२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘युद्धभन्दा डरलाग्दो थियो ल्होत्से लुट’

नेपाली सेनामा १७ वर्ष सेवा गरेका धादिङ आगिनचोकका कृष्णबहादुर भट्टले तत्कालीन नेकपा माओवादीले राज्यसत्ताविरुद्ध सञ्चालन गरेको सशस्त्र युुद्धका क्रममा थुप्रै जोखिम बेहोरे। तर २०७९ फागुन १ गते माओवादीले देशमा जनयुद्ध दिवस मनाउँदै गर्दा काठमाडौं बालाजु बसपार्कछेउमा सशस्त्र युद्ध कालमा भन्दा ठुलो संकट आफूले झेल्नुपरेको उनले बताए।  

यातायात व्यवसायी र मजदुरले गरेको आन्दोलनका क्रममा उग्र समूहले ल्होत्से मलस्थित मोबाइल पसलको सटर फुटालेर लुटपाट गर्दाको क्षण सम्झँदा अहिले पनि उनको मन झसंग हुन्छ। ‘नेपाली सेनामा १७ वर्ष जागिर गर्दा संकटकाललगायतका थुप्रै समस्या भोगियो,’ विगत १० महिनादेखि ल्होत्से मलमा सुरक्षागार्ड रहेका ५५ वर्षीय भट्टले भने, ‘सोमबार (फागुन १ गते) को घटना माओवादीको सशस्त्र युद्धभन्दा पनि डरलाग्दो थियो।’  

त्यस दिन बिहान ६ बजेदेखि ड्युटीमा खटिएका भट्टले दिनभर सडकको तनावपछि साँझ ५ बजेतिर मलभित्रै समस्या भोग्नुपरेको सुनाए। हातमा ढुंगा लिएर पसल लुट्न आएका लुटेरालाई साथमा खुकुरी भए पनि प्रहार गर्न नसकेको उनले बताए। ‘लुटेरालाई प्रहार नगरी आफू र सामान जोगाउनुपर्ने बाध्यता थियो,’ चार सहकर्मीसहित ड्युटीमा खटिएका उनले भने, ‘त्यो क्षण युद्धभन्दा पनि डरलाग्दो रह्यो।’  

लुटेराको अनियन्त्रित भिडसँग लामो समयसम्म जुध्नुपर्दा निकै तनाव झेल्नुपरेको उनले बताए। ‘सहरको माझमा भएकाले सुरक्षाका लागि थप प्रहरी आइहाल्लान् भन्ने लागेको थियो,’ माओवादी सशस्त्र युद्धका बेला देशमा लगाइएको संकटकालमा मुगु जिल्लामा पनि खटिएका भट्टले भने, ‘तर दुर्गम मुगुमा भएको लडाइँमा भन्दा पनि धेरै तनाव फागुन १ गते ल्होत्से मल लुट्न आएका लुटेराबाट बेहोर्नुप¥यो।’ उनले लुटेराको भिडलाई भगाउन प्रयोग गरेको लौरोभन्दा पनि आफ्नो मन मजबुत बनाएको बताए। ‘लौरो भाँच्चियो तर कोलाहलमाझ मन भाँच्चिन दिइनँ,’ उनले भने, ‘कामप्रतिको जिम्मेवारीबोधले हार मानिनँ ।’  

लुटेराको उद्देश्य पसलका मोबाइल लिएर भाग्ने रहेकाले जीवनको क्षति भने हुन नपाएको उनको बुझाइ छ। ‘उनीहरूलाई हिर्काउँदै गर्दा दुईवटा लौरो भाँच्चिए,’ उनले भने, ‘तर लुटेराको भिड धेरै भएकाले अन्य पसल जोगाए पनि मोबाइल पसल जोगाउन सकिएन।’

त्यसबेला ९६ वर्षीया आमा, पत्नी र सन्तानलाई निकै सम्झेको उनले बताए। ‘घरमा पुग्दा उनीहरू निकै आत्तिएका थिए’, सानो भर्याङमा बस्दै आएका भट्टले भने, ‘राति ८ः३० बजेतिर पैदलै घर पुग्दा जीवन जोगिएको महसुस भयो।’  

