छ लेन सडक विस्तारका लागि इटहरीको मुख्य बजार क्षेत्रका थप घरहरू भत्काइएको छ।
व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रूपमा विस्तार गर्न इटहरीको चौरास्त चोकदेखि दक्षिणतर्फ विराटनगर लाइनका थप घरहरू आइतबार भत्काइएको हो।
उप-महानगरपालिकाका मेयर हेमकर्ण पौडेलको नेतृत्वमा इटहरी वडा नं. ६ का घरहरू भत्काइएको हो। इटहरी उपमहानगरपालिकाले वडा नंं. ९ मा पर्ने सडक क्षेत्राधिकारभित्र पर्ने १४ वटा घरहरू दुई साता अघि भत्काएको थियो।
वडा नं. ६ मा पर्ने ३४ घर भत्काउन शनिवार (माघ २८ गते) सम्मको अन्तिम समय सीमा तोकिएकोमा कतिपयले अटेर गरेपछि मेयर पौडेल नेतृत्व टोलीले डोजर प्रयोग गरी घर भत्काएको हो।
सडक क्षेत्रमा पर्ने घरहरू भत्काउन मेयर पौडेल आफै सम्बन्धित घरधनीलाई भेटेर सम्झाएका थिए। यद्यपि, धेरैजसो घरहरू घरधनी आफैले भत्काए पनि छ वटा हाराहारी घर भने घरधनीले भत्काउन अटेर गरेका थिए।
मेयर पौडेलले ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाइमा घरहरू भत्काइएको हो। केही सीमित घरहरू भत्काउने प्रक्रियामा रहेकाले गर्दा थप तीन दिन समय माग गरेको पनि उप-महानगरपालिकाले जनाएको छ।
घर भत्काउन अटेर गरेकै कारण इटहरीको मुख्य बजार क्षेत्रको चौरास्त चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै तीन सय मिटर सडक विस्तार हुन सकेको छैन। तर, अब घरहरू भत्काएसँगै सडक विस्तार हुनेछ।
सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित रूपमा उपमहानगरले भत्काउने पनि मेयर पौडेलले बताए।
छ लेन सडक विस्तार आयोजनाका अनुसार इटहरी बजारदेखि उत्तरतर्फ सेनाको मुख्यालयसम्म २०–२० मिटर सडक विस्तार गर्न घर भत्काउनु परेन। फुटपाथ बनाउन भने घर पनि भत्काउनुपर्छ। तर, अहिले त्यो काम अघि बढेको छैन। उपमहानगरपालिकाले अब भने फुटपाथका लागि पनि इटहरीको चौरास्त चोकभन्दा उत्तरतर्फ केही घर भत्काउने प्रक्रिया अघि बढाउने योजना बनाएको जनाएको छ।
आयोजनाले यसअघि सम्पूर्ण जग्गा लिएर मात्र काम गर्छु भन्दा कुनै पनि काम अघि नबढ्ने निष्कर्ष निकालेर फुटपाथ बाहेकको सडक विस्तार गरेको थियो।
इटहरी बजारको चौरास्त चोकभन्दा दक्षिणतर्फ भने अहिले २० मिटर सडक छ। यसमा सरोकारवालासँग भएको सहमति अनुसार दुवैतर्फ १५–१५ मिटर विस्तार गर्ने निर्णय भए पनि घर नभत्काउँदा सडक विस्तार हुन सकेको थिएन।
कोसी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानसम्म विस्तार हुन बाँकी छ। पछिल्लो समय धरानको तीनकुनेदेखि सेउतीसम्म झन्डै चार किलोमिटर सडक विस्तार भइसकेको, छ लेन सडक विस्तार आयोजना इटहरीकी इन्जिनियर अस्मिता सुवेदीले बताइन्।
पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ। थपिएको समयमा सडक निर्माण पूरा हुने छ लेन सडक विस्तार आयोजनाको दाबी छ।
२०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो। पछिल्लो समय थप गरिएको छ। पुरै सडक निर्माण गर्दा सुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो।
प्रकाशित: २९ माघ २०७९ ११:४९ आइतबार