कालिकोटमा सञ्चालित अटो व्यवसायीहरूले ट्राफिक नियम पालना नगरे कारबाही गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय कालिकोटमा बसेको अटो व्यवसायीसँगको समन्वयात्मक बैठकमा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले यस्तो बताएका हुन्।
अटो व्यवसायीसँगको बैठकमा प्रजिअले अनिवार्य चालक अनुमतिपत्र हुनुपर्ने, सम्बन्धित स्थानीय तहमा सवारी साधन दर्ता तथा नवीकरण भएको हुनुपर्ने, चालकले आफ्नो यात्रु र सवारीको बिमा गरेको हुनुपर्नेलगायतका निर्णय गरिएको छ।
प्रजिअ माझीको अध्यक्षतामा बसेको बैठकमा सवारी साधनमा कति यात्रु राख्ने उल्लेख भएको बिलबुक हुनुपर्ने र पार्किङ तोकिएको ठाउँमा गर्नुपर्नेलगायतका निर्णय गरिएको छ।
बैठकमा जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले अधिकारप्राप्त निकायबाट प्राप्त सवारी चालक अनुमति पत्र अनिवार्य रूपमा लिएर मात्र सवारी साधन चलाउनुपर्ने र सम्बन्धित स्थानीय तहमा सवारी साधन अनिवार्य रूपमा दर्ता गरिएको हुनुपर्ने विषयलाई गम्भीर रूपमा नलिए अटो चालकलाई जुनसुकै बेला पनि कानुनको दायरामा ल्याइने बताए।
रिमालका अनुसार सम्बन्धित सवारी चालकले सवारी र यात्रु बिमा अनिवार्य रूपमा गरिएको हुनुपर्ने अधिकार निकायबाट जारी गरिएको सवारी पास बिलबुकमा उल्लिखित भएबमोजिमको क्षमताअनुसार यात्रु ओसारपसार गर्नुपर्नेसमेत निर्देशन दिए।
यसैगरी प्रजिअ माझीले अटोचालकलाई समयमै सचेत नभए भोलिका दिन पछुताउनुपर्ने भएकाले सबैले ध्यान दिनुपर्ने निर्देशन दिए। प्रजिअ माझीले केही दिनअघि मात्रै तिलागुफामा भएको अटो दुर्घटनाबाट ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे।
सवारी चालकले सवारी साधन पार्किङ गर्दा सम्बन्धित स्थानीय तहले तोकेको ठाउँमा मात्र पार्किङका साथै अव्यवस्थित रूपमा पार्किङ जहाँतहीं गर्ने चलन अब नहुने उनले स्पष्ट पारे।
यसैगरी खाँडाचक्र नगरपालिका– १ का वडाध्यक्ष धर्मराज ताम्राकारले सवारी चालकले मादक पदार्थ सेवन गरी अटो रिक्सा चलाउने गरेको गुनासो वडामा आएकाले यसो गरेको पाइए नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताए।
सदरमुकाम मान्ममा नगरपालिकाबाट तोकिएको रुटबमोजिम सवारी साधन चलाउने विषयमा अटो चालक गम्भीर हुनुपर्नेमा जोड दिए। यात्रुहरूको गुनासो मनोमानी रूपमा भाडा असुल गरिएको जनगुनासा आएकाले सम्बन्धित स्थानीय पालिकाले निर्धारण गरेबमोजिम भाडा मात्र लिन पाइने भएकाले अन्य थालिएको पाइएमा नियमानुसार कारबाही गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने अध्यक्ष ताम्राकारले बताए।
प्रकाशित: २६ माघ २०७९ ०१:५२ बिहीबार