४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

लागू औषधविरुद्ध प्रहरीको मनोसामाजिक परामर्श

लागूऔषधविरुद्ध मनोसामाजिक परामर्शमा सहभागी स्थानीय। तस्बिरः महेश्वर

मधेस प्रदेशसँग सिमाना जोडिएको उदयपुरका विभिन्न ठाउँमा उदयपुर प्रहरीले लागू औषधविरुद्ध मनोसामाजिक परामर्श अभियान थालेको छ। दिनदिनै समाजमा व्याप्त हुँदै गएको लागू औषध न्यूनीकरण गर्ने उद्देश्यले लागू औषध प्रभावित क्षेत्रहरुमा परामर्श अभियान सञ्चालन कार्य थालेको हो।

जस अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरले मधेस प्रदेशको सप्तरीसँग सीमा जोडिएको त्रियुगा नगरपालिका ६ को लालपत्ताबाट अभियानको सुरुवात गरेको छ। त्यसका लागि स्थानीय १० जना लागू औषध प्रयोगकर्ताहरुलाई प्रारम्भिक आवश्यक परामर्श दिइएको छ। लागू औषध उदयपुर भित्रिने ठाउँहरूमा ‘अस्थायी होल्डिङ सेन्टर’समेत स्थापना गर्दै परामर्श दिने उद्देश्यले अभियानको थाली गरिएको हो।

पहिलो दिन लालपत्तामा १० जना प्रयोगकर्तासँगै अन्य व्यक्तिहरुसमेत गरी २२ जनालाई जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेश पोदारले आवश्यक मनो सामाजिक परामर्श दिएका थिए। सो अवसरमा परामर्श डिएसपी पोदारले लागू औषधका दुर्व्यसनबाट हुनसक्ने मानव स्वास्थ्यमा हानि नोक्सानी तथा परिवार, समाज र देशलाई पुग्ने क्षतिबारे जानकारी गराएका थिए। 

जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले उदयपुर पछिल्लो केही दशकयता लागू औषधको अत्याधिक आयात, प्रयोग, बिक्री वितरणसमेत हुने गरेको बताउँदै त्यसलाई न्यूनीकरण गर्न अभियान थालिएको बताए। उदयपुरमा खास गरी मधेस प्रदेशसँग जोडिएका सीमा नाकाबाट अत्याधिक परिमाणमा लागू औषध बित्रिने गरेको पनि एसपी फुयालले बताए। 

धेरै मात्रामा लागू औषध उदयपुर भित्रिने नाकामध्ये सबभन्दा ठुलो त्यही लालपत्ता रहेको छ। सदरमुकाम गाईघाट बजारसँग जोडिएको गाईघाट–कदमाहा–लाहान सडकमा पर्ने लालपत्तामा नियमित चेकजाँच गर्नुको बाबजुद पनि उल्लेख्य मात्रामा लागू औषध भित्रिने गरेको प्रहरी अभिलेखले देखाएको छ। सप्तरीतर्फ इलाका प्रहरी कार्यालय भेडिया र  उदयपुरतर्फ प्रहरी चौकी लालपत्ता खडा गरेर सुरक्षा तैनाथ गरिए पनि लागू औषध बिभिने क्रम नरोकिएको प्रहरी भनाई छ। 

उता पश्चिमतर्फ सिराहाको मिर्चया नाका भएर कटारी नगरपालिकाका बजारतर्फ लागू औषध भित्रिने गरेको प्रमाण प्रहरीसँग छ। त्यस्तै दक्षिण–पूर्वतर्फ सप्तरीकै फत्तेपुरसँग जोडिएको चौदण्डीगढी नगरपालिका ५ शिवाई नाका भएर बेलटार बजारमा लागू औषधि भित्रिने गर्छ भने पूर्वमा सुनसरीसँग सीमा जोडिएको बेलाका नगरपालिका ८ चतारा नाका भएर पनि उत्तिकै लागू औषध भित्रिने गरेको तथ्यांक प्रहरीसँग छ। 

यी चारै नाकाहरुबाट लागू औषध जिल्ला भित्रिने मात्र नभई उदयपुरमा उत्पादन हुने अवैध गाँजा सोही नाका भएर तराई जिल्ला हुँदै भारतीय बजारसम्म पु¥याउने तस्करी गिरोह पनि उत्तिकै सक्रिय रहेको प्रहरी अनुभव छ। लागू औषध भित्रिन नदिन र गाँजा नियन्त्रण गर्न यीनै नाकाहरुमा प्रशस्त खबरदारी गर्ने काम भइरहेको एसपी फुयालले बताए। यति हुँदाहुँदै पनि प्रहरी आँखा छलेर विभिन्न माध्यमबाट लागू औषधको ओसार पसारको क्रम नघटेकाले परामर्श अभियान र होल्डिङ सेन्टर स्थापना कार्य प्रहरीले थालेको उनले बताए।

प्रकाशित: २८ माघ २०७९ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App