१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच थालियो

बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच सुरु गरेको छ। भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका जग्गालाई प्राथमिकतामा  राखेर काम भइरहेको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताए।

कोहलपुर नगरपालिकाको वडा नम्बर १२, १० लगायत वडामा अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन समेत नापजाँच गरिने वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए। वडा नम्बर-१२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थितको एक हजार छ सय ८० कित्ता जग्गा रहेको शाहले उल्लेख गरे।

यसअघि लुटबहादुर रावत नगरप्रमुख हुँदा वडा नम्बर-१ मा मात्रै ऐलानी जग्गा नापजाँच पूरा भएको थियो। वडा नम्बर-१ मा एक हजार पाँच सय ६६ कित्ता नापजाँच भएको थियो। यस्तै वडा नम्बर-२ मा मुक्तिनगर, शक्तिनगर र विकास नगरको एक हजार सात सय ३० कित्ता नापजाँच भएको थियो।

वडा नम्बर-२ मा मात्रै अहिले एक हजार आठ सय ४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ। वडा नम्बर-२ मा ऐलानी जग्गा नापजाँचको काम आज पूरा भएको छ।

‘हामी निर्वाचित भएर आएपछि भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व दिने गरी ऐलानी जग्गा नापजाँच कार्यलाई तीव्र पार्ने योजनामा थियौं’, नगरप्रमुख आचार्यले भने। अबको केही महिनामा नाप-जाँचको काम सक्ने गरी आफूहरू लागेको नगर प्रमुख आचार्यले बताए।

 कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका संयोजक वडा नम्बर-१२ का वडाध्यक्ष शाहले ऐलानी जग्गा नापजाँचमा २१ जनाको अमिन टोली खटिएको बताए। उनका अनुसार कोहलपुर नगरपालिकाबाट नौ जना, भूमि आयोगबाट छ जना र जिल्ला नापी कार्यालयबाट टोली प्रमुखसहित छ जना गरी २१ जना अमिनको टोली खटिएको छ।

‘जमिन भएका तर वर्षौंदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँछौं’, उनले भने। कोहलपुर नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी करिब १७ हजार रहेका छन्। रासस

प्रकाशित: २५ माघ २०७९ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App