पसलमा भएको लुटपाटसहितको सिसिटिभी फुटेज सार्वजनिक भएपछि धेरैले आफूलाई स्याबासी दिएको उनले बताए। ‘म काम गर्ने कम्पनीदेखि पसलका दाजुभाइले पनि मलाई हौसला दिनुभयो,’ उनले भने, ‘सोचेजति सामान जोगाउन नसके पनि मैले हारचाहिँ मानिनँ।’ भट्टलाई स्याबासी दिन पुगेका एक दम्पतीले लुटेराको भिडसँग उनी लडेको दृश्यले मन छोएको बताए। ‘मेरो पसल त बुटवलमा छ,’ पत्नीसहित स्याबासी दिन पुगेका वसन्त गैरेले भने, ‘लुटेराको समूहबाट पसल जोगाउन कृष्णबहादुर भट्टले गरेको प्रयासले हाम्रो मन छोयो।’  

यसअघि विभिन्न समयमा भएका आन्दोलनमा सार्वजनिक सम्पत्तिमा तोडफोड भए पनि व्यक्तिगत सम्पत्तिचाहिँ यसरी तोडफोड र लुटिएको थिएन। राजधानीमा यसरी अराजक भिडले पसलमा लुटपाट गर्दा प्रशासन कमजोरी भएको पुष्टि भएको प्रत्यक्षदर्शीले बताएका छन्। ‘ल्होत्से मल हैन, यसपटक सरकार नै लुटिएको हो,’ सामाजिक सञ्जालमा विनय थापा लेख्छन्, ‘सरकार यदि नलुटिएको हो भने चाँडै नै लुटेरा सबैलाई कानुनी दायरामा ल्याओस्। ’  

उनले भनेजस्तै राजधानीमै भएको यो घटनाको संसद्मा पनि आवाज उठेको छ, ‘यो देशमा सरकार छ कि छैन।’  

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भने, ‘यदि छ भने प्रधानमन्त्री निवासभन्दा ३ किलोमिटर पर लुटपाट हुँदा प्रहरी किन पुग्न सकेन।’  

गृह मन्त्रालयले घटनाको छानबिन गरी दोषीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहलाई निर्देशन दिएको छ। बालाजुको माछापोखरीमा प्रहरी र यातायात मजदुरबीच भएको झडप र क्षतिबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका डिआइजी मसाउद आलम खाँको नेतृत्वमा समिति गठन गरिएको छ।

नेपाल मोबाइल महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरूका माग सम्बोधन नगरे देशव्यापी रूपमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। ल्होत्से मलमा झण्डै १० करोड रूपैयाँ बराबरका सामान लुटपाट भएकाले त्यसको जिम्मेवारी आन्दोलनकारी यातायात व्यवसायी– मजदुर र राज्यले लिनुपर्ने उनले बताए। उनले जतिसक्दो चाँडो लुटेरालाई पक्राउ गरी मोबाइल व्यवसायीलाई राहत दिनुपर्ने माग गरे।  

ल्होत्से मलमा भएको लुटपाट र तोडफोडमा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरी सोधपुछ थालिएको प्रहरीले जनाएको छ। सिसिटिभी फुटेजका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी मनोज केसीले बताए। लुटपाटमा संलग्न अन्यको खोजी कार्य जारी रहेको जानकारी उनले दिए। ज्यान जोखिमा राख्दा पनि मोबाइल पसल जोगाउन नसकेकोमा नरमाइलो मानिरहेका सुरक्षागार्ड भट्टले लुटेरा पक्राउ पर्न थालेको खबरले आफूलाई केही शान्ति मिलेको बताए। ‘लुटेरा पक्राउ पर्न थालेको खबरले तनाव केही कम हुँदै गएको छ,’ उनले भने, ‘लुटिएका सबै सामान र लुटेरा पक्राउ परेको दिन निकै खुसी हुनेछु।’

प्रकाशित: ५ फाल्गुन २०७९ ००:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App