुपर्छ।  

न्युरोडजस्ता भित्री सहर अर्थात् कोर एरियामा विशेषगरी निजी सवारी साधन नचलून् भन्ने कुरामा जोड दिनुपर्छ। बेलायतको लन्डन सहरमा निजी गाडी लग्नुपरेको खण्डमा त्यसबापत सरकारलाई भारी कर र्तिनुपर्ने हुन्छ, जसले गर्दा सो सहरमा स्वाभाविक रूपमा सवारी धनीले आफ्नो निजी गाडीभन्दा न्यून खर्च पर्ने सार्वजनिक सवारीको प्रयोग गर्छन्।

निजी गाडीलाई निरुत्साहित गर्नका लागि यसको विकल्पमा सरकारले सर्वसुलभ ढंगमा सार्वजनिक यातायात अथवा कुनै निश्चित स्थानको रुटमा सहर परिक्रमा गर्ने, जस्तो कि त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै पुनः त्रिपुरेश्वर आरएनएसी हुँदै यसरी एकै रुटमा नियमित चलिरहने सर्कुलर बसको व्यवस्था भएको खण्डमा कोही पनि निजी गाडी घण्टौं ट्राफिक जाममा कुर्नुपर्ने गरी लान चाहँदैन। म यो उमेरमा गाडी चलाउने गर्छु। मोटर चलाउनु मेरो रहर होइन, बाध्यता हो। सबै उमेर समूहका व्यक्तिको सहजतालाई ध्यानमा राखी यस्ता खालका सर्कुलर बस सुविधा पाएमा म व्यक्तिगत गाडी छाडी यस्ता बस चढ्ने छु। फेरि बसको राम्रो सुविधा भए मोटरसाइकल पनि कम गुड्ने छन्।

काठमाडौं सहरमा मोटर बढ्नुको अर्को तथ्य एकत्रित रूपमा सहरको वरिपरि धेरै संख्यामा पाँचतारे होटल रहनु पनि हो। यस्ता पाँचतारे होटल सहरभित्र नजिकै हुँदा स्वाभाविक रूपमा निजी सवारी बढ्ने गर्छन्। यस्तो हुनुमा कहीं न कहीं सहरी विकास योजनामा कमी–कमजोरी हुन पुगेको देखिन्छ।

काठमाडौं नयाँ सहर होइन। यो पुरानो सहर हो, जसलाई नयाँ–बस्तीले घेरेको छ। अहिले काठमाडौंलाई प्लेनबाट हेर्दा चारैतिर घरैघर देखिन्छ। हरियाली निकै कम देखिन्छ। भारतको राजधानी सहर दिल्ली गर्मी समयमा निकै गर्मी हुने अनि जाडो समयमा निकै जाडो हुने र तुँवालो लाग्ने गर्छ। यस्तो हुँदाहुँदै पनि दिल्लीको राम्रो पक्ष भनेको त्यहाँ हरियालीलाई राम्ररी बचाएर राखिएको छ। प्रशस्त मात्रामा पार्कहरू निर्माण भएका छन्। जसले हरियाली जोगाइराखेको छ। हामी कहाँ न्यून संख्यामा बाँकी रहेका पुरातात्विक ऐतिहासिक महत्व र सर्वसाधारण जनताले निर्वाध ढंगमा प्रयोग गर्ने नेपालीको साझा थलो टुँडिखेल, खुल्लामञ्च जस्ता क्षेत्रलाई घेराबन्दीमा राख्ने वा बैठकजस्तो सजावट गर्ने होइन। यसलाई आम जनताको प्रयोगमा ल्याउन दिनुपर्छ। विद्यार्थीकालमा कलेज पढ्दा एक माना बदम किनेर हामी साथीभाइ टुँडिखेल वरिपरि बसेर घण्टौं राजनीति, इतिहासदेखि प्रविधिसम्मका कुरा गर्थ्याै।

