१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रौतहट प्रहरीको द्वैध चरित्र

आफू अनुकूल नहुँदा मुद्दा दर्ता नगर्ने र आफ्नो अनुकूल हुँदा कुरा नबुझे पनि मुद्दा दर्ता गर्ने द्वैध चरित्र रौतहट प्रहरीको देखिएको छ। कर्मचारी र पत्रकारको मुद्दा दर्ता नगर्ने रौतहट प्रहरीले आफूमाथि भएको भन्दा बढी फरक अतिरंजनापूर्वक घटना बताएर मुद्दा दर्ता गरेको पाइएको छ।

रौतहटको मौलापुरमा विद्युत कर्मचारीमाथि दुव्र्यवहार हुँदा रौतहट प्रहरीले मुद्दा दर्ता गरेको छैन। यसै गरी सदरमुकाममै पत्रकारमाथि गालीगलौज हुँदा पनि मुद्दा दर्ता गरेको छैन। तर गौरस्थित बसपार्कमा सामान्य घटनामा पनि मुद्दा दर्ता गरी पाँच जना सर्वसाधारणलाई रौतहट प्रहरीले थुनामा राखेको छ।

गत फागुन ७ गते जिल्ला सदरमुकाम गौरस्थित बसपार्कमा रिक्सा चालक र बस चालकलाई गाडी साइडमा लगाउन बसपार्क चौकीका असई प्रेमकुमार सोनीले अपशब्द प्रयोग गर्दै गाडी राम्रोसित सडकको छेउमा लगाउन दबाब दिए। गाडी साइडमै रहेको भन्दै बस कर्मचारीले प्रतिवाद गरेपछि झन् जंगिएका असई सोनीले जथाभावी बोल्न थाले। असई सोनीको व्यवहार हेरेर बसपार्कमा रहेका सर्वसाधारण यात्रुहरु, टेम्पो तथा म्याजिक जिप चालक र कर्मचारीको भीड जम्मा भई असईमाथि तस्करहरुलाई केही नगर्ने तर सोझालाई अनावश्यक गाली गर्ने बताएपछि असई सोनीसहितको प्रहरी टोलीले सर्वसाधारणलाई कुटपिट गरेका थिए।

प्रहरीको व्यवहारपछि सर्वसाधारण बसपार्कमा विरोध गर्न थालेपछि जिल्ला प्रहरी कार्यालयको थप मद्दत आएर विवाद साम्य बनाएको थियो। विवाद साम्य भएपछि असई सोनी फेरि आक्रोशित भई जथाभावी अपशब्द प्रयोग गर्न थाले। असई सोनीको व्यहारप्रति आक्रोशित भएर सर्वसाधारणले प्रहरीमाथि नै हातपात गरेको थियो।

प्रहरीमाथि दुव्र्यवहार हुँदा प्रहरीले जथाभावी पाँच जनालाई पक्राउ गरी सोही दिन नै अभद्र व्यवहार मुद्दा चलाएको छ। प्रहरीले असई सोनीमाथि अभद्र व्यवहार गरेको भन्दै चन्द्रपुर ६ का सागर यादव, सुदर्शन राउत, दिपेशकुमार सिंह, वीरेन्द्र राउत र सञ्जय ठाकुरमाथि मुद्दा दायर गरेको हो।

प्रहरी र सर्वसाधारणमा झडपको स्थिति भएको समयमा छुटाउन गएका डाँक बससेवाका कर्मचारी वीरेन्द्र राउतलाई प्रहरीले पक्राउ गरी अभद्र मुद्दा चलाएपछि प्रहरीले वास्तविकता नै नबुझी मुद्दा दर्ता गरेको स्पष्ट भएको छ।

गत मंगलबार साँझ सदरमुकाम गौरको प्रादेशिक अस्पताल चोकमा पत्रकार राकेशकुमार यादवलाई निजी अस्पतालका संचालक राधेश्याम साहसहितका व्यक्तिहरुले दुव्र्यवहार र गालीगलौज गरेका थिए। अस्पताल संचालकले गरेको व्यवहारलाई लिएर नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झासहितको टोलीले जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा मुद्दा दर्ता गराउन जाँदा प्रहरीले दर्ता गर्न नै मानेको छैन।

गत फागुन ५ गते मौलापुरस्थित विद्युत कार्यालयका कर्मचारीमाथि भएको दुव्र्यवहारको मुद्दा दर्ता गराउन जाँदा पनि प्रहरीले अहिलेसम्म दर्ता गरेको छैन।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति झाले प्रहरीको रवैया देखेर आफूलाई दु:ख लागेको बताएका छन्।

आफूले पनि यस विषयमा जानकारी पाएको र गम्भीरतापूर्वक लिएको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताएका छन्।

प्रकाशित: १८ फाल्गुन २०७९ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App