१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कार्यालय प्रमुख नहुँदा रोकियो भुक्तानी

तस्वीरः ललित विष्ट

कालिकोटका अधिकांश सरकारी कार्यालयका प्रमुखहरु जिल्ला बाहिर छन्। कार्यालय प्रमुखहरु कार्यालयमा नहुँदा उपभोक्ता तथा ठेकेदारलाई दिनुपर्ने सबै भुक्तानी रोकिएको छ। कृषि विकास कार्यालय,खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयबाट सम्झौता भएका योजनाहरु सम्पन्न भएपनि कार्यालय प्रमुख नहुँदा भुक्तानी रोकिएको हो। कोही कार्यालय प्रमुख घर बिदा र कोही आफ्नै कामले जिल्ला बाहिर हुँदा उनीहरु मारमा परेका छन्।  

कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा १५ दिन देखि कार्यालय भन्दा बाहिर छन्। उनी कार्यालयमा नहुँदा भुक्तानी लिन आएकाहरु भुक्तानी नलिएरै फर्किन बाध्य छन्। पलाँताका परेक रोकायाले काम सकेर जिल्लामा योजनाको भुक्तानी लिन आउँदा कार्यालय प्रमुख नभएर असार मसान्त कुर्नै पर्ने बाध्यता आएको सुनाए। उनी जस्तै नरहरीनाथ गाउँपालिकाका मानसिंह बटलाको पनि उस्तै गुनासो छ। 

जिल्ला कृषि विकास कार्यालयमा भुक्तानी लिन आउने उपभोक्ता समिती र ठेकेदारहरुको लाईन छ। कार्यालयमा अहिले भुक्तानी लिनको लागी २३ जनाको फाईल रोकिएको पलाँताका मदन रोकायाले बताए।  

उनले भने ‘हामीले ऋण काढेर सामान ढुवानी गरेर काम सम्पन्न गरेका छौं। तर भुक्तानी कहिले पाउने एकिन छैन।’ जिल्लामा हाल सबै कार्यालयले आफ्नो प्रगतिमा पाँच प्रतिशत मात्र काम भएको छ। बाँकी कामको चाप असार मसान्तमा हुने देखिन्छ। उनले सरकारी कार्यालयको पनि विकासले गति लिन नसकेको बताए। कार्यालयमा कर्मचारी नहुँदा नागरिकले सास्ती बेहोर्नु परेको छ।

कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा कार्यालयमा नभएपछि भुक्तानी रोकिएको पलाँता गाउँपालिका ३ का धनबहादुर बमले बताए। उनले भने, ‘योजना सम्झौता गरेर काम पनि सकियो भुक्तानी लिन आएको तीन दिन भयो। कार्यालय प्रमुख नभएकोले भुक्तानी भएको छैन्।’ जिल्लाको पलाँता गाउँपालिका,सान्नीत्रिवेणी गाउँपालिका, र नरहरीनाथ गाउँपालिकामा कृषि विकास कार्यालयबाट छुटाइएका योजनाहरुको निर्माण कार्य सकिएर भुक्तानी लिन आउनेहरु दिनकै जिल्लामा आइरहेका छन्।  

प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिका अनुसार कार्यालय प्रमुख र कर्मचारीहरुले आफूलाई जानकारी नदिएर गएको बताए। उनले खानेपानी सिंचाई तथाउर्जा विकास कार्यालय र उद्योग तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुखहरुको सुर्खेतमा तीन दिनको गोष्ठि भएकाले गएका र कृषि विकास कार्यालय प्रमुख,बालकराम देवकोटा,पुर्वा धार विकास कार्यालयका प्रमुख  र लेखापाल महाकृष्ण पाण्डे,सामाजिक विकास कार्यालय प्रमुख शिवशंकर चौलागाईँ लगायतले आफूलाई जानकारी नगरेको बताए। भौतिक पुर्वाधार विकास कार्यालयका लेखापाल पाण्डे त आर्थिक मसान्तमा पनि केही दिन मात्र बस्ने गरेको स्थानीयको गुनासो छ।

जिल्लाको पलाँता गाउँपालिकामा उपभोक्ताले काम सम्पन्न गरी सकेर कामको योजनाको भुक्तानी लिन आउँदा कार्यालयमा कर्मचारी नहुँदा समस्या भएकोले आफूहरुले भुक्तानी लिनबाट बन्चित रहेको र कार्यालयका अन्य कर्मचारीले असार मसान्तमा भुक्तानी लिने गरी फर्काएको उनीहरुले बताएका छन्।

मदन रोकायाका अनुसार कार्यालय प्रमुख जिल्लामा नभएकाले जिल्लामा विकासे काम ४ प्रतिशत मात्र भएको बताएका छन्। प्रत्येक कार्यालयमा असार मसान्तमा मात्र भुक्तानी दिनुपर्छ भन्ने मान्यता राख्दै हाल भुक्तानी दिन अस्विकार गरिरहेको उनले बताए्।

प्रकाशित: २५ माघ २०७९ ०५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App