जुम्लाको तिला गाउँपालिका ४ नुवाकोट गाउँको महादेवस्थानमा आगलागी हुँदा एक घरसहित मौरीका १३ घार जलेर नष्ट भएको छ।
गए राति १ बजेकाे समयमा भएको आगलागीबाट नुवाकोट गाउँ निवासी लालबहादुर हमालको घर र १३ घारमा भएको मौरी पूर्णरुपले नष्ट भएको हो।
पीडित घरधनी हमालले १३ घार मौरी, एक तोला सुन र ६५ हजार नगद जलेर नष्ट भएको बताए। उनका अनुसार मानवीय क्षति भने भएको छैन।
उनले बताए अनुसार उनी राति ११ बजे मौरी हेर्न गएका थिए।
'माहुरी हेर्न जाँदा कक्रेटो (सल्काइएको कपडाको टुक्रा) लिएर गएको थिए, सायद त्यसको झिल्का नजिकै राखेको पिरलबाट सल्केर आगलागी भएको हुन् सक्छ।' उनले भने।
मौरीको गोलोसहित १३ घार र खाली ६ घार, चामल, तेल, मकैलगायतका अन्य खाद्य र लत्ताकपडा जलेर नष्ट भएको उनले सुनाए।
श्रीमती माइती, छोराछोरी अर्कै गाउँमा गएका, र आमा नजिकै छिमेकीको घरमा गएको बेला आफू एक्लै घरमा सुतेकोको अवस्थामा आगलागी भएपछि छिमेकीको घरबाट आमाले थाहा पाएर आफ्नो ज्यान बचाएको उनी बताउँछन्।
'यदि आमाले थाहा नपाएको भए जलेर मर्ने थिए। ठुलो दुर्घटना हुनबाट जोगियो।' उनले भने।
उनी आम्दानीको मूल स्रोत रहेको मौरी नै नष्ट भएपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा छन्। आगलागीबाट २ लाख ६० हजार बराबरको मौरी नष्ट भएको छ। अहिले बजारमा महको प्रति केजी २ हजारमा बिक्री वितरण भइरहेको छ।
घटनाको स्थलगत क्षतिको यकिन विवरण लिन तिला गाउँपालिका कुडारीस्थित प्रहरी चौकीबाट प्रहरी गएको जनाइएको छ। प्रहरीका अनुसार स्थलगत प्रतिवेदनले क्षतिको पूर्ण विवरण प्राप्त हुनेछ।
प्रकाशित: १८ फाल्गुन २०७९ १३:४६ बिहीबार