झापा- अबको ३० महिनाभित्र निर्माणकार्य पूरा गर्ने सरकारी बाचासहित झापाको बहुप्रतिक्षित चारआली–केचना सडकको फेरि शिलान्यास भएको छ। भौतिक योजना मन्त्री रमेश लेखकले सोमबार शिलान्यास गर्दै ‘यसपटक निर्धारित समयमै सडक बन्ने’ आश्वासन दिएका छन्।
दक्षिणी झापाका एक दर्जनभन्दा बढी गाउँलाई मुख्य राजमार्गसँग जोड्ने चारआली–केचना सडक स्थानीयबासीका लागि सुविधाभन्दा पनि सास्तीको माध्यम बढी भएको थियो। सडक पक्की हुन नसक्दा प्रत्येक बर्खामा हप्तौंसम्म यातायात अवरुद्ध हुने गरेको थियो । बर्खाको समयमा तथा झरी परेको बेलामा सडकमा खाल्डाखुल्डी परेर क्षतविक्षत हुने गरेको छ। बर्खामा दक्षिणका धेरै गाउँमा एम्बुलेन्स सेवासमेत नपुग्ने अवस्था आउने गरेको छ। अहिले पनि सडकको हालत उस्तै छ।
तर, सडक शिलान्यासका लागि मन्त्री तथा नेताहरु आउने भएपछि हतार–हतार मन्त्री पुग्ने ठाउँसम्मको सडकको खाल्डाखुल्डी पुरिएको थियो । रिबन काटेर शिलान्यास गर्दै गर्दा मन्त्री लेखकले भने ‘अब छठ पर्वपछिको ३० महिना भित्रमा यो समस्या हल हुनेछ।’ उनीसँगै आएका झापाकै काँग्रेस नेता सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, कृष्णप्रसाद सिटौला तथा अन्य सांसदहरुले पनि बाटो अब कुनै हालतमा बनेरै छाड्ने प्रतिबद्धता जनाए। यद्यपि गाउँ–गाउँबाट एकत्रित सर्वसाधारणले भने शंका अझै व्यक्त गरिरहेकै छन्। ‘यो सडक खाली शिलान्यास मात्रै हुन्छ, उद्घाटन हुँदैन, अहिलेसम्म भएको छैन, पृथ्वीनगर ५ का ५८ वर्षीय राजु गुरुङले भने ‘अब पनि त्यस्तै हुने शंका छ। बनाएपछि विश्वास गरौंला।’ उनले यो सडक दक्षिण झापाका लागि जरुरी रहेको बताए।
सर्वसाधारण यसरी सशंकित हुनुका पछि सडकसँग जोडिएको तितो विगत जिम्मेवार छ । हुलाकी राजमार्गमा पर्ने यो सडक पञ्चायतकालमै बन्ने चर्चा चुलिएको थियो । चारआली र पृथ्वीनगरको सोमबारेसम्मको २० किलोमिटर तथा राजगढदेखि भद्रपुरसम्मको २० किलोमिटर गरी जम्मा ४० किलोमिटरको सडक बनाउने भन्दै ययसअघि पटक–पटक शिलान्यास भएको थियो । चारआली–सोमबारे सडक तत्कालिन प्रधानमन्त्री किर्तिनिधि विष्टसहितले चार पटक र राजगढ–भद्रपुर सडक नौ पटक शिलान्यास भइसकेको छ। काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको मुलघर यही क्षेत्रमा पर्छ। मुलुकका प्रभावशाली नेताको गृहक्षेत्रकै यही सडक भने लामो समयदेखि बन्ने हल्लामै सिमित बनेर रहेको थियो।
प्रकाशित: १७ आश्विन २०७३ १३:०७ सोमबार