१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सुशासन प्रवर्द्धनका लागि प्रविधिमैत्री जनकपुरधाम

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउँदै विद्युतीय सुशासन प्रवर्द्धनका लागि सूचना प्रविधिको प्रयोगलाई जोड दिइरहेको छ।

नागरिकले कार्यालयमै धाएर कागजी प्रक्रिया पूरा गर्नुपर्दा भोग्नुपर्ने समस्या समाधानका लागि सूचना प्रविधिको अधिकतम प्रयोगलाई प्रवर्द्धनका गर्ने नीतिअनुसार प्रविधि सुधारको पहल भइरहेको उपमहानर प्रमुख मनोजकुमार साहले बताए।

उनले अहिले नगरपालिकाको आन्तरिक सेवा प्रवाहलाई प्रविधियुक्त र नागरिकलाई सूचना प्रविधि मार्फत सेवाप्रवाहका लागि आवश्यक प्रविधिको व्यवस्थापन गर्न पहल भइरहेको बताए।

‘प्रविधिको प्रयोगबाट कसरी छिटो र पारदर्शी ढङ्गले काम गर्न सकिन्छ भनेर इ-हाजिरी र सेवाग्राहीले अनलाइनमै विवरण पेश गर्ने गरी काम थालेका छौँ’, उनले भने, ‘कर तिर्न लाइन बस्नुपर्ने परम्परागत शैलीलाई प्रतिस्थापन गर्न डिजिटल सूचना प्रणालीको विकास गर्दैछौँ।’

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले कर्मचारीलाई समयमै कार्यालय आउने र काम सकेपछि मात्रै जाने गरी अनुशासित बनाउन प्रविधिको प्रयोग इ-हाजिरीबाट सुरु गरिएको बताए।

नागरिकलाई लक्षित गरी प्रविधि प्रयोगमा जोड्न दिइँदै छ। गत भदौपछि इ-हाजिरी सुरु भएको हो। सेवाग्राहीलाई लक्षित गरी ‘सेमी’ अनलाइन सेवा पनि सञ्चालनमा ल्याइएको छ।

‘सकेसम्म सबै सेवा डिजिटलाइज्ड गर्ने गरी अगाडि बढेका छौँ। नियमितता, मितव्ययीता र कार्यदक्षता अभिवृद्धिका लागि महालेखा नियन्त्रक कार्यालयको निर्देशनबमोजिम स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) सफ्टवेयर प्रयोगमा ल्याइसकेका छौं’, शशीले भने, ‘राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) को प्रयोगका लागि महालेखालाई पत्र लेखिसकेका छौं, त्यो कार्यान्वयनमा आए हामी मधेसमै यो गर्ने पहिलो स्थानीय निकाय हुनेछाैं।’

जनकपुरधाम चेकबाट रकम हस्तान्तरणलाई निस्तेज गरी विद्युतीय कोष हस्तान्तरण प्रणालीको प्रयोगमार्फत कारोबार गर्ने धनुषाकै पहिलो स्थानीय तह हो। उपमहानगरपालिकालाई पूर्ण प्रविधिमैत्री बनाउन मोबाइल एपको विकास गर्ने योजना छ। योजना, लागत, कार्यान्वयन हुने क्षेत्र तथा प्रगति विवरणसमेत थाहा पाउने गरी अनलाइन प्रणाली विकास गरिंदै छ।

‘सेवा प्रवाहलाई प्रविधियुक्त र अझ व्यवस्थित बनाउन पहल गरिएको छ, डिजिटल सहर बनाउने क्रममा अब करदाताले नगरपालिकाले सङ्कलन गर्दै आएको एकीकृत सम्पत्ति कर, घर बहाल कर, अन्य व्यवसाय कर, नक्सा पास दस्तुर, ठेक्कापट्टा नवीकरण लगायत राजस्व जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाउने योजना छ’, शशीले भने।

त्यसैगरी वडा कार्यालय र नगर क्षेत्रमा रहेका वडा स्वास्थ्यचौकीलाई एकै ठाउँबाट अनुगमन गर्न मिल्ने गरी अनलाइन प्रणालीको विकास गर्ने योजना छ। सामाजिक सुरक्षा पञ्जीकरणका लागि २५ वटै वडामा कम्प्युटर अपरेटर नियुक्त गरी काम अगाडि बढाइएको छ। ‘उपमहानगरपालिका र यस अन्तर्गतका २५ वटै वडालाई अनलाइन प्रणालीमा जोड्ने काम हुँदैछ। डिजिटल नक्सा र घरको अनलाइन ‘कोडिङ’को काम पनि हुन्छ।’, उनले भने। सामाजिक सुरक्षा पञ्जीकरणलाई सहज बनाउन ३५ कम्प्युटर अपरेटर नियुक्त गरिएका छन्।

जनकपुर धार्मिक नगरी भएकाले सुरक्षा व्यवस्थापनका लागि नगर क्षेत्रका सिसीटिभीबाट एकै ठाउँबाट अनुगमन गर्ने गरी एकीकृत सञ्जाल निर्माणको काम गर्न थालिएको छ। नगरभरि हाल प्रदेश सरकार र अन्य निकायले करिब ५० सिसीटिभी जडान गरेको छ। अत्यावश्यक ठाउँमा थप गरी त्यसलाई एउटै सञ्जालमा जोडेर अनुगमन गर्दा सुरक्षाका दृष्टिले सहजता प्रदान गर्ने अपेक्षा छ।  

जनकपुरलाई प्रविधिको माध्यमबाट जान्नका लागि एप सञ्चालनमा ल्याइएको छ। ‘जनकपुरधामलाई नजिकबाट जान्नका लागि ‘भिजिट जनकपुर’ एप सञ्चालनमा ल्याएका छौँ’, प्रमुख साह बताउँछन्, ‘यहाँका हरेक घरको डिजिटल ‘कोडिङ’को काम भएमा सबैजसो गतिविधिमा सहज पहुँचका लागि टेवा पुग्छ।’

उपमहानगरलाई नागरिक सेवा केन्द्रका रूपमा विकास गर्न ‘करदेखि घर’ मा सूचना प्रणाली पहुँच र प्रयोगलाई प्रोत्साहन गर्न जरुरी रहेको उपप्रमुख किशोरी साह बताउँछन्। अभिलेखीकरणलाई व्यवस्थित बनाउँदै योजना तर्जुमा, अनुगमन, गुनासा व्यवस्थापनलगायत  काममा सहज हुने गरी प्रविधिको प्रयोगलाई प्राथमिकता दिएर काम गरिरहेको उनको भनाइ छ। रासस

प्रकाशित: १८ फाल्गुन २०७९ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App