८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

परिवार पाल्न खोला किनारमै बास

जाजरकोटको कुशे गाउँपालिका-५ का रवीन्द्र गन्धर्भ सरुगाडको किनारमा छाप्रो निर्माण गरेर बस्न थालेको तीन महिना भयो। उनले घरपरिवार, छोेराछोरीको खर्च टार्न सरुखोलाको किनारमा छाप्रो बनाएर बस्नुपरेको हो।

राजगारीको कुनै माध्यम नभएपछि गन्धभ खोलामा दिनरात माछा मारेर आएको रकमबाट दैनिकी चलाउँदै आएका छन्। उनले भने, ‘खोलामा पहिलेजस्तो माछा पाइँदैन, माछा मार्न खोला किनारमै बास बस्ने गरेको छु। माछा मारेर भार्ममा बिक्री गर्दै आएको छु। यसकै  आम्दानीले घरखर्च चलाउने गरेको छु। म र श्रीमती माछा मार्छौ, छोराले बिक्री गर्छ।’

खोला किनारमा बस्नु आफ्नो रहर नभई बाध्यता भएको गन्धर्भ बताउँछन्। ‘नौ जनाको परिवार माछा बिक्री गरेरै पाल्ने गरेको छु। खेतीपाती गर्न जग्गाजमिन छैन’, उनले भने।

गन्धर्भ जस्तै कालीबहादुर बादीले पनि मादल बनाउने कामबाट परिवार पाल्न नसक्ने अवस्था आएपछि छोरालाई भारत पठाई आफू माछा मार्न सरुगाडकै किनारमा पुगेको बताए। अहिलेसम्म नागरिकता समेत नभएको यो परिवारसित एक टुक्रा जमिन छैन। वर्षौदेखि माछा मार्दै र मादल बनाउँदै जीवनयापन गरिरहेका यहाँका वादी समुदायलाई सधैं के खाने र के लगाउने भन्ने कुराले मात्र सताउने गरेको छ।

माछा मारेरै जीविकोपार्जन गर्दै आएका श्याम वादी स्थानीय, प्रदेश र सङ्घीय सरकारसित जग्गा उपलब्ध गराउन माग गर्छन्। गाउँपालिकामा जग्गाका लागि धेरैपटक पहल गरे पनि सुनुवाइ नभएको बादी समुदायको भनाइ छ।

जनता आवास कार्यक्रमबाट केहीले घर बनाए पनि केहीले आफ्नो जग्गा नहुँदा घर बनाउन सकेका छैनन। ‘जग्गा नहुँदा घर बनाउन सकिएन’, स्थानीय प्रमिला बादीले भनिन्। चालिसभन्दा बढी परिवारसिन जग्गा नभएको उनको भनाइ छ। रासस  

प्रकाशित: १७ फाल्गुन २०७९ ०४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App