१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

चाडपर्व नजिकिएसँगै रौतहटमा व्यापक तस्करी

होली पर्व नजिकिएसँगै रौतहटमा तस्करी व्यापक मात्रामा बढेको पाइएको छ।

जिल्लाको विभिन्न नाकाबाट भित्रिएको लाखौँको अवैध सामान नियन्त्रणमा आउन थालेपछि रौतहटमा व्यापक मात्रामा तस्करी फस्टाएको पुष्टि भएको हो।

सोमवार बिहान करिब ४ बजेको समयमा सशस्त्र प्रहरीको एक टोलीले गरुडा नगरपालिका ५ स्थित शिवनगर महादेव स्थान नजिकबाट लाखौँको अवैध तस्करीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल ११ नम्बर गणको एक टोलीले एकै ठाउँबाट करिब तिन लाख मूल्य बराबरको तस्करीको कपडा बरामद गरी नियन्त्रणमा लिएको हो।

यसै गरी आइतबार गौर नगरपालिकाको सपगढा दाल मिल नजिक सशस्त्र प्रहरी गस्ती टोलीले दुई लाख तीस हजार भन्दा बढीको तेल, मैदा, चिनी, खुर्सानी लगायतका तस्करीको सामान बरामद गरेको थियो। बरामद कपडा र खाद्यान्न लगायतका अन्य सामग्री सशस्त्र प्रहरी बलले आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको छ।

यसै गरी आइतबार सर्लाहीको हजरिया प्रहरी चौकीले रौतहटबाट सर्लाही भित्रिएको एक लाख दस हजार बराबरको कपडा पक्राउ गरेको थियो।

रौतहटको बङ्कुल, रामपुरखाप, बेलबिछवा, महादेवपटि, बन्जरहा, औरैया, मठिया नाकाबाट होलीको समयमा व्यापक तस्करी भइरहेको छ। नेपाल प्रहरीका रौतहट प्रमुख एसपी वीरबहादुर बुढा मगर बिदामा बसेको बेला तस्करी बढेको हो। एसपी बुढा मगर बिदामा बसेको थाहा पाएर तस्करहरू सक्रिय भएको बताइएको छ।

रौतहटमा व्यापक मात्रामा तस्करी भइरहेको र तस्करी भएको सामान कैयौँ किलोमिटरको दुरी पूरा गर्दै जिल्लाको विभिन्न भागमा पुग्नुका साथै सर्लाहीको पनि विभिन्न बजारसम्म पुगिरहेको गुनासो बढेको छ। जिल्लामा भइरहेको तस्करीबारे मधेस प्रदेशका नेपाल प्रहरी प्रमुख डिआइजी वसन्त कुँवरले तस्करी कुन नाकाबाट भएको हो भनी यकिन गरी कार्यवाही गर्ने बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले ती तस्करीका सामानहरू बरामद गरी भन्सार चलान गरेको छ। चोरी निकासी तथा पैठारीका सामान र सवारी साधन गरी २४ लाख ६९ हजार त्रिहत्तर रुपैयाँको सामानसहित आठ जनालाई भन्सार बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी कैलाश राईले जानकारी दिएका छन्।

भन्सार चलान गरिएका सवारी साधनमा मोटरसाइकल आठ थान, साइकल सात थान र एक थान अटो रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ फाल्गुन २०७९ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App