coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सार्वजनिक जग्गा जोगाउँदै धरान उपमहानगरपालिका

दुई साताअघि धरान उपमहानगरपालिकाले डोजर चलाएर घर भत्काएको वडा नं ५ स्थित अधेरी खोला किनारको सार्वजनिक जग्गा पुनः अतिक्रमणबाट जोगाउन काम अघि बढाएको छ।  वडा कार्यालयले खेलमैदान बनाउन अधेरी खोलातर्फ रिटेनिङ वाल लगाए पनि सार्वजनिक जग्गा सिमांकन नगर्दा अतिक्रमण बढेपछि उपमहानगरले संरक्षण कार्य अघि बढाएको हो।

उपमहानगरले उक्त जग्गालाई चारैतिर सिमांकन गरेर घेराबारा गर्ने कार्य अघि बढाएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए। उनका अनुसार मंगलबार र बुधबार २ दिन लगातार उपमहानगरको सहित २ वटा डोजरले उत्तर, दक्षिण र पश्चिमतर्फ पनि सिमांकन गरेको छ। वडाले विगतमा खेल मैदान बनाउने उद्देश्य लिएर संरक्षण गरेको जग्गालाई सिमांकन गरिसकेपछि घेराबारा पनि गर्ने योजना उपमहानगरले बनाएको उनले जानकारी दिए।

खेलमैदान सिमांकन गर्ने क्रममा सार्वजनिक जग्गामा घर बनाउन व्यक्तिले घेराबारा गरेको र पिलरसमेत उठाएको भौतिक संरचना पनि डोजरले भत्काइदिएको थियो। माघ ८ गते पनि अतिक्रमण गरी निर्माण हुँदै गरेको घरमा उपमहानगरले डोजर चलाएको थियो। त्यस क्रममा प्रहरी र स्थानीय युवाहरूबिच केहीबेर झडप पनि भएको थियो। कडा सुरक्षाबिच उपमहानगरले डोजर चलाएको कारण बुधबार भने स्थानीयले प्रतिरोध गरेनन्। यद्यपि, धेरै पहिलादेखि आफूहरूले भोगचलन गर्दै आएको र खरिद गरेको जग्गा उपभोग गर्न नपाएको भन्दै केही व्यक्तिहरुले गुनासो पनि गरेका थिए। 

धरान उपमहानगरपालिका अव्यवस्थित सुकुम्बासीहरुको अत्यधिक बसोबास भएको सहरमा पर्छ। यहाँको सर्दु, सेउती खोलासहितको अन्य खहरे खोला किनारको जग्गा अतिक्रमण गरी हजारौँ परिवार बसेका छन्। अव्यवस्थित सुकुम्बासी व्यवस्थापन धरानको प्रमुख चुनौतीमध्येमै पर्छ। गत बैशाखमा मेयरमा निवार्चित हर्क साम्पाङले पुराना घरहरू नहटाउने तर सार्वजनिक जग्गा अतिक्रमण गरी नयाँ घर बन्न नदिने बताउँदै आएका छन्।

प्रकाशित: २५ माघ २०७९ १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App