१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गोरखा बजारमा पानीकाे सधैँ हाहाकार, ट्यांकीमा छ धारामा छैन,

एक सातायता गोरखा बजारमा पानी वितरण अवरुद्ध भयो। पानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहरी खानेपानी आयोजनाले मुहानमा मोटर बिग्रिएको भन्दै पानी वितरण नभएको सूचना जारी गर्‍यो। गोरखा बजारका सबैजसो घरमा पानी हाहाकार भयो। होटल, रेष्टुरेन्टले अझै बढी समस्या भोग्नुपर्‍यो। 

पानी नभएर गोरखामा पानी हाहाकार भएको होइन। ट्यांकीमा पानी छ तर ग्राहकको धारामा पानी झर्दैन। खानेपानी उपभोक्ता समितिबिचको टसल र पानी वितरण प्रणाली व्यवस्थित नहुँदा गोरखाबासीले पानी पाएका छैनन्। 

गोरखा सदरमुकामलाई काकाकुल मुक्त बनाउने योजनाको रुपमा लिइएको दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण सकिएर पानी सुचारु भएको महिनौँ भयो। आयोजनाले दैनिक २५ लाख लिटर पानी वितरण गर्ने क्षमता राख्छ। तर यो पानी गोरखा बजारबासीको घरघरमा पुगेको छैन, आयोजनाको ट्यांकीमा संकलित मात्र छ। 

करिब ४१ करोड रुपैयाँ खर्चिएको वृहत दरौँदी लिफ्टीङ खानेपानी आयोजनाको पानी गोरखाबासीले प्रयोग गर्न पाएका छैनन्। पाँच हजार घरधुरीलाई सहज पिउने पानी उपलब्ध गराउने गरी सुरु भएको आयोजनाले पानी वितरण प्रणाली व्यवस्थित नगर्दा टंकीको पानी उपभोक्ताको घरघरमा पुग्न नसकेको हो। 

पानी वितरण गर्दै आएका उपभोक्ता समितिलाई पानी दिने गरी दरौँदी लिफ्टीङ सुरु भएको हो। दरौँदी लिफ्टीङ खानेपानीले आफैँ सोझै ग्राहकको घरघरमा पाइप बिछ्याएर पानी वितरण गर्दैन्। यसअघि पानी वितरण गरिरहेका वडा नम्बर ३ देखि ९ सम्मका उपभोक्ता समितिको ट्यांकीमा दरौँदी लिफ्टीङ खानेपानी आयोजनाले पानी पुर्‍याउँछ। ट्यांकीमा पठाएको पानीको युनिटको आधारमा दरौँदीले अन्य उपभोक्ता समितिसँग पैसा लिन्छ। 

‘अहिले हामीसँग २१ वटा स्थानीय उपभोक्ता समिति आबद्ध छन् त्यो मध्ये ६ वटालाई यसअघि परीक्षणका समयमा पानी पठाएका थियौँ’ दरौँदी वृहत लिफ्टीङ खानेपानी आयोजनाका अध्यक्ष बिनोद अर्यालले भने। 

गोरखा बजारका करिब १५ सय ग्राहकलाई पानी बितरणगर्दै आएको पृथ्वीनारायण साना सहरी खानेपानी आयोजनाले नियमित पानी वितरण गर्दैन। खोलाबाट सिधै ल्याइएकाले अत्याधिक धमिलो पानी प्रयोग गर्न उपभोक्ता बाध्य छन्। सदरमुकाम आसपासका अन्य उपभोक्ता समितिलेपनि नियमित पानी दिँदैनन्। अहिले निर्माण पुराभएको दरौँदी लिफ्टीङ खानेपानी आयोजनाबाट पानी लिने हो भने उपभोक्तालाई २४ सै घण्टा पानी वितरण गर्ने क्षमता उपभोक्ता समितिसँग हुन्छ। 

उनीहरु आफ्नो स्रोतबाट संकलन भएको पानी मात्रै उपभोक्तालाई दिने र उपभोक्ताबाट महशुस उठाउने गरिरहेका छन्। अहिले पानी वितरण गरिरहेका उपभोक्ता समितिपिच्छे महशुल पनि फरक–फरक छ। 

वृहत दरौँदी लिफ्टीङ खानेपानी आयोजनाले उपभोक्ता समितिले यसअघिको सम्झौता अनुसार महशुल नतिरेको बताएको छ। ‘उपभोक्ताबाट लिएको महशुल मध्ये २० प्रतिशत राखेर ८० प्रतिशत हामीलाई दिनु भन्दा उपभोक्ता समितिले मानेका छैनन्’ वृहत दरौँदी लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष अर्यालले भने।

सबै उपभोक्ता समिति र दरौँदी लिफ्टीङबिच समझदारी हुने र एउटै मूल्य कायम गर्ने हो भने करिब एक सय रुपैयाँमा १० हजार लिटर पानी उपभोक्ताले प्रयोग गर्ने पाउने उनले बताए। ‘हामीले पनि मुहशुल निर्धारण गरेका छैनौँ, महशुल निर्धारणपछि सहज हुन सक्छ’ उनले भने। 

