८ वैशाख २०८१ शनिबार
समाज

तस्करी गराउने पनि प्रहरी, छापा मार्ने पनि प्रहरी

भारतबाट तस्करी गरेर ल्याइएका अधिकांश समानहरू प्रहरीकै सहायतामा नाका प्रवेश गर्ने गरेको खुलेको छ। 

नेपाल भारत सिमा क्षेत्रमा रहेका प्रहरी चौकीहरूले भारतबाट मिलेमतोमा तस्करी गरेर ल्याइएका समानहरू सहजै नाकाबाट छिर्न दिने, र सोही सामानहरू छापा मारेर बरामद गरेको जस्तो नाटकीय भूमिमा खेल्ने गरेको तथ्य खुल्न आएको हो। 

प्रहरीले तस्करहरूद्वारा नेपाल निर्यात तस्करीका समानहरू सहजै प्रवेश गराउने त्यसपश्चात् तस्करहरूले उक्त समानहरू गोदाम लगेर राखेपछि प्रहरीले छापा मारेर ती समान बरामद गरेको जस्तो बनाई कारबाहीका लागि पठाउने गरेको पाइएको हो। 

महादेवपटी र गौर भन्सारमा रहेको प्रहरी चौकीले भारतबाट व्यापक मात्रामा चामल तथा गहुँ तस्करी गराउने गरेको पाइएको छ। सर्वसाधारणले एक दुई बोरा चामल ल्याउँदा अनेकौँ दुःख दिने यी चौकीहरूले तस्करहरूसँग भने मिलेमतोमा सयौँ बोरा चामल तथा गहुँ तस्करी गराउने गरेका छन्। र तिनै सयौँ चामल र गहुँको बोरा प्रहरीले नै गौरका विभिन्न ठाउँहरूबाट बरामद गर्दै कारबाहीका लागि सम्बन्धित निकाय पठाउन थालेपछि प्रहरीले तस्करी गराउने र आफै छापामारी गर्ने दोहोरो भूमिका खेलेको आरोप जिल्लावासीहरूले लागाउन थालेका हुन्।

नेपाल भारत सिमा क्षेत्रका प्रहरी युनिटहरूले मिलेमतोमा तस्करी गराउने र जिल्ला प्रहरी कार्यालय रौतहटले गोप्य सूचनाको आधारमा गोदाममा छापामारी चामल तथा गहुँ बरामद गर्ने गरेको देखिएको हो। 

जिल्ला प्रहरी कार्यालय रौतहटले गौर नगरपालिका ५ बाट एकै दिन २७० बोरा चामल बरामद गरेको जनाएको छ। स्थानीय विष्णु मिश्राको दुई तल्ले पक्की घरको भुईँ तल्लामा गौर नगरपालिका ८ का हरे राम साह र नन्दलाल साहले संचालन गरेको पसल पछाडिको गोदामबाट प्रहरीले भारतबाट भन्सार छली, चोरी पैठारी गरी ल्याइएका विभिन्न ब्राण्डका २७० बोरा चामल बरामद गरेको हो। गोप्य सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा गोदाममा विभिन्न ब्राण्डको २५ किलो तौल भएको २७० बोराको चामलको मूल्य करिब ४ लाख ८६ हजार चामल प्रहरीले जनाएको छ। 

बिल बिजक नभएको चामललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

केही दिन पहिले रौतहट प्रहरीले लाखौँ मूल्य बराबरको गहुँ पनि बरामद गरेको थियो। तस्करी गराउने पनि प्रहरी र गोदाममा छापा मारेर सामान बरामद गर्ने पनि प्रहरी नै भएकोले प्रहरी नै बोक्सी र प्रहरी नै धामी भएको गुनासो व्यापारीहरूले गर्न थालेको नागरिक समाज रौतहटका सचिव विजय किशोर झाले बताएका छन्। 

रौतहट प्रहरीले प्रायोजित उपलब्धि देखाउन खोज्दा व्यावसायीहरु मारमा परेको सचिव झाँको भनाइ छ।

प्रकाशित: २४ माघ २०७९ १६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App