२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जनयुद्ध दिवसको अवसरमा उदयपुरमा दीप प्रज्वलन

‘२८ औँ जनयुद्ध दिवस ०७९’ को अवसरमा उदयपुरमा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ। 

०५२ फागुन १ गते जनयुद्ध सुरु गरेको स्मरणमा नेकपा (माओवादी केन्द्र) ले जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहमा दीप प्रज्वलन गर्दै दिवस मनाएको हो। गाईघाटमा आयोजित दिवसमा दीपावली गर्दै संविधानसभा सदस्य तथा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य मोहन खत्री (दिपक), प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा सांसद सम्झना तामाङ (योद्धा) र पार्टी नगर कमिटी तथा त्रियुगा १६ का वडाध्यक्ष मानबहादुर राईले सम्बोधन गरेका थिए।

केन्द्रीय सदस्य खत्रीले २८ वर्षअघि ४० सुत्रीय माग राख्दै जनयुद्धमा होमिएको माओवादीकै कारण आज देशमा अढाई सय वर्ष लामो राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए।

जनयुद्ध सुरु गरेको दिन प्रहरी कुटाई खाएको स्मरण गर्दै खत्रीले १७ हजार नेपाली जनताको साहसिक बलिदानबाट देशमा संघीयता प्राप्त भएको र त्यसले ४० सूत्रीयमध्ये अधिकांश माग पुरा गरेको भन्दै बाँकी अधिकार पाउन प्राप्त अधिकारको रक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

दश वर्षे जनयुद्धले देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था प्राप्त भएको तथा महिला, आदिवासी, जनजाति, दलित, पिछडा वर्ग र सीमान्तकृत समुदायले वर्षौँपछि राजनीतिक र सामाजिक अधिकार पाएर समान नागरिकको हैसियत बनाएको उनको भनाई थियो।

प्रदेश सांसद तामाङले सदियौँदेखि दोस्रो दर्जाको नागरिकको रुपमा रही आएका महिलाहरु जनयुद्धले चेतना भर्दै चुला चौका छाडेर काखको बच्चा पिठ्युँमा च्याप्दै बन्दुक बोकेर युद्ध लड्न सक्ने भएको बत्ताइन्।

उनले आज देशमा समावेशी समानुपातिक व्यवस्था ल्याएर गाउँ गाउँमा सिंहदरबारको अधिकार पाउनुको मुख्य कारक जनयुद्ध भएको बत्ताइन्। जनयुद्धकै कारण देशमा संघीयता र गणतन्त्र प्राप्त भएको भन्दै अझै धेरै अधिकार पाउन बाँकी रहेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका लागि लड्न जनयुद्ध दिवसले ऊर्जा थप्ने बत्ताइन्।

नगर कमिटी अध्यक्ष राईले जनयुद्धको जगमा देशमा परिवर्तन आएपछिको १५ वर्षपछि भए पनि सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएकोमा सरकारलाई धन्यबाद दिए। उनले जनयुद्ध सफल बनाउने सहिदप्रति सम्मान गर्दै बेपत्ताको स्मरण र घाइते अपाङ्गको स्वास्थ्य लाभको कामना  गरे।

वाईसिएल नेपाल उदयपुरका इन्चार्ज ज्ञानेन्द्र मगरका अनुसार पार्टी नगर कमिटीले गाईघाटलगायत त्रियुगा नगरपालिकाका १६ वटै वडामा दीप प्रज्वलन गर्दै जनयुद्ध दिवस मनाएको छ। जस अनुसार अनुसार १ नं. को हाटडाँडा, २ को जोगीदह, ३ को मोतिगडा, ४ को बगाहा, ५ को श्रीपुर, ६ को जलजले, ७ को चुहाडेमा दीपावली गरिएको छ । त्यस्तै ८ नं. वडाको राजाबास, ९ को गहिरुन, १० को बोक्से, ११ को गाईघाट, १२ को पुरानो गाईघाट, १३ को असारी, १४ को साउने, १५ को खाँबु र १६ नं. वडाको चिलाउनेमा दीप प्रज्वलन गरिएको पार्टी नगर कमिटीले जनाएको छ।

त्यसैगरी जिल्लाका चौदण्डीगढी, कटारी र बेलका नगरपालिकाका विभिन्न वडाहरू तथा रौतामाई, लिमचुङबुङ, उदयपुर गढी र ताप्ली गाउँपालिकामा पनि दीपावली र अन्य विविध गतिविधि गर्दै जनयुद्ध दिवस मनाइएको स्थानीय पार्टी कमिटीहरूले जनाएका छन्।

प्रकाशित: १ फाल्गुन २०७९ १६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App