१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गण्डकी गाउँपालिकामा व्यवसाय र घर जग्गा कर तिर्दा ५० प्रतिशत छुट

व्यवसाय दर्ता र घरजग्गा अभिलेखीकरणको बारेमा जनप्रतिनिधिलाई बुझाउँदै प्रमुख प्रशासकीय अधिकृत उपरकोटी। तस्बिर: नागरिक

गोरखाको गण्डकी गाउँपालिकाले ५० प्रतिशत छुटमा व्यवसाय दर्ता र घरजग्गाको अभिलेखीकरण सुरु गरेको छ। पालिकाबासीलाई करको दायरामा ल्याउने योजना सहित गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा बिहीबारदेखि शिविरका रुपमा कार्यक्रम सुरु गरिएको प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताए।

‘यो कार्यक्रम हरेक वडामा संचालन हुनेछ’ उनले भने ‘फागुन महिना भरी हामी टोल टोलमा संचालन गर्छौँ, त्यो बेला सर्वसाधारणले त्यहाँ नै आफ्नो व्यवसाय दर्ता र घरजग्गाको अभिलेखीकरण गर्न सक्नुहुन्छ।’ असार मसान्त सम्म ५० प्रतिशत छुटमा वडा कार्यालयमा दर्ता गर्न सकिने उनले बताए। असार मसान्त सम्म पनि व्यवसाय दर्ता र घर जग्गाको अभिलेखीकरण नगर्नेलाई थप हर्जना लाग्न सक्ने बताउँदै प्रमुख प्रशासकीय अधिकृत उपरकोटीले समयमै कर तिरेर ५० प्रतिशत छुट लिन सर्वसाधारणलाई अनुरोध गरे। 

टोल टोलमा गाउँपालिकाले दर्ता टोली पठाएका बेला सर्वसाधारण त्यहाँ आफ्नो नाम, घर, जग्गा व्यवसाय दर्ता गराउन सक्नेछन्। उनीहरुलाई फरक फरक कोड नम्बर दिइनेछ। अन्य समयमा वा यसपछिको आर्थिक वर्ष त्यो कोड प्रयोग गरेर कर तिर्न सक्छन्। 

गाउँपालिकाले मोबाइल वालेट, खल्ती, ईसेवा लगायतबाट कर तिर्ने व्यवस्था गरेको छ। गण्डकी प्रदेश सरकारको एक करोड ४० लाख र गाउँपालिकाको ६० लाखमा उक्त कार्यक्रम सुरु भएको छ। एक करोड रुपैयाँ गण्डकी प्रदेश सरकारबाट गाउँपालिकालाई प्राप्त भईसकेको उनले बताए। 

‘गाउँपालिकाबासीलाई कर तिर्नुपर्छ भन्ने ज्ञान होस् र सबैलाई करको दायरामा ल्याउन यो कार्यक्रम सुरु गरेका हौँ’ प्रमुख प्रशासकीय अधिकृत उपरकोटीले भने ‘यसले पालिका भित्र कस्ता व्यवसायी कति छन् भन्ने अभिलेख आउँछ, अन्य कार्यक्रमहरु संचालन गर्न पनि सजिलो हुन्छ।’ 

वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु मार्फत सर्वसाधारणलाई सूचित गराउँदै करको दायरामा ल्याउन शिविर संचालन गरिएको छ। बिहीबार वडा नम्बर ६ बाट शिविर सुरु भएको छ। वडामा संकलन हुने करको आधारमा बजेट विनियोजन हुने हुँदा त्यसले वडाको बिकासमापनि मद्दत पुग्ने उनले बताए। 

घर, व्यवसाय र जग्गाको दर्ता अभिलेखीकरण भने गाउँपालिकाका कर्मचारीले गरिदिनेछन्। त्यस बापत लाग्ने कर वार्षिक रुपमा सर्वसाधारणले तिर्नुपर्छ। यसरी तिरेको करको विवरण जतिसुकै बेला हेर्न र आवश्यक पर्दा प्रिन्ट गरेर प्रयोग गर्न सकिन्छ। 

गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेस उपरकोटीको अध्यक्षतामा बिहीबार गाउँपालिकामा भएको सुभारम्भ कार्यक्रममा वडा अध्यक्षहरु तोपमान गुरुङ, यमबहादुर थापा, पहलमान बयलकोटी, तुलबहादुर गुरुङ, तुलसी रेग्मी, कोकिलबहादुर मगर, कार्यपालिका सदस्य एवं प्रवक्ता सिताराम विश्वकर्मा लगायतले धारणा राखेका थिए। 

गोरखाका अन्य पालिकाले यो प्रविधिबाट कर तिर्ने सुरुवात गरेका छैनन्। वडा अध्यक्षहरुले करको दायरामा ल्याउने विषय राम्रो भएको र यसका बारेमा सर्वसाधारणलाई जनप्रतिनिधिले राम्रो सँग बुझाउन भने जरुरी भएको बताएका थिए। उक्त कार्यक्रमको सहजीकरण सागर शर्मा र गोपी कोइरालाले गरेका थिए। 

प्रकाशित: ११ फाल्गुन २०७९ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App