२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

नेपाली संस्कृति, विदेशी प्रस्तुति

नेपाली संस्कृतिसम्बन्धी नाटक तथा नृत्य प्रस्तुत गर्दै विभिन्न देशका कलाकार। तस्बिर: नागरिक

पछिल्लो समय वैदिक नेपाल संस्कार र संस्कृतिमा ह्रास आएको भनेर धेरैले चासो र चिन्ता व्यक्त गरेका छन्। तर संरक्षण र प्रवद्र्धनमा कहीं कतैबाट उल्लेख्य प्रयास भएको भेटिन्न। जानेर या नजानेर अन्यत्रैबाट आयातित चाल चलनलाई अहिले धुमधामका साथ अपनाउने र यहाँका संस्कार, संस्कृति र चाल चलनलाई बिस्तारै भुल्ने क्रम बढ्दो छ। हराउँदै गएको संस्कार, संस्कृति र सनातन धर्म रक्षाका लागि बागलुङमा मंगलबार साँझ एक कार्यक्रमको आयोजना गरियो। कार्यक्रमको नाम थियो– महारात्री, नेपाली संस्कृति, विदेशी प्रस्तुति।  

कार्यक्रमको नाम सुनेर धेरैले आश्चार्य माने। नेपाली नै नेपाली संस्कार र संस्कृति बिर्सदै गएका बेला विदेशीले नेपाली संस्कृतिबारे प्रस्तुति दिने? दिन ढलेर सन्ध्याले धर्तीलाई अंगाल्दै गर्दा बागलुङ नगरपालिका–३, किनाराटोलस्थित जोजोलपा ब्यांक्वेटमा दर्शकको उपस्थिति बाक्लिन थाल्यो। साँझको ६ बज्दानबज्दै हल खचाखच भरियो।  

यस्तो कार्यक्रम विगतमा पनि गरिएको थियो। चार वर्षअगाडि यस्तै कार्यक्रम हेर्ने मौका पाएका भने यसपटक पनि उत्साहित देखिन्थे। पहिलोचोटी यो कार्यक्रम हेर्न आएका मानिसमा भने कौतुहलता बढी देखिन्थ्यो। दर्शकले हल भरिएपछि उद्घोषकको जिम्मा सम्हालेका डा. देवराज श्रेष्ठले कार्यक्रमको थालनी गरे। हलभित्रको बत्ती निभ्यो। पार्टी प्यालेस नाटकघरमा परिणत भयो। स्टेजमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै विदेशी अनुहारका कलाकार देखापरे। दर्शक कक्षबाट चर्को हुटिङ भयो। केही अचम्म मान्दै कानेखुसी गर्न लागे।  

दर्शकले खचाखच भरिएको हलमा सवा ६ बजे ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ बोलको नेपाली राष्ट्रिय गानले हल गुन्जियो। दर्शकले पनि सिट (कुर्ची) बाट उठेर विदेशी कलाकारसँगै राष्ट्रिय गान गाउन थाले। यस्तै यस्तै विभिन्न आकर्षर्क प्रस्तुति भइरहे। दर्शकले मनोरन्जन लिँदालिँदै करिब साढे दुई घण्टाको ‘नेपाली संस्कृति, विदेशी प्रस्तुति’ कार्यक्रम सकियो।  विश्वका १० वटा देशबाट बागलुङ आएका कलाकारको जादुमयी प्रस्तुतिले जो कोहीमा पनि पूर्वीय दर्शनबारेमा सोच्ने र किताब किनेर पढ्ने विचार जन्माइदियो। चलचित्रको पर्दामा झै बिनारोकावट दिइएका प्रस्तुतिले मनोरन्जन र ज्ञान दुवै प्रदान गरे। छिनभरमै नेपाली भजनमा नृत्य र छिनभरमै चलचित्रको नाटक जस्तो हाउभाउ र प्रस्तुतिले आनन्द दिइरहे। कहिले वृन्दावनमा कृष्णसँग रमाउँदै गरेका गोपिनी त कहिले खतरनाक काली भगवतीको रूप धारण गरेका कलाकारको प्रस्तुतिले उपस्थित दर्शकलाई निमेषभर झर्को मान्नुपरेन।  

