६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

एक वर्ष पछि खुल्यो विराटनगर नाका, भाण्टावारी रि–रुट खारेज

भारतको जोगवनी नजिकैको नयाँ मिरगञ्ज पुल। फाइल तस्बिर।

भारतको जागबनी नजिकैको मिरगञ्ज पुल भासिएर अवरुद्ध भएको विराटनगर नाका एक वर्ष पछि खुलेको छ।

पुरानो पुल भासिएर गत वर्षको पुस देखि अवरुद्ध भएको  विराटनगर नाकाको आयात–निर्यात नयाँ पुल सञ्चालनमा आएसँगै खुलेको हो।

पुरानो पुल भासिएर मालवाहक सवारी रोकिएपछि एक वर्ष देखि भारत तथा तेस्रो मुलुकबाट विराटनगर नाका हुँदै हुने आयात–निर्यात रोकिएको थियो। अनौपचारिक रूपमा दुई महिना अघि देखि नै पुल सञ्चालनमा आएर नाका खुलेको भए पनि भारतीय पक्षले सूचना निकालेर पुलबाट आवत-जावत गर्न सकिने अनुमति दिएपछि औपचारिक रूपमा विराटनगर नाकाबाट हुने आयात निर्यात सुचारु भएको हो।

पुल भासिएर सडक अवरुद्ध हुँदा विराटनगर नाकाबाट हुने आयात–निर्यात एक सय १६ किलोमिटर घुमाएर सुनसरीको भण्टावारी नाकाबाट हुँदै आएको थियो। पुल अवरुद्ध हुँदा प्रति कन्टिनर १६ हजार रुपैयाँ ढुवानी लागत थपिएको उद्योगी व्यवसायी बताउँछन्। अब, एक सय १६ किलोमिटर घुमाएर ल्याउनुपर्ने मालसामान ४ किलो मिटर दुरीमै विराटनगर आइपुगेका कारण ढुवानीमा भइरहेको खर्च कटौती भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए।

‘लामो समय देखि हामीले पुल सञ्चालन गर्न गरेको प्रयास स्वरूप भारतीय पक्षले दुई महिना पहिले अनौपचारिक र अब, औपचारिक रूपमै अनुमति दिएको छ ’ उनले भने।

अनौपचारिक रूपमा दुई महिना पहिलै पुल संचालनमा आए पनि भारतबाट आयात भएका बस्तुहरूमात्रै जोगवनि नाकाबाट आउने गरेका थिए। तेस्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टावारी नाका नै प्रयोग हुँदै आएको थियो। तर अहिले भारतको कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गर्दै मीरगञ्ज पुल हुँदै आवत–जावत खुलेको जनाएपछि अब, सबै खाले मालवाहक सवारी विराटनगर नाका हुँदै आवत जावत गर्न थालेका छन्।

भारतको पटना स्थित कष्टम विभागले सूचना जारी गरी नयाँ मीरगञ्ज पुल संचालनमा आएको र त्यसबाट मालवाहक आवत जावत गर्ने अनुमति दिइएको जनाएको छ। यस अघि भारतका जोगवनी स्थित ल्यान्ड कष्टम र आइसीपी बिच समन्वय हुन नसक्दा आंशिक रूपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो। कष्टम विभागले नै सूचना जारी गरेपछि अब तेस्रो मुलुकबाट आउने र जाने सामानका लागि भण्टावारी नाका पुग्नु नपर्नै जनाउँदै आफ्ना मातहतका सबै निकायलाई बोधार्थ दिँदै सूचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको रिजालले जानकारी दिए। पुल पूर्ण रूपमा संचालनमा आएपछि अहिले दैनिक दुई सय सम्म मालवाहक सवारी साधना भारतीय कष्टम हुँदै विराटनगर आइसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

एउटा मालवाहक सवारी भीमनगर हुँदै १ सय १६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नु परिरहेको थियो। मीरगञ्ज पुल भासिँदा विराटनगर भन्सारको राजस्व संकलनमा ठुलो गिरावट आएको थियो।

जोगवनी नाकाबाट मालवाहक जान नसकेपछि सुनसरीको भण्टावारी नाकाबाट रि–रुट भएर आउँदा एउटा कण्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए। जसका कारण एक वर्षमा व्यवसायीहरूले ११ करोड ५२ लाखको बराबरको अतिरिक्त ढुवानी भाडा तिरेको मोरङ व्यापार संघले जनाएको छ।

भारतीय पक्षको २०२२ जनवरी ११ को सूचनाले जारी गरी मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गो आवत–जावत जोगवनी नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सुचारु गरिएको थियो। अहिले उक्त सूचनाले रोकेको आवत जावतको प्रतिबन्ध फुकुवा गर्दै भीमनगर तर्फको रि–रुटसमेत  खारेज गरी पुल निर्माण सम्पन्न भएकाले पहिलेकै अवस्थामा जोगवनी भन्सार र आइसीपीबाट मालवाहक सवारी आवत जावत खुल्ला गरेको भारतीय पक्षले जानकारी दिएको मोरङ व्यापार संघले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०७९ १४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App