उक्त आयोजना निर्माण कम्पनीले उपभोक्ता समितिलाई बुझाएको छैन। समितिले बुझ्न पनि मानेको छैन। अहिले आयोजना बुझ्दा त्यहाँ संचालनकालागि लाग्ने खर्च बेहोर्नुपर्ने भएकाले हस्तान्तरण हुन बाँकी रहेको अध्यक्ष बिनोद अर्यालले बताए। 

संघिय खानेपानी तथा ढल व्यवस्थापन विभागले सुख्खा क्षेत्र कार्यक्रम अन्तर्गत यो योजना निर्माण गरेको थियो। निर्माण कम्पनी चुँदी रमन जेभीका इन्जिनियर टिकाराम चालिसेले आयोजनामा पानी चलाउने, एक वर्ष मर्मत गर्ने अवधि अब दुई महिना मात्रै बाँकी रहेको बताए। साथै उनले आयोजनाको पानी उपभोक्ता समितिहरुले खपत नगर्दा पठाउन नसकिएको बताए। 

उपभोक्ता समितिहरुको भने फरक तर्क छ। पृथ्वीनारायण साना सहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष सिता खड्काले वृहत दरौँदी लिफ्टीङ खानेपानी आयोजनाको महशुल निर्धारण नहुँदा समस्या भएको बताईन। ‘हाम्रो मुहानमा पानी कम छ, धमिलो पानी  पनि कहिले कहिले आउँछ, उपभोक्ताले गाली गर्छन्’ उनले भनिन् ‘नियमित सुद्ध पानी उपभोक्तालाई दिने मन हामीलाईपनि छ तर कति  युनिटको कति दिने? अहिले सम्म १० लाख हामीले दिईसक्यौँ।’ 

गोरखा नगरपालिका, दरौँदी आयोजना, उपभोक्ता संस्थाहरु बसेर मूल्य निर्धारण गरी उपभोक्तालाई सहुलियतमा पानी दिने विषयमा साना सहरी सधैँ तयार रहेको तर यस विषयमा कसैले पहल नगरेको उनले बताईन। दरौँदी लिफ्टीङ लामो दुरीमा लिफ्ट भएकाले उपभोक्तालाई अहिलेको भन्दा महँगो पर्न सक्ने उनले बताईन। 

गोरखा नगरपालिका ४ को बाँझो गरा कुवा पानी खानेपानी उपभोक्ता समितिले दरौँदी लिफ्टीङ खानेपानीको पानी प्रयोग गर्दै आएको छ। उपभोक्ता समितिका अध्यक्ष अर्जुनजंग थापाले नयाँ दररेट नआउँदा सम्म अहिले १० हजार लिटर प्रयोग बापत तीन सय रुपैयाँ लिँदै आएको बताए। ‘पहिले हामीले चार हजार लिटरको तीन सय लिन्थ्यौँ’ उनले भने ‘दरौँदी लिफ्टको पानी मूल्य निर्धारण नहुँदा सम्मकालागि उपभोक्तालाई १० हजार लिटर तीन सयमा दिएका छौँ।’ नयाँ मूल्य निर्धारण भएको खण्डमा उपभोक्ताले तिर्ने मूल्य पनि फरक पर्ने उनले बताए। ‘त्यहाँबाट पानी प्रयोग गर्दा सहज त भएको छ तर नियमित पानी दिन सक्नुपर्छ।’ दरौँदी लिफ्टको मात्रै भर परेर यसअघिको स्रोतको बेवास्ता गर्दा कहिलेकाहीँ लामो समयसम्म दरौँदीले पानी वितरण नगर्ने गरेको उनले सुनाए। ‘दरौँदी लिफ्टीङ आयोजनाले उपभोक्ता समितिलाई विश्वास दिलाउने र उचित मूल्य निर्धारण गराउने हो भने सहज हुन्छ’ दरौँदी वृहत खानेपानीको सदस्य समेत रहेका उनले थपे। 

सोमवार दरौँदी खानेपानी आयोजनाको बारेमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी लिएका थिए। पानी टंकीमा हुने तर सर्वसाधारणले उपभोग गर्न नपाउने अवस्था हुन नहुने उनले बताए। ‘वितरण व्यवस्थापनमा सरोकारवाला सबै राखेर समन्वय गरी पानी वितरण अगाडी बढाउनुपर्छ’ उनले भने। 

गोरखाको सबैभन्दा ठुलो खानेपानी आयोजना दरौँदी लिफ्टिङ खानेपानी आयोजना जरेवर स्थित दरौँदी नदीबाट पानी तानेर पाँच ठाउँमा लिफ्ट प्रविधि मार्फत वितरण गरिएको छ। 

अहिले गोरखा सदरमुकाममा पानी वितरण गर्दै आएका आयोजनाले दैनिक १२ लाख लिटर पानी आपूर्ति गर्दै आएको तथ्याङ्क खानेपानी डिभिजनको छ। सुख्खायाममा यो क्रम अझै घट्ने देखिन्छ। गोरखा सदरमुकाममा अहिले पनि झण्डै २० देखि २५ लाख लिटर पानीको माग छ। करिब १५ वर्षसम्म दरौँदी लिफ्टले माग थेग्ने प्राविधिकहरु बताउँछन्।

प्रकाशित: ९ फाल्गुन २०७९ १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App