२०७६ कात्तिक २३ देखि टुँडिखेलको संरक्षण गर्ने लक्ष्यसहित अकुपाइ टुँडिखेल नाम दिई यसको संरक्षण अभियानमा लागिरहेका सामाजिक अभियन्तामध्ये एक विजय श्रेष्ठ यस सम्बन्धमा थप प्रस्ट्याउँदै भन्नुहुन्छ–नेपाल भाषामा नर्कटलाई तिकंथी र खुला स्थानलाई ख्य भनिन्छ। तिंख्यको नेपाल भाषा यसको शाब्दिक अर्थ नर्कट पाइने खुला स्थान भन्ने बुझिन्छ। काठमाडौंका नेवार समुदाय हालसम्म पनि टुँडिखेललाई तिंख्य भनेर सम्बोधन गर्छन्। पहिले टुँडिखेल दशरथ रंगशाला त्रिपुरेश्वरदेखि रानी पोखरी क्षेत्रसम्म फैलिएको थियो। तर समय समयका शासकहरूले यसलाई टुक्रयाउँदै हालको अवस्थामा ल्याइपुर्‍याए। वर्तमान समयसम्म पनि अतिक्रमणको उच्च जोखिममा रहेको यो स्थानसँगै शक्ति स्वरूपा देवी भद्रकालीको मन्दिर रहेको छ भनिन्छ।

टुँडिखेल देवी भद्रकालीको दाइजो भएकाले तत्कालीन मल्ल शासकहरू सो स्थान दुरूपयोग गर्न डराउने गर्थे। घोडेजात्रामा वटु भद्रकाली, कंकेश्वरी देवीका खटलाई टुँडिखेलमा पुर्‍याइन्छ भने मध्यरातमा गुरुमापा नामक राक्षसलाई भोज खुवाउने गरिन्छ। जुन प्रचलन हालसम्म पनि यथावत रूपमा चलिरहेको छ। काठमाडौंको हिटी सभ्यता भएको यो स्थान दुई माजु गुठी लगायत कालान्तरदेखि बसोबास गर्न यहाँका जाति समुदायको कुलदेवता रहेको यो थलो धामिक सांस्कृतिक दृष्टिकोणमा पनि अति संवेदनशील क्षेत्र हो भन्ने कुुरा मनन गरिनुपर्छ। विस्तृत अध्ययन अनुसन्धान गर्ने हो भने यहाँ इतिहासका असंख्य तथ्य पाउनुहुनेछ।

२०७२ सालमा आएको विनासकारी महाभूकम्पको समयमा हामी काठमाडौंवासीका लागि सुरक्षित आश्रय लिने एक मात्र नजिकको खुला स्थान बन्न पुगेको यथार्थ बिर्सनुहुँदैन। हराउँदै मासिँदै गएको यहाँको हरियालीलाई वृक्षरोपण गरौं, रूख बिरुवा रोपौं, बालक, युवा, वृद्ध सबै उमेर समूहले यसको उपयोग गर्न पाउनुपर्छ। बिहानीको स्वच्छ हावामा एकैछिन भए पनि थकाइ मेटाउने, साथीभाइ मिली सुखदुःख साट्ने थलो हो यो स्थल। भावी पुस्ताका लागि पनि हामीले यसको जर्गेना गर्न आवश्यक छ। आधुनिकताको नाममा विकसित सहरसँग यसको तुलना गर्दै विकासका पूर्वाधार निर्माण गर्न नभई आफ्नो भौगोलिक, सांस्कृतिक, धार्मिकजस्ता विविध पक्षलाई विचार गर्न जरुरी छ। टुँडिखेल खुलामञ्चको संरक्षण गर्ने सोचले हामी सक्रिय युवा समूह मिली ‘अकुपाइ टुँडिखेलको नारासहित यस स्थलको संरक्षण हुनुपर्छ भन्ने कार्यमा लाग्यौं। यस सामाजिक कार्यमा हामीलाई सरकारमा आसिन उच्च पदका सम्मानित व्यक्तित्वदेखि नेपाली सञ्चार क्षेत्रलगायत देशका प्रबुद्ध वर्गको साथ सहयोग पायौं।