बागलुङका कालिका भगवतीको महिमासँग जोडिएको राजा जड भरतको कथासँग सम्बन्धित नाटकले सबैलाई मोहित पारेको थियो। ‘चार वर्षअगाडि पनि मैले यो कार्यक्रम केही अंश हेर्न पाएको थिएँ, पछुतो नहोस् भनेर यसपटक चाँडै आइपुगें र अगाडि बसेर हेरें,’ छोरीसहित कार्यक्रम हलमा पुगेका पत्रकार महासंघ बागलुङका कार्यबाहक अध्यक्ष नवीन शिशिर विकले भने, ‘छोरीले पनि निकै चाख मानेर हेरिन्। यो साँझ आनन्द र उल्लासपूर्ण भयो।’  

विभिन्न १० देशका २५ जना कलाकार र इस्कोन बागलुङका कलाकारहरूको नाटकसहितको प्रस्तुतिले कार्यक्रममा सहभागीको मन जित्यो। विदेशी भएर पनि नेपाली भेषभुषा र संस्कृतिमा गरिएको प्रस्तुतिले सुरुदेखि अन्त्यसम्म प्रशंसा पाइरह्यो। इस्कोनमा आबद्ध रुस, युक्रेन, इटली, बेलारुस, फ्रान्स, स्पेन, हंगेरी, काजिकिस्तान, भारत र नेपालका कलाकारले गीत, नाच र नाटक प्रस्तुत गरेका थिए। साढ दुई घण्टाको अवधिमा श्रीकृष्ण र भागवत गीतासँग सम्बन्धित १० वटा नृत्य, दुईवटा नाटक र एउटा प्रवचन प्रस्तुत गरिएको थियो। गज्जबको साउन्ड सिस्टम, लाइट र प्रस्तुतिको तारतम्यले दर्शकलाई एकटकले स्टेज तर्फ हेरिरहे। नाटकमार्फत भगवान कृष्णका लिलासम्बन्धी कथालाई कलात्मक प्रस्तुत गरियो। अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) नेपालका उपाध्यक्ष एवं वागलुङका प्रमुख परमेश्वर अच्युतकृष्ण दासले प्रवचन दिने क्रममा भने, ‘विदेशीहरू हाम्रो संस्कार, संस्कृति र धर्म निकै उत्तम छ भनेर यताको सिको गर्दैछन्। हामीले भने आधुनिक बन्ने बहानामा आफ्नो संस्कृति कुल्चेर हिँडेका छौं।’

नेपालमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएकाले नेपालीलाई आफ्नो संस्कार र सस्कृति संरक्षणमा जागृत गर्न कार्यक्रम गरिएको उनले बताए। ‘पूर्वीय दर्शन र नेपाली संस्कृति विश्वलाई चकित पार्ने खालको छ, यसबारे विश्वका विद्वानले अध्ययन अनुसन्धान गरिरहेका छन्,’ उनले भने, ‘हामी भने बत्तीमुनिको अँध्यारो जस्तो भएर, अर्काको देखासिकी गरेर विदेशी संस्कार अँगालिरहेका छौं।’

१० देशका कलाकारको नेतृत्व गरिरहेकी माधुर्य कादम्बिनीदेवी दासीले नेपालको संस्कार र संस्कृतिको पटकपटक प्रशंसा गरिन्। उनले भागवत गीता र श्रीकृष्ण लिलाले जीवनको अस्तित्व सिकाउने बताइन्। उनले भनिन्, ‘तपाईंहरूको संस्कार र संस्कृतिभित्र जीवन छ। त्यसलाई बुझ्नुभयो भने तपाईंको दुःखको अन्त्य हुन्छ।’

कार्यक्रम हेरिसकेपछि दर्शक सुदिप राजभण्डारीले भने, ‘विदेशका कलाकार भएर पनि हाम्रो (नेपाली) कला र संस्कृतिबारे यति धेरै चासो र ज्ञान राखेर हामीलाई नै दीक्षित गर्नेगरी प्रस्तुति गर्नु निकै ठूलो कुरा हो,। हामीले आधुनिक बन्न अरूको चालचलनको नक्कल गर्नु पर्दैन, हाम्रो संस्कार जोगाउन सके मात्र हुन्छ भन्ने शिक्षा प्रस्तुतिबाट दिन खोजिएको पाएँ।’ विदेशी कलाकारले नेपाली संस्कार र दर्शनको ऐना देखाएको उनको प्रक्रिया थियो। कार्यक्रम अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) बाग्लुङले गरेको थियो।

प्रकाशित: ४ फाल्गुन २०७९ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App