भोटाहिटीमा जन्मे हुर्केका स्थानीयवासी सुरेन्द्र मास्के टुँडिखेल खुलामञ्चको विगतको अवस्थाबारे बाल्यकाल सम्झँदै भन्नुहुन्छ–२०१५ सालमा म दश वर्षको छँदा टुँडिखेल हालको दशरथ रंगशालासम्म फैलिएको सिङ्गो क्षेत्र थियो। जमिनमा हरियो दुबो उम्रिएको खुला मैदान थियो। त्यहाँ तत्कालीन समयका उच्च पदस्थ व्यक्तिहरू घोडा चराउन आउँथे। राज्यका महत्वपूर्ण सम्बोधन हुने, आर्मी कवाज हुने गथ्र्यो। अहिलेसम्म टुँडिखेलमा रहेको खरीको विशाल रुख नजिकै अर्को रुख थियो, जसलाई नेपाल भाषामा ‘यांक सिमा’ भनेर चिनिन्थ्यो। जहाँ गुरुमापा नामक राक्षस गाडिएको भन्ने मान्यता रहेकाले त्यस राक्षसलाई भोजन यसै स्थानमा दिने गरिन्थ्यो।

घोडेजात्राको मध्यरात भद्रकाली, कंकेश्वरीलगायतका देवीको खट, हाल असनमा गरिने खट जात्राझैं यहाँ पनि उस्तै स्वरूपमा हुने गर्थ्याे। मध्यरातमा हुने यो जात्रामा भने साना बालबालिकालाई जान–हेर्न मनाही थियो। हाल सर्वमान्य नेता गणेशमान सिंहको सालिक भएको स्थानमा गोलाकार पाटी हुने गथ्र्यो, जसलाई हात्तीपाटी भनिन्थ्यो। यस पाटीमा स्थानीयवासी पसल राख्ने गर्थे भने रातको समयमा बटुवाहरूको आश्रयस्थल पनि हुन्थे। उक्त पाटीनजिक महादेवको मन्दिर रहेको थियो, जसलाई पशुपतिनाथ भनिन्थ्यो। भक्तपुर साँखु जाने केही गाडी यहीं लस्करै बिसाइएका हुन्थे। २०१७ सालपछि मात्र तत्कालीन राजाबाट टुँडिखेलको उक्त भागमा रत्नपार्क बनाउनका लागि उक्त क्षेत्र वरिपरिका हात्तीपाटीलगायतका पाटीपौवा भत्काइयो। यसरी टुँडिखेल टुक्रियो भने माथिल्लो क्षेत्रबाट सहिद गेट तथा बाटो निर्माण भएपछि त्यहाँबाट पनि टुँडिखेल टुक्रिन पुगी कुनै समयमा सिङ्गो आकर्षक हरियो दुबो भएको सर्वसाधारण जनतादेखि राज्यका उपल्लो वर्ग–समुदायले प्रयोग गर्ने इतिहास बोकेको टुँडिखेल टुक्रिँदै गयो।

डा. केदारभक्त माथेमाले भनेजस्तै काठमाडौं हिँड्ने सहर हो। यहाँका भित्री सहर अर्थात् कोर एरिया हिँडेर नै पुग्न सकिन्छ। पश्चिमा राष्ट्रहरूले आधुनिकताका नाममा जुन भुल गरे, हामीबाट यस्तो नहोस्। खुला स्थानको आवश्यकता र महत्वलाई मनन गरौं। कहिले पार्क त कहिले बाटो, यस्तै कहिले सुरक्षा निकायका लागिजस्ता कारणले विगतदेखि नै वर्तमान समयसम्म राज्य स्थानीय निकायबाट यस स्थानको संरक्षकत्व प्राप्त हुनुपथ्र्याे। सधैं अपहेलित र अतिक्रमणको सिकार बन्न पुगेको टुँडिखेल खुलामञ्च अस्तित्वको सँघारमा पुगेको अवस्थामा काठमाडौंमा खुला स्थानको महत्वलाई मनन गरी यस क्षेत्रलाई स्वच्छ, हराभरा बनाऔं। हरियो दुबो, रुख बोटबिरुवा रोपौं। आम सभा गर्ने थलोका रूपमा मात्र सम्झने हाम्रा देशका राजनीतिक दलहरूलाई यस क्षेत्रको संरक्षण हुनुपर्छ भन्ने आत्मबोध हुनु आवश्यक छ। मिठा भाषणबाट आश्वस्त पार्ने प्रवृत्तिबाट माथि उठी नेपाल र नेपाली जनताको मन जित्ने प्रयास गर्न सकेमा भोलिका भावी सन्ततिले राज्य संयन्त्र, स्थानीय निकाय, प्रबुद्ध वर्ग, राजनीतिक दल सबैप्रति सदैव श्रद्र्धाभाव राख्ने छन्।

प्रकाशित: २० फाल्गुन २०७९ ००:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App